• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

कारागार तोडफोड गर्ने ७ जना धरौटीमा रिहा

म्याग्दी । जेनजी आन्दोलनको समयमा जिल्ला कारागार म्याग्दी तोडफोड गरी कैदीबन्दी भगाउने १८ जना मध्ये ७ जनालाई जिल्ला अदालत म्याग्दीले जनही एक/एक लाख धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।

गत भदौ २५ गते विहान कारागार तोडफोडमा संलग्न १८ मध्ये ७ जनालाई प्रहरीले गिरफ्तार गरेको थियो । गिरफ्तारपछि प्रहरीले अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

सरकारी वकिल कार्यालयले कारागार ऐन अनुसारको कसुरमा २१ गते मंगलबार जिल्ला अदालत म्याग्दीमा अभियोजन दर्ता गरेको सहायक जिल्ला न्यायाधिवक्ता अरुण सापकोटाले जानकारी दिनुभयो ।

कारागार ऐनको दफा ४९ (२) मा कसैले कुनै बन्दीलाई भगाएमा वा भगाउने उद्योग गरेमा तीन वर्ष सम्म कैद वा तीस हजार रुपैंया सम्म जरिवाना वा दुवै सजाय हुनेछ भन्ने उल्लेख छ । कारागार ऐन बमोजिम दर्ता भएको अभियोजन माथि भएको बुधबार अबेर सम्म भएको थुनछेक बहस भएको थियो ।

बहसपछि जिल्ला अदालत म्याग्दीका न्यायाधिश सूर्यबहादुर थापाको इजालसले जनहि एकएक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको जिल्ला अदालत म्याग्दीका श्रेस्तेदार जगतबहादुर भण्डारीले जानकारी दिनुभयो ।

श्रेस्तेदार भण्डारीका अनुसार बेनी नगरपालिका २ का २६ वर्षीय डिलबहादुर सापकोटा, ३१ वर्षीय सुसन थापा मगर, २७ वर्षीय सुनिल थापा मगर, १९ वर्षीय अभिषेक परियार, २६ वर्षीय कृष्णबहादुर थापा, २९ वर्षीय अर्जुन जिसी, बेनी नगरपालिका–८ का सागर परियार धरौटी राखेर रिहा भएको भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी अभियोग दायर भएका ११ जना भने फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका सबै जनालाई गिरफ्तार गरी अदालत बुझाउने प्रहरीले जनाएको छ ।