• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

प्रत्यक्ष निर्वाचनका लागि बागलङ–१ बाट तीन जना सिफारिस

बागलुङ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं. १ बाट नेकपा एमालेले ३ जनालाई सिफारिस गरेको छ ।

नेकपा एमाले क्षेत्रीय समन्वय कमिटि, प्रतिनिधि सभा क्षेत्र नं. १ को शुक्रवार सम्पन्न बैठकले गठन गरेको कार्यदलले ३ दिन लामो छलफल पछि तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

वैठकबाट खुल्लातर्फ निवर्तमान केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा र जिल्ला अध्यक्ष हिरा बहादुर केसी तथा महिलातर्फ केन्द्रीय सदस्य मन कुमारी केसी जिसीलाई उमेदवार सिफारिस गरेको क्षेत्रीय समन्वय कमिटि प्रतिनिधि सभा क्षेत्र नं. १ का संयोजक तथा जिल्ला उपसचिव धन बहादुर परियारले जानकारी दिनुभयो ।

शुक्रवारको वैठकमा ८ जनाले उमेदवारका लागि दावी गरेका थिए । दावी गर्नेहरुका बीच छलफल गरी सकेसम्म एक जना नभए तीन जनाको नाम पठाउनका लागि कार्यदललाई जिम्मेवारी दिइएको थियो ।

कार्यदलको संयोजकमा क्षेत्रीय समन्वय कमिटि प्रतिनिधि सभा क्षेत्र नं. १ का संयोजक तथा जिल्ला उपसचिव धन बहादुर परियार तथा सदस्यहरुमा संघीय क्षेत्र नम्बर एक अन्तरगतका ४ वटा पालिकाका अध्यक्षहरु बागलुङ नगर कमिटि रामकृष्ण शर्मा, काठेखोला गाउँपालिकाका डिल बहादुर कार्की, जैमिनी नगरपालिका कमिटिका देवेन्द्र रेग्मी, बरेङ गाउँपालिका कमिटिका झोम बहादुर थापा तथा जिल्ला कार्यालय सचिव चन्द्रमणी उपाध्याय रहनु भएको थियो ।

एमालेबाट बागलुङ क्षेत्र नम्बर १ बाट उमेदवार बन्नका लागि नेकपा एमालेका केन्द्रीय सदस्यहरु मन कुमारी केसी जिसी र डा.सूर्य पाठक, निवर्तमान केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा, जिल्ला अध्यक्ष हिरा बहादुर केसी, पूर्व जिल्ला श्रीप्रसाद शर्मा, प्रदेश कमिटि सदस्य गिता शर्मा र सञ्जय कुमार श्रेष्ठ तथा बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले दावी गर्नु भएको थियो ।

दावी गर्नेहरुबीचको परामर्श, छलफल पछि ३ जनाको नाम पठाइएको संयोजक परियारले बताउनुभयो ।  नेकपा एमाले केन्द्रीय सचिवालय वैठकले पुस २० गते भित्र प्रत्यक्ष तर्फ एक महिला सहित ३ जनाको नाम सिफारिस गर्न क्षेत्रीय समन्वय कमिटिलाई निर्देशन गरेको छ । धेरै कमिटिहरुले दावी गर्ने सबैको नाम पठाउने गरेका छन् ।