तित्याङमा बृहत खानेपानी आयोजनाको काम सुरु

बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर ९ को तित्याङमा बृहत खानेपानी आयोजनाको काम सुरु भएको छ । तित्याङको तल्लो भेगमा ‘एक घर, एक धारा’ खानेपानी अभियानअन्र्तगत ५७२ घरधुरीमा धारा जडान गर्ने आयोजना सुरु भएको हो ।

शुक्रबार भर्चुअल सम्वादका माध्यमबाट आयोजनाको सिलन्यास गरिएको थियो । विश्वव्यापी माहामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस कोभिड १९ का कारण सबै जम्मा भएर औपचारिक कार्यक्रम गर्न असम्भव भएपछि अनलाइन सम्बोधनका माध्यमबाट आयोजनाको सिलन्यास गरिएको थियो ।

५७२ घर धुरीलाई खानेपानी उपलब्ध गराउँनका लागि २० घन मिटर, ५० घनमिटर, १०० घनमिटरका पानी ट्याङ्की, पाइपलाइन, इन्टेकलगायत निर्माण गरी हरेक घरमा खानेपानी पु¥याउँनका लागि सात करोड रुपियाँको डिपिआर तयार भएको संघीय तथा ढल व्यवस्थापन आयोजनाका सिनियर इन्जिनियर शेखरचन्द्र केसीले जानकारी दिनुभयो । नयाँ योजनाको रुपमा रहेको आयोजनाको तत्काल ३८ धारा निर्माण र २० घन मिटरको पानी ट्याङ्की निर्माणका लागि ३० लाख रुपियाँ बजेट विनियोजन भएको र आगामी वर्षदेखि निरन्तर बजेट विनियोजन हुने केसीले बताउनुभयो ।

संघीय सांसद डा. सूर्य पाठकले नेपालका विकासका योजना सम्पन्न गर्न ठूलो रकम लाग्ने तर वर्षेनी कम बजेट विनियोजन गर्दा आयोजनाहरु अलपत्र पर्ने अवस्था रहेकाले आवश्यकताका आधारमा बजेट व्यवस्थापनको काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । निर्वाचनका बेला जनतासँग गरेका बाचा सम्बोधन गर्न सडक, खानेपानी, स्वास्थ्य, शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने भएकाले कुनैपनि योजनामा बजेट अभाव हुन नदिने बताउनुभयो ।

संघीय सांसद मनकुमारी केसीले जिल्लाको विकासका लागि आवश्यकताका आधारमा योजनाहरु कार्यान्वयनका लागि झक्झकाउँने बताउनुभयो । योजनाको सुरुवात हुने तर अन्त नहुने समस्यालाई अन्त गर्नका लागि नीतिगत रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । केसीले बागलुङका थुप्रै ठाउँमा खानेपानीका समस्याहरु रहेकाले ति ठाउँमा आयोजना निर्माण सम्पन्न गर्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बागलुङ नगरपालिकाले सबैको घरमा धारा निर्माण गर्ने योजना अनुसार अगाडि बढेको भन्दै आयोजनालाई अलपत्र हुन नदिने बताउनुभयो । नगरपालिकाले कुँडले, लामाचौर, पाठकधर, नारायणस्थान, अमलाचौरलगायतका ठाउँमा देखिएको खानेपानी समस्या समाधान गर्नका लागि पहिलो आर्थिक वर्षदेखिनै लगानी बढाउँदै गएको बताउनुभयो ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा खानेपानी आयोजना निर्माणको काम अगाडि बढीरहेको भन्दै नगरप्रमुख पौडेलले कतै खानेपानीको मुहान नपाउँने त कतै पानीको प्रबन्ध भएरपनि व्यवस्थापन गर्न नसक्दा समस्या भएकाले सबै व्यवस्थापन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

बागलुङ नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश थापा मगरले तित्याङमा खानेपानीको स्रोत प्रयाप्त भएपनि खानेपानीको सहज पहुँच नपुग्ने अवस्था आएकाले योजना सञ्चालनमा ल्याउँन थालिएको बताउनुभयो । तित्याङ खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष टीकाराम थापाले आयोजना सम्पन्न भए तित्याङको तल्लो भेगका सबै घरमा खानेपानीको पहुँच पुग्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *