मध्यपहाडी लोकमार्गको सदरमुकाम खण्डमा सास्ती

–आदर्श अनलाईन, बागलुङ
कालोपत्रे हुन नसकेको मध्यपहाडी लोमार्गको बागलुङ सदरमुकाम खण्ड वर्षातका कारण बेहाल भएको छ । वर्षातका कारण सडक हिलाम्मे हुँदा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड हिलाम्य हुँदा यात्रुहरुले सास्ती खेप्न बाध्य भएका छन् ।

राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी लोकमार्ग आयोजना समयमा कालोपत्रे हुन नसक्दा बर्खायाममा हिलाम्मे र सुख्खा मौसममा धुलाम्मे भएर हिड्नुपर्ने बाध्यता छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको अधिकांश भाग कालोपत्रे भइसक्दा समेत सुगम मानिने जिल्ला सदरमुकाम नजिकै लोकमार्ग अलपत्र अवस्थामा छ । वर्षातभर हिलाम्मे भएर सडक अवरुद्ध हुने समस्या भोगेका यात्रुहरुले हिउँदको समयमा सडक छेउमा थुपारिएका माटो सहितको ग्राभेलका कारण धुलाम्मे भएर सास्ती खेप्नपरेको यात्रु कुविर बहादुर क्षेत्रीले बताउनुभयो ।

जिल्ला सदरमुकाम सँग जोडिएको घोडाबाँधे सम्मको २५ किलोमिटर सडक कालोपत्रे नहुँदा वर्खाको समयमा सास्ती खेप्नु परेको हो । निर्माण सुरु भएको दुई दशक बितिसक्दा समेत ग्राबेलको काम नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने यात्रु तथा सवारी चालक बताउँछन् । पछिल्लो समय अक्षेते–घोडाबाँधे खण्डमा कालोपत्रे गर्नका लागि ग्राभेलको तयारी भए पनि सदरमुकाम सम्म जोडिएको उपल्लाचौर–अक्षेते खण्डमा निर्माण कम्पनी सम्र्पकमा छैन ।

नेपालको पुर्व–पश्चिम जोड्ने पहाडी मार्गको रुपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको २०७६ कात्तिक मसान्त सम्म काम सम्पन्न गर्ने गरी २०७३ सालमा सम्झौता भएको थियो । तर, समयमा सम्पन्न नभए पछि पुनः म्याद थप गरिएको छ । ठेकेदारको लापरवाही र सरोकारवाला निकायको उदासिनताका कारण पनि समयमा काम नभएको स्थानीयबासी बताउँछन् ।

बुर्तिबाङबाट ६७ किलोमिटर सडक दुई घण्टामा पार गरेर घोडाबाँधे आएका सवारीलाई त्यहाँबाट २५ किलोमिटरको दुरीमा रहेको सदरमुकाम आउन अहिले दुई घण्टा बढी लाग्ने गरेको सवारी चालक सनबहादुर रोकाले बताउनुभयो । “सडक जीर्ण र हिलाम्मे भएका कारण सवारी चलाउनै मुस्किल छ” रोकाले भन्नुभयो “बाटो राम्रो नभए पछि दैनिक गाडी बिग्रने गर्छ, आम्दानी भन्दा खर्च धेरै हुन्छ, न समयमै पुग्न सकिन्छ ।” बर्खायाममा सडक तल र माथीबाट पहिरो जाने, सडकमा ठूला–ठूला खाल्टा पर्ने कारण सास्ती भएको हो । निर्माण कम्पनीले बन्दाबन्दीको बाहनामा सडक निर्माणमा नलाग्दा सडकबाटै बग्ने भेलले सडक क्षतबिक्षत बनेको छ ।

पटक–पटक संसद देखि विभिन्न स्थानमा लोकमार्गको ढिलाईका विषयमा ध्यानार्कषण गर्दा समेत सुनुवाई नभएको बागलुङका संघीय सांसद डा.सूर्य पाठकले बताउनुभयो । अलपत्र बनेको सदरमुकाम बागलुङ बजार देखि बिहुँ सम्मको १३ किलोमिटर सडकको जिम्मा सिद्धिसाई कन्स्ट्रक्सन र बिहुँ देखि घोडाबाँधेसम्मको सडकको जिम्मा सुर्य कन्स्ट्रक्सनले लिएको छ ।

कुल १ हजार ७ सय ७६ किलोमिटरको यस लोकमार्गको बागलुङ खण्डमा मात्रै १ सय ४२ किलोमिटर पर्छ । जसमध्ये जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी रहेको छ । बिहुँ खण्डमा सन्तोष जनक काम भएपनि तल्लो खण्डमा ठेकेदार कम्पनीले काम गर्न नसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *