कोरोना जित्नेहरुको सन्देश

सम्पादकीय
नेपालमा कोरोना संक्रमण र भयावह बढ्दो क्रममै छ । यो कसरी र कहिले सम्म रहन्छ ? विश्वव्यापी रुपमा अन्यौल छ । यसले लाखौको ज्यान लिइसकेको छ । लाखौ अझै संक्रमणको शिकार भइरहेका छन् । ठुलो संख्यामा संक्रमणको भयावह छ । कोरोना भाइरसको आतंकले सबैलाई ग्रस्त बनाएको छ । मानव जीवनकै कठिन संकटका कारण मानिसका दैनिकी र भविष्य प्रभावित बनिरहेका छन् । अर्थतन्त्र निराशाजनक अवस्थामा छ । कोरोना कारण उदेक लाग्दो अवस्थामा पुगेका रहर, सपना, योजनाहरु पुरा गरेर पुरानै नियमित दैनिकीमा फर्किन अब कति समय लाग्ला ? के सहजै त्यो दैनिकीमा पुग्न सहज र सम्भव होला ? यस्ता अनगिन्ती प्रश्न र सवालहरु अहिले उठिरहेका छन् । तर, खुलम खुल्ला फेरी पुरानै दैनिकीमा फर्किन जोखिम उस्तै छ । संक्रमणको बढ्दो ग्राफले भयभित बन्ने संकेत गरेको छ । यस्तो अवस्थामा कोरोनाबाट जोगिन मानिसहरु ध्यान केन्द्रित गरेर बसिरहेका बेला यसले निम्त्याउने भोकमरी लगायतका संकटका कारण मानिसहरुमा थप तनाब र दबाब बढेको छ ।

यही अनुक्रममा मंगलबार बागलुङ जिल्लामा एकैसाथ ६८ जनाले कोरोना जितेको सुखद खबर आएको छ । नेपालमा कोरोना संक्रमणको शुरुवातमै आक्रान्त बनेको बागलुङ जिल्ला पछिल्लो समय संक्रमणको भयावहका बीचमा छ । खासगरी भारतमा रोजिरोटीमा निर्भर रहेकाहरु कोरोना संकट र सकससँगै जिल्ला भित्रिने क्रम तिव्र बने पछि संक्रमण दर बढ्यो । गण्डकी प्रदेश र त्यसमा साविक धौलागिरी अञ्चल भित्रमा बागलुङ जिल्लाको ठुलो संख्या भारतमा रोजगारमा निर्भर रहेको यो संकटले पुर्नपुष्टि गरेको छ । जिल्लामा कोरोनो संक्रमण पुष्टि भएका ९० प्रतिशत भारतबाट आएकै छन् । यसले भारतमा भयावहको रुप लिएको कोरोना संक्रमणबाट हाम्रा नेपाली दाजुभाई दिदिबहिनीहरु उतै संक्रमित भएको र त्यहाँबाट आउने क्रमका सीमा क्षेत्रमा अलपत्र अवस्था, अव्यवस्थित यात्रा र क्वारेन्टिन बसाईका कारण समस्या र संक्रमण बढ्यो । तर, जिल्लामा कमाण्ड पोस्ट र स्थानीय तहको अथक मेहेनतका बीच समुदाय स्तरमा खतरानक रुपमा प्रवेश पाउन रोकिएको छ । यद्यपी, काठेखोलाका क्वारेन्टिनमा व्यवस्थापकीय रुपमा खटिएका ३ र सडक डिभिजनका एक कर्मचारीमा कोरोना देखिएको छ । कन्ट्याक्ट ट्रेसिङको आधारमा सम्पर्कमा भएकाहरुको रिपोर्ट के आउँछ ? यदी पोजेटिभ आयो भने चाही त्यसले थप खतराको संकेत गर्नेछ । अन्यथा सहज बिन्दुमै हुनेछौ ।

उसो त कोरोना संक्रमण हुँदैमा आतंकित बन्नुपर्दैन । किनकी बागलुङमै एकै दिन ६८ जनाले कोरोना जितेका छन् । यो सँगै जिल्लामा कोरोना जितेर घर फर्किनेको संख्या ९२ पुगेको छ । नेपालको पाँचौ र छैठौ संक्रमितहरुले कोरोना जित्न २८ दिन सम्म लागेको थियो । तर, पछिल्ला दिनमा छोटो समयमै कोरोना जितेर घर फर्किने संख्या उल्लेख्य देखिएको छ । यसले आम मानिसका बीचमा कोरोना लाग्दैमा डराउनु पर्ने, आत्तिनु पर्ने, आतंकित बन्नुपर्ने रहेनछ भन्ने सन्देश दिइरहेको छ । कुनै दिन कोरोना संक्रमित भन्न साथ सिंगो देश, गाउँ,शहर र समाज आतंकित बन्ने अवस्थाबाट यस भाइरसको रोकथाम, उपचार र नियन्त्रणका सवालमा नेपालीहरुको मनोबल र बुझाईमा ठुलो बदलाव आएको छ । अझै पनि कोरोना सँग भयभित होइन, संयमित भएर नै यसको सामना गरौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *