साधना पन्त, बागलुङ
बनमारा झारले ढाकिएको पाखा । त्यो झन् भन्दा झन् फैलिदै थियो । त्यही आसपासमा एैसेलुका झाङ उस्तै । काठेखोला गाउँपालिका–७ रेशको जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको पाखोबारीमा यति छिट्टै कायापलट आउला भन्ने स्थानीयले सायदै सोचेका थिए ।
तर, अहिले त्यही पाखोबारी चियाका हरिया मुनाले लहलह भएको छ । तिङरिङको पाखो मात्र होइन, रेशकै बौरमा बनमाराको झारलाई उछिनेर अहिले चियाका बुटा हराभरा हुन थालेका छन् ।
मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँको रुपमा काठेखोला गाउँपालिका–७ रेश छनौट भएपछि सोही परियोजनालाई लिएर रेशको साना किसान सहकारीले बौर र तिङरिङको ४६ रोपनी खाली जमिनमा ३६ हजार चियाका बिरुवा लगाइएको छ । बौरमा १५ र तिङरिङमा एक वर्ष पहिले २१ हजार चियाका बिरुवा लगाइएको छ । बौर र तिङरिङमा चिया खेती गर्दा रेशका स्थानीयले २५ प्रतिशत श्रमदान समेत गरेको साना किसान सहकारी संस्था रेशका अध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।
करिब १५ लाख रुपैयाँमा मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ परियोजना अन्र्तगत रेशमा १५ वटा बाख्रा पाल्ने खोर, १५ वटा भैसीको भकारो सँगै चिया खेती गरिएको उहाँले बताउनुभयो । ‘नमुना कृषि गाउँको रुपमा छनोट भए पछि रेशका स्थानीयका बाख्राका खोर पनि सुधारिएका छन्, घाँसका बिरुवा पनि लह लह भएका छन्,’ कार्कीले भन्नुभयो, ‘पछिल्लो समय भैसीका भकारा पनि व्यवस्थित भएका छन् ।’
विद्यालयको जमिनमा लगाइएको चियाको उत्पादनबाट आयआर्जन हुन थाले विद्यालयको शैक्षिक र भौति सुधारमा रकम खर्चने विद्यालयका प्रधानध्यापक थम्मन जि.सी.ले बताउनुभयो । बौरमा लगाइएको चियाबाट हुने आयआर्जन सहकारीको सम्र्वद्धन र प्रर्वद्धनमा खर्च हुनेछ ।
समुन्द्री सतहबाट १८ सय मिटर देखि २३ सय मिटर सम्मको उचाइमा चिया खेती राम्रो हुन्छ । यो बिषयमा सम्भाव्यता अध्ययन गराएर उपर्युक्त भन्ने सुझाव आए पछि गाउँका बिभिन्न स्थानमा चिया खेती शुरु गरिएको वडा अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । ‘रेश समुन्द्री सतहदेखि २१ सय मिटर उचाईमा रहेको छ,’ अध्यक्ष लामिछानेले भन्नुभयो, ‘अबको तीन वर्षमा हामीले रोपेको चियाले उत्पादन दिन सुरु गर्छ, यो बीचमा अरु सम्भाव्य स्थानहरुमा पनि चिया खेतिलाई थप विस्तार गरिनेछ ।’ ‘बाझो बनेको र बर्षौदेखि प्रयोगविहिन अवस्थामा रहेको जमिनलाई अब उत्पादनमुलक कार्यमा उपयोग गरिएको र यो अभियानलाई गाउँभर फैलाइने अध्यक्ष लामिछानेको भनाई छ ।