सम्पादकीय
हामी बाँचिरहेको समाज पितृसतात्मक समाज । जहाँ गर्भदेखि जन्म सम्म । जन्मदेखि मृत्यु सम्म । अर्थात घरदेखि घाट सम्म लैंगिक बिभेद छ । पितृ सत्ताको दबदबा छ । महिला र पुरुष बीच प्राकृतिक रुपमा बिबिधता छ, बिभेद छैन । तर सामाजिक रुपमा बिभेदको जन्म हुन्छ, त्यो विस्तारै मानिस सँगै हुर्किदै जान्छ । मानिससँगै घाट सम्म पुग्छ । सामाजिक रुपमा जन्मिएको त्यो बिभेद मर्दैन । महिलाहरुले शब बोक्न हुँदैन र मलाम या सागर जान हुँदैन भनेर गएका पुरुषहरुले घाटबाट फेरी घरमा पितृ सत्ता फिर्ता ल्याउँछन् । पुस्तौदेखिको यो अनुक्रमले अहिले पनि निरन्तरता पाइरहेको छ । निरन्तरताको अनुक्रममा यस्तो सोच र सँस्कार बनिसकेछ कि कुनै महिला आमा, दिदी, बहिनी, श्रीमति, बुहारीलाई पितृ सत्तामा बिद्रोह गर्न या अभियान छेड्न तयार नहुने अवस्था बिद्यमान छ ।
मुलुकभर सामान्यतः शव पुरुषले बोक्ने प्रचलन छ । हाम्रो जस्तो पितृसत्तात्मक समाजमा महिलाले शव बोक्नुलाई अझै सहज मानिँदैन । भए परिवारकै पुरुष नभए आफन्तले यस्तो जिम्मेवारी बोक्छन् । तर, तनहुँको वेदव्यास ज्येष्ठ नागरिक आश्रमका महिलाले यो परम्परालाई चुनौती दिँदै आइरहेका छन् । आश्रममा आश्रय लिने महिला वा पुरुष जो कोहीको निधन भएमा पनि सञ्चालक रहेका महिलाहरूले नै काँध थाप्ने गरेका छन् । शव बोकेर उनीहरू शवदाह स्थल पु¥याउँछन् र, आँफै दागबत्ती दिन्छन् । उनीहरु एक स्वरमा भन्छन्–‘हामी पुरुष भन्दा कुनै अवस्थामा कम छैनौं, यो सन्देश दिनका लागि आफैले शव बोक्ने गरेका छौं ।’ पितृ सत्तामा मौनता साधिरहेका सबैलाई महिलाले शव बोकेको, दाग बत्ति दिएका घटनाले गतिलो उदाहरण, पाठ, साहस र प्रेरणा मिल्नुपर्छ । नेपालीमा समाजमा यस्तो साहसिक सामाजिक अभियान र आन्दोलन जरुरी छ । वैदिककालिन समयमा हाम्रो देशका महिलाको अवस्था, भुमिका, स्थान उच्च रहेको कुरा ऐतिहासिक तथा धार्मिक ग्रन्थहरुबाट थाहा पाउन सकिन्छ । प्राचीन कालमा महिलालाई शक्तिकी धनी, जन्मदाता, जननी, मातृत्व, करुणाकी धनि, ज्ञानको प्रतिक, तथा पुरुषका अर्धाङ्गिनीका प्रतिकका रुपमा लिने गरिन्थ्यो । त्यसवेला शिक्षा, सम्पति, एवं. सामाजिक रुपमा महिला प्रति सम्मान गरेको पाईन्छ । महिला र पुरुष बीच समान पहुँच हैसियत रहेको समाज थियो । पौराणिक धर्मग्रन्थ अनुसार पत्निको अनुपस्थितिमा पतिले गरेको कुनै पनि कार्य पुरा हुन वा सफल हुन सक्दैन भनि महिला प्रति सम्मानको भाव व्यक्त गरिएको हाम्रा धर्मग्रन्थमा उल्लेख छ । पछिल्लो काल खण्डमा तत्कालीन समाजमा छोराप्रतिको मोहका कारण महिला उपेक्षित हुदै गएको हुन सक्छ । समाजमा पुरुषको बाहुल्यता विकास हुँदै जाँदा लैङ्गिक विभेद र असमानता पनि विकास हुँदै गए । जसबाट महिला र पुरुष बीचको असमानताका खाडल फराकिलो बन्दै गएको हुनुपर्छ ।
अब यसबाट के प्रष्ट हुन्छ भने हिन्दु धर्म दर्शनमा धर्म, कर्म, मोक्षका नाममा महिला विभेदको समाज र पुरुष प्रभुत्वका प्रक्रिया एकै समयमा पुरातन समाजको अन्तिम कालबाटै शुरु भयो । अर्कातिर उत्पादन प्रणालीको रुपान्तरणसँगै समाजमा पितृसत्ता हावी हुदै गयो । परिणामतः स्रोत माथि पनि पुरुषको पहँुच विस्तारित हुदै गयो । र पुरुष सत्ता बलियो बन्दै गयो । अहिले चाहेर या नचाहेर एउटा सहज अभ्यास, प्रयत्न र निर्णयबाट यसको अन्त्य सम्भव छैन । बेदव्यासका महिलाहरुले जस्तै साहसिक अभियान थाल्नुपर्छ । सबै सरोकारवाला र नागरिकले खुलेर साथ दिनुपर्छ ।