– रामबहादुर थापा
दुरवस्थामा पुगेको ज्ञानोदय भगवती पुस्तकालयले चोला फेर्दैछ । गति समात्दैछ, साख फर्काउँदैछ । पुस्तकालय जगेर्नामा स्थानीय लागिपरेका छन् ।
जीर्ण भवन । चुहिने छाना । थोत्रा पुस्तक । पाठक न पुस्तकाध्यक्ष । केही वर्षअघिसम्म पुस्तकालय अस्तित्व सङ्कटको स्थितिबाट गुज्रेको थियो । व्यवस्थापन अभावमा थलिएको थियो ।
त्यहीमाथि विसं ०७२ को भूकम्पले मार थपियो । भवन चर्कियो । पुस्तकालय बन्द भयो । त्यसअघि पनि पुस्तकालयले अनेक समस्या झेल्यो । खुल्ने, बन्द हुने नियति चलिरह्यो ।
व्यवस्थापन सुस्तायो । संरचना मक्किए । पाठकले बिर्से । पुस्तक हराए । इतिहास बोकेको पुस्तकालय एकाएक ओझेलियो । विसं २०२१ मा खुलेको पुस्तकालय धर्मरायो ।
पुस्तकालय अधोगतितिर लागेपछि समुदायको चासो बढ्यो । विरासत नामेट हुने डरले संस्थापकदेखि शुभेच्छुकसम्मलाई झस्कायो । व्यवस्थापन पनि जाग्यो । राज्यका निकाय पनि ताते ।
विसं २००९ मा खुलेको ज्ञानोदय र विसं २०१० मा स्थापना भएको भगवती पुस्तकालयबीच विसं २०२१ मा एकीकरण भई बनेको पुस्तकालय जोगाउन सबै कस्सिए ।
पुस्तकालयका सचिव लोकेन्द्र केसीका अनुसार भवनको जीर्णोद्वार कार्य अन्तिम चरणमा पुगेको छ । गत वर्षदेखि ‘साझा शिक्षा ई–पाटी’को सहयोगमा विद्युतीय पुस्तकालय सञ्चालनमा आएको छ ।
विद्युतीय पुस्तकालयमा १८ कम्प्युटर छन् । कक्षा १ देखि १० सम्मका विद्यार्थीले सोही माध्यमबाट पढ्न सक्छन् । पाठ्यक्रमबाहेक अतिरिक्त सिकाइमा पनि विद्युतीय पुस्तकालय प्रभावकारी बनेको छ । जसका कारण पुस्तकालयमा पाठक बढेका छन् ।
कार्यालय चुस्त देखिन्छ । पुस्तकाध्यक्षको प्रबन्ध गरिएको छ । आन्तरिक साजसज्जा पनि उस्तै छ । पुस्तक सङ्ग्रहलाई व्यवस्थित गरिएको छ । बेलाबेला नयाँ पुस्तक थपिन्छन् । “बीचमा पुस्तकालय समस्यामा प¥यो, संरक्षण भएन”, सचिव केसीले भन्नुभयो, “अहिले जसरी पनि पुस्तकालय जोगाउनुपर्छ भनेर लागेका छौँ ।”
पुस्तकालयको उत्थान गरेमा मात्र इतिहास र पुरानो पुस्ताको सम्मान हुने उहाँको भनाइ छ । यही असारभित्र जिर्णोद्वारको काम सकेपछि पुस्तकालय नियमित सञ्चालन हुने सचिव केसीले बताउनुभयो ।
भवन जोखिममा परेपछि भूकम्पयता पुस्तकालयले सेवा दिन सकेको थिएन । विद्युतीय पुस्तकालय भने छुट्टै कोठाबाट चलेको थियो । भौतिक पुस्तकालयमा पाठक आउन छाडेका थिए । “भूकम्पले भवन चर्किएपछि पुस्तकालयको सेवा नै प्रभावित भयो”, पुस्तकालयका अध्यक्ष अर्जुन खत्रीले भन्नुभयो, “अहिले नयाँ युपिभिसी प्रविधिबाट भवनको जीर्णोद्वार भइरहेको छ ।”
पुरानो ढुङ्गे छाना हटाएर नयाँ जस्ता राखिएको छ । चर्किएको गारो फालेर नयाँ लगाइएको छ । भवनको पछिल्तिर कोठा थपिएको छ । अगाडिका दुई ‘सटर’ भने भाडामा दिइएको छ । जुन पुस्तकालयको आम्दानीको स्रोत हो । पसल राख्ने ‘सटर’को भाग पनि मर्मत गरिएको छ । सडक मापदण्ड छाडेर केही पछाडि सारिएको छ ।
बागलुङ नगरपालिकाको रु. सात लाख र पुस्तकालयको रु. सात गरी रु. १४ लाख खर्चेर मर्मतसुधारको काम गरिएको हो । गत वर्षपनि सङ्घ सरकारबाट प्राप्त रु. १४ लाखमा कम्युटर खरिद र कार्यालय व्यवस्थापनको काम गरिएको थियो ।
अध्यक्ष खत्रीले विगतदेखि नै पुस्तकालय आन्तरिक समस्या र किचलोमा परेका कारण माथि उठ्न नसकेको बताउनुभयो । “केही नयाँ सोचले काम गरौँ भन्यो विभिन्न बाधा, अड्चन आउँछन्”, उहाँले भन्नुभयो, “सबै पक्ष लाग्यौँ भने नमुना पुस्तकालयका रुपमा स्थापित गर्न सकिन्छ ।”
रुद्रेपिपलमा रहेको भगवीत पुस्तकालय र बुद्ध बिहारको ज्ञानोदय पुस्तकालय एकीकरणपछि लामो समयसम्म बुद्ध विहारमै पुस्तकालय चलेको थियो । पछि कालिका भगवती गुठीको जग्गा पाएर भवन बनेपछि पुस्तकालय बागलुङ नगरपालिका–३ मा सरेको हो ।
विसं २०३६ सालमा पुस्तकालयको शिलान्यास गरी २०३८ मा तत्कालिन प्रधानमन्त्री सुर्यबहादुर थापाबाट उद्घाटन गरिएको थियो । घरदैलो अभियान, देउसीभैलोलगायतबाट आर्थिक सङ्कलन गरी भवन निर्माण र सरसामानको जोहो गरिएको थियो ।
पुस्तकालय स्थापनामा सर्वसाधारणदेखि शिक्षा÷पुस्तकालयप्रेमीले ठूलो मेहनत गर्नुपरेको पूर्वअध्यक्ष बिदुर खड्काले सम्झनुभयो । उहाँले एकीकरणपछिको दोस्रो कार्यकाल अध्यक्ष भएर पुस्तकालयको नेतृत्व गर्नुभएको थियो ।
“गुठीको जग्गा प्राप्तिदखि भवन निर्माणमा हामीले भूमिका खेल्यौँ”, उहाँले भन्नुभयो, “विभिन्न खेल खेलाएर पुस्तकालयका लागि पैसा बटुल्थ्यौँ ।” समयसालमा पुस्तकालय नेतृत्वविहीनताको स्थितिमा पुगेकामा भने उहाँको गुनासो छ । जग्गा, सम्पत्ति, पुस्तक आदिको संरक्षण हुन नसकेको पूर्वअध्यक्ष खड्काले बताउनुभयो ।
उहाँले व्यवस्थापकीय पक्ष धेरै सुधारेर जानुपर्ने खाँचो औँल्याउनुभयो । “लभालिङ्ग, भताभुङ्गको अवस्थामा पुस्तकालय पुगेको थियो, अहिले केही काम हुन खोजेको भएपनि त्यो प्रयाप्त छैन”, पूर्वअध्यक्ष खड्काले भन्नुभयो, “पुस्तकालयप्रति नगरपालिकाको पनि उचित ध्यान जानुपर्छ ।”
उहाँले पुस्तकालयको सम्पत्ति, आयआर्जन र आर्थिक कृयाकलाप पारदर्शी हुनुपर्ने धारणा राख्नुभयो । सदरमुकामस्थित चल्तीको ठाउँमा रहेको पुस्तकालयको नयाँ भवन बनाउन विसं २०६९ मा प्रस्तावना ल्याइपनि योजना अघि बढ्न सकेको छैन ।
उक्त प्रस्तावनामा सभाकक्ष, सवारी राख्नेस्थलसहित सुविधायुक्त तीनतले भवन बनाइने उल्लेख छ ।