कोरोनासँगै बढ्दो अपराध र हिंसा

शुभेच्छा पन्त
विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ । यो भाइरसलाई शुरुवातमा रहस्यमय भाइरस भनिएता पनि संक्रमित व्यक्तिबाट नमुना संकलन गरि परीक्षण गर्दा कोरोना भाइरस हो भन्ने पत्ता लागेको थियो । यसअघि ६ प्रकारका भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिएता पनि अहिले ती भाइरस भन्दा फरक प्रकारको कोरोना भाइरस फैलिएको छ । यो भाइरस चीनको बुहानबाट सुरु भएको हो । यो भाइरस अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरिया, भारत, नेपाल लगायत विश्वका २ सय भन्दा बढि देशमा फैलिएको छ । यो भाइरस डिसेम्बर २०१९ मा पुष्टि भएको थियो । कोरोना भाइरस भनेको विभिन्न भाइरसको समुह हो ।

यो स्वास प्रश्वासको माध्यमबाट सर्ने एक सरुवा रोग हो । यो खोक्दा, हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक संक्रमित व्यक्ति देखि अर्को स्वस्थ व्यक्तिमा सर्ने हानिकारक भाइरस हो । यस भाइरसले संक्रमित व्यक्तिको ज्यान समेत लिने गर्दछ । यो भाइरस जनावरबाट नै सुरुवात भएको भनिए पनि कुन जनावरबाट हो भन्ने पत्ता लागि सकेको छैन । कोरोना भाइरसको कारण नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरिरहेको छ । अंग्रेजी भाषाको शब्द ‘लकडाउन’ अहिले विश्वव्यापी चर्चा र प्रचलनमा छ । ‘लकडाउन’ को अर्थ बन्दाबन्दी हो । जुन गाउँ, शहर, क्षेत्र, देशमा लकडाउन हुन्छ, त्यो क्षेत्र बन्द गरिएको हुन्छ । ‘लकडाउन’ शब्दको उत्पति कारागारबाट भएको मानिन्छ । कैदीहरु बीच झगडा हुन थालेपछि उनीहरुलाई कारागार भित्र आफ्नै कोठामा थुन्ने गरिन्थ्यो । त्यहाँ एकै ठाँउमा थुनिएर अथवा बन्द ठाँउमा बस्नु पर्ने भएकाले ‘लकडाउन’ भनिएको हो र त्यहीबाट यो शब्दको शुुरुवात भएको मानिन्छ । ‘लकडाउन’ लागु भएमा रोग सर्ने सम्भावना कम हुने भएकाले नेपाल सरकारले पनि ‘लकडाउन’ गरेको हो ।

अपराध भनेको नराम्रो काम, स्वीकार गर्न नसकिने काम, कसैलाई पीडा दिने काम इत्यादि हो । अपराध शब्दको उत्पत्ति ल्याटिन भाषाबाट भएको हो । अपराध गरेमा जरिवाना र सजाय मध्ये दुवै हुन सक्छ र कानुन विपरितको काम तर अपराध नहुने रहेछ भने त्यसमा बिगो अर्थात् भएको क्षतिको आधारमा त्यो वस्तु, सामान वा पैसा अन्यायमा पर्नेलाई दिइन्छ । ब्रिटिस कानुनविद् तथा अपराधशास्त्री हाल्सवरीले अपराधको चरित्र चित्रण गरेर परिभाषा दिन असम्भव हुन्छ भनेका छन् । देश, काल, परिस्थिति, धर्म, संस्कार एवम् विभिन्न कानुन विद् तथा अपराध शास्त्रीहरुले समेत अपराधको परिभाषा यही हो भन्न सकेका छैनन् । अपराध हामी सबैले जानेको र बुझेको विषय हो । अपराधलाई फौजदारी कानुनी सिद्धान्तहरुमा क्राइम र विधायिकी हिसाबमा ‘अफेन्स’ भनिन्छ । अपराध जटिल सामाजिक रोग हो ।

प्रत्येक समाजमा आ–आफ्नै मनोवैज्ञानिक, नैतिक, आर्थिक, राजनीतिक, धार्मिक, शैक्षिक, सांस्कृतिक, जनसांख्यिक, भौगोलिक आदि कारण स्वरुप वा त्यो रुपमा अपराध भइरहेका हुन्छन् । कुनै पनि समाज अपराध विहीन हुन सकेको छैन । प्राचिन समय देखि नै अपराध भइरहेको छ भने भविष्यमा पनि अपराध नभएको समाजको कल्पना गर्न कठिन नै हुन्छ । कानुनले गर्न भनेको काम नगर्नु र नगर्न भनेको काम गर्नु कानुन विपरित हुन्छ । कानुन विपरितका कार्यहरू सबै अपराध भने हुँदैनन् । जस्तै कसैले करार पूरा गरेन भने त्यो पनि कानुन विपरीत हो तर यो आपराधिक कार्य होइन । कानुनका सिद्धान्त अर्थात् विधि शास्त्रमा काम आपराधिक हुनका लागि मूलतः दुई अवस्थाको उल्लेख हुन्छ–आपराधिक मनसाय र आपराधिक कार्य । अपराधहरु विभिन्न किसिमका हुन्छन् जस्तैः चोरी अपराध, विद्युतीय अपराध, वन अपराध संगठित अपराध, साइवर अपराध, बाल अपराध आदि ।

मानवलाई लैङ्गिक आधारमा विभेद गर्नु पनि हिंसा हो । हिंसा मानवअधिकार विरुद्धको कार्य हो । महिलामा शक्ति, स्रोत र साधनको अभाव हुनु भनेकै हिंसा हो । विश्व समुदायमा नै हिंसाबाट कुनै वर्ग, जात जाति, समुदाय, धर्म अछुतो रहन सकेको छैन । महिला भएकै कारण मानव अधिकारको उपभोगमा गरिने विभेद, शारीरिक, मानसिक पीडा तथा यातना र अन्य कारणबाट महिला माथि हुने हिंसालाई नै महिला हिंसा भनिन्छ ।

घरेलु हिंसा भनेको परिवारका कुनै सदस्यबाट अर्को कुनै सदस्य माथि गरिने हिंसा हो । नेपालमा यो समयमा घरेलु हिंसा, महिला हिंसा बढ्नुको कारण निम्न वर्गिय परिवारमा मादक पदार्थ सेवन गर्ने नै प्रमुख कारण हो । नेपालमा घरेलु हिंसा पीडितले गरिबी, न्यायालयबाट न्याय मिल्छ भन्ने विश्वास नहुनु, घर परिवार, समाज तथा आफन्तको डर आदिका कारण पीडा सहेर बसेको देखिन्छ र लैंगिक हिंसा लिङ्गका आधारमा हुने हिंसा हो ।

यो हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने बुझ्ने प्रचलन सामान्य जनजीवनमा भए पनि महिला वा पुरूष वा तेस्रो लिङ्गि भएकै आधारमा पेशा, अध्ययन वा कुनै पनि ठाउँमा घृणा गर्नु, कूटपिट गर्नु, यौनजन्य दुराचार, डर त्रास, पारिश्रमिक नदिनु वा कम दिनु, अश्लिल शव्द बोल्नु, अश्लिल फोटो देखाउनु आदि सबै लैंगिक हिंसा हो । हिंसाहरु विभिन्न किसिमका हुन्छन् जस्तैः महिला, घरेलु, लैङ्गिक हिंसा आदि हुन् । लकडाउनको समयमा मानिसहरू धेरै फुर्सदिला बनेका कारण गाउँ घर सम्म इन्टरनेट र मोबाइल फोनमा वृद्धि भएको र साइबर अपराध बढिरहेको छ । लकडाउनको समयमा ५० प्रतिशतले इन्टरनेट र ९५ प्रतिशत मोबाइल फोन प्रयोगकर्ता रहेका कारणले पनि यसको दुरुपयोग बढेको छ । इन्टरनेट र प्रविधिको बढ्दो दुरुपयोगका कारण अनुसन्धानमा समेत अनेकौँ चुनौती थपिएका छन् । अहिले भएका घटनालाई हेर्दा धेरै फेसबुकको दुरुपयोगबाट सिर्जना भएका छन् । लकडाउन पछिको ३ महिनाको अवधिमा चोरी डकैती, लागु औषध, अभद्र व्यवहार, हातहतियार खरखजना, ज्यान मार्ने, बाल यौन, बहुविवाह, अपराधजन्य मुद्दा, जबर्जस्ती करणी, आदि घटनाहरु भएका छन् ।

अहिले जातिय विभेद, आत्महत्या, महिला हिंसा, बलात्कार देखि हत्या हिंसा जस्ता घटनाहरुले नेपाली समाजलाई विचल्ली परिरहेको छ । लकडाउनको समयमा आयआर्जनका सबै श्रोत बन्द भएकाले खाद्यान सकिएर हात मुख जोड्न अप्ठ्यारो परेकाले आत्महत्या गर्न बाध्य भएका छन् । यो अवधिमा झण्डै १६ सय जनाले आत्महत्या गरेका छन् । आत्महत्याको प्रमुख कारण भनेको गरिबी, बेरोजगारी, पढाइमा असफलता, लागु औषधी दुरुपयोग, स्वास्थ्य समस्या, घरेलु हिंसा, मायामा धोका आदि हुन् । त्यस्तै रोगको कारण देश भयले ग्रस्त भएको समयमा जातिय विभेदले झन् सबैको मन मुटु छिया–छिया पारेको छ । जागिर दिनको लागि जात सोध्ने यो समाजमा आफू अप्ठ्यारोमा परेर सहयोग चाहिँदा कहिल्यै जात सोधिदैन । यो विषम परिस्थितिमा आफ्नो ख्याल गर्न भन्दा मानिस छुवाछुतमा लागि रहेछन् त कतै बुहारीहरुलाई दाइजोको निहुँमा शारीरिक तथा मानसिक यातना दिइरहेका छन् । आफ्नै जन्मदिने आमालाई त मार्ने समाजमा कसरी बच्ने ? र छोरी बेटीलाई बलात्कार र हिंसाबाट कसरी जोगाउने ?

यो निर्दयी समाजमा आफ्नो यौवनको प्यास या स्वार्थको भोक मेटाउन पाए न आमा नै भन्छ, न बालबच्चा नै । यो अवधिमा ४० प्रतिशत महिला हिंसाको पीडित उजुरी गर्ने ठाउँसम्म पुग्न पाएका छैनन् । यस्तै आफ्नो ख्याल गर्ने मानिसले, आफ्नो समाजको किन ख्याल गदैन ? यदि एकको समस्या अर्कोले बुझ्ने हो भने यी समयमा कसैले आत्महत्या गर्नु विवश हुनु पर्ने थिएन । यदि सबै जनाले यो संसारलाई एक घर ठानेर सबैलाई आफ्नै छोराछोरी, आमाबुवा, दाजुबहिनी सरह व्यवहार गर्ने हो भने किन जातिय विभेद, किन महिला हिंसा र बलात्कार दाहोरिने थिए र ? किन अपराध र हिंसा मानिसको नजरमा आउने थियो होला ?

कोरोनाको यो विषम परिस्थितिमा माथिका यी सामाजिक समस्याले गर्दा माथिका यी थप जटिलताहरु थपिएका छन् । यी समस्याहरुको समाधान गर्न सर्वप्रथम स्वयंम् व्यक्ति सजग हुनु पर्दछ भने परिवार, समाज र राज्यका सम्पूर्ण निकाय र संयन्त्र क्रियाशिल भएर लाग्नु पर्ने देखिन्छ । वर्तमान समयमा भएका कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्न नसक्दा र एकले अर्कोलाई सम्मान गर्न नसक्दा यी समस्या सिर्जना भएकोले अबका दिनमा आपसी मेलमिलाप, एकता, सद्भावसँगै हामीको भावना जागृत गराई सामूहिक रुपमा समस्यासँग जुध्न लाग्नुपर्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *