अहिले देश कोरोना संकटको सकसमा छ । यो बेला हामी आतंकित हुने मात्र होइन, वर्तमानको कठिन मानव संकटको सामनाका लागि सचेतता सँगै राज्यलाई सम्भव हुने सहयोग गर्नुपर्ने दायित्व पनि छ । यही सोचको उपज बागलुङ बजारका होटल व्यवसायीहरुले यदी क्वारेन्टिनको समस्या भएको अवस्थामा होटललाई क्वारेन्टिनको रुपमा उपयोग गर्न दिन पनि राजी भए । र होटल क्वारेन्टिनमा अहिले तेस्रो देशबाट आएका नागरिकहरु बसिरहेका पनि छन् । तर, होटल व्यवसायीले यसरी कठिन अवस्थामा आफ्नो क्षेत्रबाट सहयोग गरेर नागरिकको रुपमा समेत जिम्मेवारी निभाइरहँदा होटल आसपासका स्थानीयले भने विरोध जनाइरहे । कोरोना संकटका बीच सामाजिक उत्तरदायित्वबोध गरिरहदा होटल व्यवसायीले झेल्नुपरेका चुनौति र जोखिमबारे आदर्श अनलाईन / जागरणकर्मी साधना पन्तले अनुभव अनुभूति केलाउने प्रयास गर्नुभएको छ । प्रस्तुत छ होटल व्यवसायी सँगको कुराकानीको सम्पादित अंशः
निलेश राजभण्डारी
अध्यक्ष
होटल व्यवसायी सघं, बागलुङ
सञ्चालक होटल पिस प्यालेस
हामीहरुले बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई होटल क्वारेन्टिनमा राखेका छौ । हामीले नेपाल सरकारले क्वारेन्टिनको मापदण्ड बनाए अनुसार सवै सुरक्षाका उपाय अपनाएर सेवा दिइराखेका छौ ।
बिदेशबाट आएका सवै संक्रमित हुन्छ भन्ने छैन । बाहिरबाट दाजुभाईले आफ्नो टोल, छिमेक, समाज सुरक्षित होस् भनेर आफै पैसा तिरेर होटलको क्वारेन्टिनमा बस्नु भएको छ । हामीहरुले उनीहरु आउने बेलामा केमिकल छर्कन्छौ । र उहाँहरु होटलमा आइसकेपछि कोठा सम्म जाँदा पनि हामीहरुले केमिकल छरेका हुन्छौ । जति जना होटलमा बस्नु हुन्छ, उहाँहरु होटलको कोठा सम्म पुगेपछि उनीहरुको पीसीआर परीक्षण नभए सम्म बाहिर निस्कन दिदैन । उनीहरुलाई हामीले दिनको ४ पटक खाना दिएका छौ । खान पु¥याउनेले माक्स, पञ्जा, सेनिटाइजर प्रयोग गरेर प्याकिङ खान दिएका छौ । उहाँहरुले खाना खादा प्रयोग गरेका भाडा प्लाष्टिकका हुन्छन् । ति भाँडाहरु हामीले डिस्पोज गर्दछौ सुरक्षाका आवश्यक बिधि र सामाग्री प्रयोग गरेर ।
हामीहरुले वैदेशिक रोजगारबाट फर्किएका दाजुभाइ सुरक्षित साथ सेवा दिएका छौ । तर, हामीलाई समाजले हेर्ने दृष्टिकोण फरक पाइएको छ । समाजमा हामीलाई हामीनै कोरोना संक्रमित भए झै व्यवहार भएको छ । अहिले लकडाउन खुकुलो भएको छ । बजार खुल्ला छ । बजारमा मानिसहरुको भीड लाग्न थालिसकेको छ । अहिलेको अवस्था हेर्दा होटल व्यवसायी जस्तो सुरक्षित र व्यवस्थित कोही छैनन् । हामीहरुले सुरक्षा सचेतता अपनाएका छौ । तर बजारमा फलफुल व्यवसायी, तरकाारी व्यवसायी, किराना पसल, फेन्सी पसलहरुले सुरक्षाको समाग्री, सामाजीक दुरीमा पनि ध्यान दिएका छैनन् । सरासर हेर्ने हो भने सवै भन्दा सुरक्षित हामी छौ । मानिसहरुले हामीहरुलाई नै नराम्रो व्यवहार गरिरहेका छन् । केही दिन अगाडी बजारमा होटलमा क्वारेनिटन व्यवस्थापन गरेका संचालकलाई नै कोरोना लाग्यो रे भनेर हल्ला चलाईएको रहेछ । त्यो सवै कुरा झुटो हो । हामीहरुले क्वारेन्टिनमा राखेर रिपोर्ट नेगेटिभ आएर घर पठाइए पछि हामीले ७२ घण्टा सम्म सिल गरेका छौ । अहिले सम्म हाम्रो होटलमा ३० जना जति क्वारेन्टिनमा बसि सक्नु भएको छ । हामीहरुले हाम्रो तर्फबाट सुरक्षाको सामाग्रीहरु सवै अपनाएका छौ । हामीले अरुका लागि सुरक्षा अपनाउने पनि होइन, भोली हामीहरु नै बस्नु पर्दछ । हामीलाई नै खतरा हुन्छ । त्यसकारणले हामीले सवै सुरक्षाको बिधि अपनाएर होटलको क्वारेन्टिन संञ्चालन गरेका छौ । तर समाजले हामीलाई शंकाको नजरबाट हेरिरहेको छ ।
हामीले नियमित रुपमा आफ्नो जरो जाँच गरेका छौ । स्वास्थ्य परीक्षण गरेका छौ । हामीहरुमा कुनै लक्षण देखा परेको छैन । होटल व्यवसायीको धर्म नै सेवा दिनु हो । हाम्रो परिवारले तपाईहरुले नगरे कसले गर्दछ ? गर्नुहोस् भनेर हौसला दिनु भएको छ । हामीहरु कोराना सँग डराएर बस्नु हुँदैन । आफु सुरक्षित भएर दैनिक काम गर्नु पर्दछ । यो रोग मानिसहरुले देखेर यो व्यक्तिलाई कोरोना लागेको छ भनेर थाहा हुदैन । त्यसकारणले जोखीम सबै पेशा व्यवसायमा छ । सुुरक्षित सचेत भएर काम गरौ ।
बसन्तकुमार श्रेष्ठ
सञ्चालक
होटल रेड एप्पल,बागलुङ
मैले होटलमा ५ जना बैदेशिक रोजगारबाट फर्किएका मानिसहरुलाई क्वारेन्टिनमा राखेको छु । मानिसहरुले हामीले होटलमा क्वारेन्टिन बनाएर मानिस राखेकोमा डाह, इस्या गरेर नराम्रो सुचना फैलाएको पाइएको छ । नियत बस मानिसहरुले त्यहाँ त कोरोना लागेको छ । त्यहाँ जानु हुँदैन, भेट्नु हुँदैन भनेर समाजमा नकरात्मक प्रभाव पारेका छन् । यो सारै दुखद कुरा हो । यसरी सवैलाई त्यही किसिमले हेर्ने हो भने त भोली पत्रकार, सुरक्षाकर्मी, प्रशासनिक मानिसलाई र विशेष गरेर अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई, एम्बुलेन्स चालकलाई मानिसहरुले हतोत्साही गराउने समाजमा रहेका मानिसहरुको व्यवहार छ । मलाई पनि धेरै मानिसहरुको फोन आउँछ । होटलमा नराख भन्ने गरेका छन् । तर, हाम्रो नैतिक जिम्मेवारी हो । सामाजिक उत्तरदायित्व पनि हो हाम्रो । हामीले एउटा पेशा या व्यवसाय गरेपछि देशमा कोरोनाले माहामारी लिएको समयमा पेशाले हामीले धर्म निभाउनु पर्दछ भन्ने हिसाबले सेवा दिएका हौ । हामीले ५ जना मानिसलाई होटलमा राखेर न त्यसबाट भाँडा तिर्न सकिन्छ न कर्मचारीलाई तलब दिन पुग्दछ । र पनि हामीले हाम्रो कर्तव्य सम्झिएर गरेको हो । सामाजिक उत्तरदायित्व सबैले बहन गर्नुपर्दछ भनेर हामीले राखेका हौ । हाम्रो समाजमा नकरात्मक असर पार्ने मानिसहरु छन् । तिनीहरुबाट हामीलाई अनावश्यक दबाब र तनाब भइराखेको छ ।
हामीहरुले होटल क्वारेटिनमा राखेका मात्र छैनौ । हामीले सवै सुरक्षा अपनाएका छौ । हामीले सुरक्षाको सबै पाटो अपनाएका छौ । उनीहरुको स्वास्थ्यको पनि ख्याल राख्ने, खाना,पानी, बस्ने वातावरणलाई पनि हामीले कमी आउन दिएका छैनौ । हामीले होटल सेनिटाईज गर्ने निरन्तर गरेका छौ । कर्मचारीको स्वास्थ्य उपचार पनि गरेका छौ । हामी सुरक्षित भएर मात्र उनीहरुलाई सेवा दिएका छौ । हाम्रो पनि जिम्मेवारी हो, समाजमा कोरोना फैलिन नदिनका लागि त्यसकारणले हामी सुरक्षित छौ ।
मानिसहरु यो रोगबाट हतोत्साही हुनु हँुदैन । यो रोग लागेका मानिसहरु देख्दा बित्तिकै रोग सर्दछ भन्ने भ्रम आम जनामानसमा छ, त्यो हटाउनु पर्दछ । मानिसहरुलाई बुझाउन जरुरी छ कि संक्रमितको समिपमा भएर, खानपान संगै गर्ने हो भने सर्ने सम्भावना हो । यो रोग हावाबाट उडेर आएर टाढा भएकालाई पानि सर्ने भन्ने होईन । मोवाईलमा कुरा गर्दा पनि सर्ने होईन । मानिसहरु सचेत हुन जरुरी छ र आत्मबल बल बलियो गराउनु पर्दछ । हामी सवैले सकारात्मक सोचेर एक अर्कालाई सहयोगको भावना राख्नु पर्दछ । हामीले यो सोच्न पर्दछ कि आफ्नै छोराछोरी नाती नातीनी बिदेशबाट आएर कोरोनाका कारणले कहि पनि बस्न नपाउँदा त्यसको अवस्था कस्तो हुन्छ होला ? त्यसकारणले कोही न कोहीले सहयोग त गर्नुपर्दछ । त्यो हुनाले हामीले सहयोगी भावना र जिम्मेवारीले राखेका हौ । जति पनि होटल व्यवसायीले अहिले होटल क्वारेन्टिनमा राखेका छन् । उनीहरुले पैसाका लागी नभएर सामाजिक उत्तरदायित्व निर्वाह गरेका हुन् भन्ने सबैले बोध गर्नुपर्दछ ।
एञ्जिल शाक्य
सञ्चालक
होटल दि राजन,बागलुङ
मैले बैदेशिक रोजगारीबाट फिर्ता आएका मानिसहरुलाई होटलमा राखेको भन्दै मानिसहरुले हामीलाई हेर्ने दृष्टिकोण फरक पाइएको छ । हामीलाई घरको झ्यालबाट पनि नहेर, बाटोमा नहिड, बाटोमा थुकिस् सम्म भनेर अपहेलित गरिएको छ । हामीहरु समाजमा हिँड्नै असहज महुशुस हुन थालेको छ । हामीहरुले सेवा दिदाँ सवै सुरक्षाको बिधि प्रक्रिया अपनाएर मात्र सेवा दिएका छौ । १ जनाले मात्र खान पु¥याउने कोठा सम्म, पीपीई सेट प्रयोग गर्ने, माक्स, पञ्जा, सेनिटाइजर प्रयोग गरेर हामीले खानाहरु पु¥यााएका छौ । उनीहरुलाई ल्याउदा बाटो सबै सेनिटाइज गर्ने, कोठा भित्र गई सकेपछि पनि सेनिटाइज गर्ने काम भएको छ । उनीहरु एक पटक होटलको कोठा भित्र छिरे पछि बाहिर निस्कन पाउँदैनन् । मैले होटलमा १५ जनालाई राखेको हो । उहाँहरु होटल छोडेर गएदेखि मैले होटलका कोठाहरु सिल गरेर राखेको छु । हामीहरुले ति कोठा प्रयोगमा ल्याएका छैनौ ।
हामीले राज्यले तोकेको मापदण्डण् र रेटमा होटल क्वारेटिन सञ्चालन गरेका हौ । हामीले १ वटा कोठाको १७ सय पैसा लिएर सेवा दिएका हौ । हामीले उहाँहरुलाई सवै होटलको सेवा कोठामै पु¥याएका हौ । पीसीआर गर्न होटलबाट बाहिर जानु पर्ने भएकाले हामीले सवै होटलनै सेनिटाइज गरेका छौ । मलाई के लाग्छ भने हामी होटल सञ्चालन गरेका सवैले सुरक्षाको बिधि अपनाएका छौ । बजारमा जथाभावी मानिसहरु हिँड्डुल सुरु भएको छ । फेन्सी पसल, किराना पसल, फलफुल पसलमा मानिसहरुको भीड लाग्न थालेको छ । तर, उनीहरुले सुरक्षाको सामाग्री केही अपनाएका छैनन् । जोखिम हेर्ने हो भने त त्यस्ता ठाउँमा पो बढि जोखिम छ । मानिसहरुले यो कुरा बुझदैनन् या नबुझे जस्तो गरेर तनाव दिइरहेका छन् । हामीलेत सवै सुरक्षा अपनाएर सेवा दिएका छौ । कोरोेना भाइरस आँखाले देखिने होइन । यसबाट बच्ने उपाय धेरै छन् । आफु सुरक्षित र आफ्नो समाज सुरक्षित गराउनका लागि हामीले सवै सुरक्षा अपनाएका छौ । सवै मानिसहरुलाई मैले के भन्न चाहान्छु भने हामी सुरक्षित छौ, ढुक्क हुनुहोस् । हामीले गर्दा समाजमा कुनै असर पर्ने वातावरण हामी सृजना गर्ने छैनौ । यो अप्ठ्यारो समयमा हामीले पनि स्थानीय सरकारलाई केही राहत महुशुुस होस् र बैदेशिक रोजगारबाट आएका दाजुभाइलाई पनि आँफु सुरक्षित महुशुस होस् भनेर मात्रै हामीले होटलमा सेवा दिने निर्णय गरेका हौ ।
हिमाल पौडेल
सञ्चालक
त्रिवेणी होटल, बागलुङ
मैले होटलमा ८ जनालाई राखेका हौ । मैले मेरो होटलमा बैदेशिक रोजगारबाट फर्किएका मानिसहरुलाई राख्दा हाम्रो समाजका मानिसहरुले मलाई हेर्ने दृष्टिकोण नै फरक पाएको छु । हामीलाई नगरपलिकाले नै राख्न भनेर होटलमा राखेका हौ । हामीले सुरक्षाका सामग्रीहरु सवै अपनाएका छौ । नगरपालिकाको विशेष अनुरोधमा हामीले होटल क्वारेन्टिन सञ्चालन गरेको तर नगरपालिकाले त्यस पश्चात वास्तै गरेको छैन । हामीले सेवा नै धर्म भनेर काम गरेका छौ । समाजमा भने हामीलाई नराम्रो रुपले हेरिएको छ । यिनिहरुलाई पनि कोराना लागेको छ भनेर अफवाह फैलाइएको छ । हामीलाई मानिसहरुले भेट्दा मुखले नभने पनि व्यवहार भने फरक पाउँछौ । हामीले सवै सुरक्षा अपनाएर सेवा दिएका छौ । खाना प्याकिङ हो दिने । माक्स , पञ्जा सेनिटाईजर प्रयोग गर्ने गरेका छौ । बरु किराना पसल, फलफुल पसल, फेन्सी पसलहरु जोखिममा भएको मैले महुशुस गरेको छु । किनकी उनीहरुले सुरक्षाका केहि उपाय अपनाएका छैनन् । हामीले सवै सुरक्षा अपनाए पनि हामीलाई नराम्रो व्यवहार गरिएको छ । मेरो होटलमा अहिले कोही पनि राखेको छैन । सवैको रिपोर्ट नेगेटिभ आएर घर फर्किएका छन् । मैले अहिले कोठा सिल गरेर राखेको छु । किनकी सुरक्षा हामीलाई पनि चाहिएको हुन्छ । कोरोनाको डर हामीलाई पनि हुन्छ । त्यसकारणले हामीले सवै सुरक्षा अपनाएका छौ ।
मलाई त अघि पछि खुल्ला रुपमा किराना पसले सामान बेचेका थिए । तर, म सामान किन्ने भएकाले बार लगाएर सामान दिए । हामीलाई मुखले नभने पनि व्यवहारबाट बिभेद र उपेक्षा गरेका छन् । यो देख्दा मलाई मनमा लागेको हामीले होटल क्वारेन्टिनमा राख्दा त यस्तो छ । भोली कोरोना संक्रमित निको भएर घर फर्कदा उनीहरु माथी कस्तो व्यवहार गरिएला ? मानिसलाई शारिरिक तनाब देखिन्छ । तर, मानसिक तनाब देखिदैन । मानसिक तनाबले मानिसलाई धेरै नोक्सान गर्दछ । त्यसकारणले अझै पनि मानीसहरुमा चेतना र जिम्मेवारीबोधको कमी भएको महुशुस मैले गरेको छु ।