नेपालका सहकारीहरुको एक मात्र बैंकका रुपमा स्थापित भई मुलुकभर सञ्जाल विस्तार गरेको राष्ट्रिय सहकारी बैंक लिमिटेड असार २५ गतेदेखि १७ वर्ष पुरा भएको छ । सहकारी क्षेत्रलाई वित्तीय तथा संस्थागत रुपमा सहयोग गर्नका लागि स्थापित बैंकको वर्तमान अवस्था, आगामी योजना, कोरोना संक्रमणबाट सिर्जित संकटमा बैंकले खेलेको भूमिका लगायत समग्र सहकारी अभियानका बारेमा बैंकका अध्यक्ष के.बी.उप्रेतीसँग सहकारी बैंक स्थापनाको १८ बर्ष प्रवेशका अवसरमा रोहन जिसीले गरेको कुराकानी:
राष्ट्रिय सहकारी बैंक लिमिटेड १७ वर्ष पुरा हुँदैछ । बैंक स्थापनाको उद्देश्य के थियो, कसरी स्थापना भएको थियो ?
-सहकारीको आवश्यकता तथा अपरिहार्यतालाई दृष्टिगत गरी सहकारी ऐंन २०४८ जारी भयो । सहकारी ऐंन २०४८ जारी भए पश्चात नेपालमा सहकारीहरुले हरेक क्षेत्रमा पुर्याएको सेवालाई अझ व्यवस्थित गरी वित्तीय रुपले सम्पूर्ण सहकारी क्षेत्रलाई सबल बनाउन २०५७ सालमा सहकारी ऐनं २०४८ को प्रथम संशोधनबाट सहकारी क्षेत्रको आफ्नो छुट्टै बैंक स्थापना गर्न पाइने व्यवस्था गरियो । सहकारी ऐनको त्यसैं संशोधनलाई आधार मानी राष्ट्रिय सहकारी संघको नेतृत्वमा सहकारी बैंकको स्थापनाको लागि कार्य प्रारम्भ भएको हो । यसै अनुरुप सरकारले आ.व. २०५७/०५८ को वजेटमा सहकारी बैंकको स्थापनार्थ रु १ करोड विनियोजन गरी वि. स. २०६० साल आषाढ २५ गतेका दिन यस बैंकको विधिवत स्थापना भई २०६१ श्रावण १९ गतेबाट बैंकले आफ्नो कारोवार आफ्ना सदस्य सहकारी संघ/संस्थाहरु बिचमा मात्र गर्दै आईरहेको छ । आ.व २०६६/०६७ मा नेपाल राष्ट्र बैंकले यस बैंकलाई सिमित बैंकिंग कारोवार गर्न २०६७ श्रावण १० गते ईजाजत प्रदान गरेको छ ।
बैंकले स्थापनाको समय देखि निम्न अनुसार उद्देश्य राखी कार्य गर्दै आईरहेको छ ।
– सहकारीका सदस्य संघ वा संस्थालाइ बचत र पूँजीको साथै वित्तीय पहुच पुर्याउने ।
– सहकारीका सदस्य संघ वा संस्थालाई थोक कर्जाको रुपमा वित्तीय तथा अन्य आवश्यक सहयोग उपलब्ध गराई त्यस्ता संघ/संस्था मार्फत जनताको आर्थिक तथा सामाजिक स्तर माथि उठाउन सहयोग पुर्याउने ।
– नेपाल सरकार तथा राष्ट्र बैंकको नीति निर्देशन र ऐनको अधीनमा रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी संघ-संस्थाहरुसंग आवश्यक समन्वय कायम गरी सहकारी अभियानलाई सहयोग पुर्याउने ।
१८ औ वर्षमा प्रवेश गर्ने समयसम्म आइपुग्दा बैंक आफ्नो उद्देश्यमा कत्तिको सफल भएको छ ?
सहकारी क्षेत्रमा एक मात्र बैंक भएको हिसावले बैंकले सम्पूर्ण सहकारी संघ-संस्थाको नेतृत्व गर्दै अगाड़ी बढीरहेको अवस्था हो, स्थापना देखि आजको दिन सम्म आउदा बैंकले लिएका सम्पूर्ण लक्ष्य उद्देश्य पूरा गर्न हरसम्भव प्रयास गरेका छौ र प्रयासमा सफलता पनि पाएका छौ तथापी सम्पूर्ण सहकारीहरुलाई सेवा दिन शाखा विस्तार गर्न नियामक निकायको स्वीकृति लिनूपर्ने अपरिहार्यताले गर्दा केही कठिनाई देखिएको छ तर हामीले सक्दो प्रयास गरेका छौ, हाल सञ्चालनमा रहेका ४४ सहित २४ शाखा विस्तारको क्रममा छौ । समयसंगै सदस्य सेवामा नविनतम प्रविधि तथा पद्दतिको प्रयोग गरी बैंकले सेवा दिईरहेकोले बैंकले लिएको उद्देश्यमा बैंक सफल मैले बुझेको छु ।
देशभर ३५ हजार सहकारी छन् भनिन्छ । बैंकमा करिव १२ हजार सदस्य छन् ? सबैलाई बैंकमा आवद्ध गराउन किन सकिएको छैन ?
राष्ट्रिय सहकारी बैंक स्वंय सहकारी संघ/संस्थाहरुद्वारा नै स्थापना भएको हो र सबैलाई बैंकमा आवद्ध गराउने लक्ष्यका साथ बैंक अगाडि बढिरहेको छ । तथापि मुलुकको भौगोलिक अवस्था; हाल सञ्चालनमा रहेका बैंकका सीमित शाखा; दर्ता भएका सबै सहकारी संघसंस्थाहरु सञ्चालनमा नहुनु प्रमुख कारणहरु हुन् । यद्यपि हाल बैंकले शाखारहित बैंकिङ्ग, ट्याबलेट बैंकिङ्ग लगायतका आधुनिक सहकारी बैंकिङ्गको उपयोग गर्नेतर्फ अघि बढिरहेको, ४४ शाखा र एक केन्द्रिय कार्यालयमार्फत सेवा दिँदै आइरहेकोमा तत्काल २४ वटा थप शाखा मार्फत समेत बैंकले आफ्नो सेवा विस्तार गर्न लागेकोले यसमा चाँडै उल्लेख्य प्रगति हासिल हुनेमा हामी विश्वस्त छौं । नेपाल सरकार, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ लगायत केन्द्रीय, प्रादेशिक र जिल्लास्तरका सहकारी संघ तथा विषयगत संघहरु समेत सदस्य रहेको यस बैंकलाई सबै प्रकृतिका सबै सहकारी संघ÷संस्थाको संस्थाको रुपमा अघि बढाउने सोचलाई मूर्तरुप दिने दिशामा हामी अहोरात्र लागिरहेका छौं ।
विश्वमा देखिएको कोरोना संक्रमणका कारण नेपालको सहकारी क्षेत्र पनि प्रभावित छ । देशमा जारी लकडाउन र त्यसपछि आउन सक्ने जोखिम व्यवस्थापनका लागि बैंकको भूमिका अहिले के छ र अब कस्तो रहन्छ ?
निश्चय नै, विश्वव्यापी कोरोना महामारीको प्रभाव नेपाली सहकारी क्षेत्रमा पनि परेको छ । तर पनि हामी सहकारी क्षेत्रको वित्तीय स्थिरताका लागि हाम्रो अधिकतम् क्षमताको उपयोग गरी यस क्षेत्रमा देखिने जोखिम व्यवस्थापनमा लागिरहेका छौं भने भविष्यमा पनि लागिनै रहने छौं । बैंकले समुदायप्रतिको चाँसोको रुपमा केन्द्रमा विपद् व्यवस्थापन केन्द्रीय राहत कोष लगायत शाखास्तरमा समेत स्थानीय कोषहरुमा सक्दो सहकार्य गर्ने, सदस्य संस्थाहरुलाई तरलताका लागि तत्काल कर्जा सुविधा उपलब्ध गराउने, लकडाउनमा समेत अनवरत रुपमा बैंकिङ्ग सुविधा दिने, कोरोना प्रभावित संघ÷संस्थाहरुलाई कर्जाको ब्याजमा छुट दिने, कर्जाको पुर्नतालिकीकरण गर्ने, सहकारी शिक्षा तथा तालिम लगायत स्तरीकरण कार्यक्रमलाई प्रविधिको प्रयोग गरी अझ प्रभावकारी बनाउने, सदस्य संस्थाहरुसँग निरन्तर सम्पर्क स्थापित गरी उनीहरुका समस्याहरुमा मध्यस्थता गर्ने कार्यमा सहकारी अभियानको नेतृत्व लिइरहेको छ । भविष्यमा पनि बैंकले सदस्य संघ÷संस्थाहरुको बैंकिङ्गका साथै संस्थागत सुदृढिकरण, तरलता व्यवस्थापन, सदस्य केन्द्रीयता, सहकारी शिक्षा तथा तालिम लगायतका कार्यहरुमा विश्वस्तरिय आधुनिक सहकारी बैंकिङ्ग प्रविधिको समेत प्रयोग निरन्तर सहकारी क्षेत्रको विकास, प्रर्वदन र बैंकिङ्गमा लागिरहनेछ ।
सहकारी क्षेत्रको एक मात्र बैंकका रुपमा स्थापित राष्ट्रिय सहकारी बैंकले अन्तर बैंक भुक्तानी
(क्लियरिङ) को व्यवस्था गर्न सकिरहेको छैन, किन ?
राष्ट्रिय सहकारी बैंक सहकारीहरुको एक मात्र बैंक हो । सहकारी क्षेत्रमा रहेका समस्याहरुलाई हल गर्न राष्ट्रिय सहकारी बैक सधै तत्पर रहीआएको छ । यस्तै सहकारी क्षेत्रहरुको आवश्यकताहरुमध्ये अंतर बैंक भुक्तानी (क्लियरिङ) पनि एक हो । सहकारी क्षेत्रमा क्लियरिङ सेवाको अति नै आवश्यकता भई सकेको छ । सहकारीहरुको कारोबार पनि बैंकहरुको हाराहारीमा आई सकेकोछ । राष्ट्रिय सहकारी बैंक क्लियरिङको व्यवस्था गर्न आवश्यक गृहकार्य गरिरहेको अवस्था छ । हाल विश्व अर्थतन्त्रलाई नै चुनौती दिएको कोभिड १९ का कारण बजारमा डीजिटल बैकिङको टट्कारो आवश्यकता देखिएको छ । आशा छ, राष्ट्र बैकले राष्ट्रिय सहकारी बैंक एवम सहकारी क्षेत्रको हालको कारोबार हेरि क्लियरिङ सम्बन्धी माग चाँडै नै संबोधन गर्ने छ । यसमा म विश्वस्त छु । साथै अंतर बैक भुक्तानी मात्र नभई राष्ट्रिय सहकारी बैंकले अंतर सहकारी भुक्तानी कारोबारको लागि पनि गृहकार्य गरिरहेको छ ।
संविधानले ३ खम्बे अर्थनीतिको व्यवस्था गरेको छ, तर सरकारले सहकारी क्षेत्रले राज्यलाई दिने सहकारी प्रवद्र्धन कोषको रकम सहकारी बैंकमार्फत नभएर अन्य बैंकमार्फत दिने निर्देशन दिन्छ, सहुलियत दरको रकम बैंकले ल्याउन सकिरहेको छैन, यसमा तपाईहरुको ध्यान नपुगेको हो ?
सहकारी क्षेत्रले राज्यलाई दिने सहकारी प्रर्वदन कोषको रकम हाल सहकारी बैक मार्फत नभई अन्य बैक मार्फत दिने निर्देशन भएको छ । हामी सहकारीहरुको एक मात्र बैंक भएको नाताले यस बिषयमा ध्यानाकर्षण भएको छ । एउटा साधारण व्यक्तिले कारोवार गर्ने बैंक र सहकारीहरुले मात्र कारोवार गर्ने राष्ट्रिय सहकारी बैंकमा धेरै भिन्नता छ । सहकारी प्रर्वदन कोषलाई सहकारी बैंक मार्फत नलगी अन्य बैक मार्फत लैजानु उचित होइन । यो निर्णयलाई छिटो भन्दा छिटो सच्चाउनु जरुरत देख्दछु । हालको बिद्यमान परिस्थिति, सहकारी क्षेत्रको राष्ट्र प्रतिको योगदानलाई मध्यनजर गरि सहकारी क्षेत्रमा हुने हरेक गतिबिधिलाई राष्ट्रिय सहकारी बैंक मार्फत गर्ने अनि गराउने तर्फ हामी लागिपरेका छौ । साथै यस विषयमा राज्यले पनि ध्यान दिनुपर्ने जरूरत देखिन्छ ।
सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउन सहकारी बैंकको भूमिका कस्तो हुन सक्छ ?
पक्कै पनि नयाँ प्रविधि विकासले सबै क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्नेमा कुरा कसैको पनि दुईमत रहन्न । स्वस्फूर्त रूपमा सहकारी क्षेत्र बिस्तार हुदै गईरहेको अवस्थामा आगामी दिनमा सहकारी क्षेत्र प्रविधिमैत्री हुँदामात्र यस क्षेत्रको विकास अवश्यम्भावि छ । हाल केही सहकारी संस्थाहरुले नवीनतम् प्रविधि अवलम्बन गरेर आफ्नो कारोबारलाई कम्प्युटर तथा सप्टवेयरमार्फत व्यवस्थित गरीरहेको अवस्था छ भने कतिपय सहकारी संस्थाहरुले आफ्नो कारोबार चार खाता सिस्टममा रजिष्टरमा लेखा राखी संचालित गरेको अवस्था पनि छ । सहकारी बैंकिङ्ग क्षेत्रको एक मात्र संस्थाको नाताले ती संस्थाहरुको कारोबारहरु कम्प्युटर तथा सप्टवेयर मार्फत गर्न प्रोत्साहन गर्दै आवश्यक परामर्श र तालिमको कार्यक्रम गर्दै सहकारीमा आबद्ध सदस्यहरुबिचको अन्तर सहकारी कारोबार, सहकारी संस्थाहरुको भुक्तानी पूर्जा फर्छौट, बिल भुक्तानी वालेट एप जस्ता प्रविधिको प्रयोगमा ल्याई सहकारीको सम्पूर्ण कारोबारहरुलाई डिजिटलाईजेसन गर्ने प्रमुख भूमिका राष्ट्रिय सहकारी बैंकको नै रहन्छ ।
भर्खर २४ वटा शाखाको अनुमति पाउनु भएको छ । तर, प्रायः शाखाहरु राजधानी र प्रमुख शहरहरुमा केन्द्रीत देखिन्छन्, सबै जिल्ला समेट्ने गरी शाखा सञ्चालनका लागि किन ध्यान पुगि रहेको छैन ?
हालै सहकारी बैंकलाई राष्ट्र बैंकले विभिन्न स्थानमा २४ शाखा कार्यालय खोल्न स्वीकृत दिएको छ । जसमा उपत्यका भित्र ११ र उपत्यका बाहिरको हकमा १३ रहेको छ । सहकारी बैंकको उद्देश्य सबै सहकारी संस्थाहरुले सम्पूर्ण बैंकिङ्ग कारोबार यस बैंकसंग मात्र गरोस भन्ने हो र सम्पूर्ण संस्थाहरुलाई सम्पूर्ण वित्तीय सेवाहरु प्रदान गर्न हामी निरन्तर प्रयासरत छौं । तसर्थ, हामीले बैंकका सदस्यहरुको आवश्यकता र माग बमोजिम थप स्थानहरुमा समेत शाखा कार्यालयहरु सञ्चालनका लागि योजना तयार गरी सहकारी विभाग तथा राष्ट्र बैंकमा अनुमतिका लागि अनुरोध गर्दै आएको छ । बैंकलाई शाखा कार्यालयहरु खोल्नको लागि निश्चित मापदण्डहरु प्रायः राजधानी र प्रमुख शहरहरुमा सजिलोसंग पुरा हुने भएकोले त्यहाँ बैंकको शाखा कार्यालयहरु पहिला खोलिनु स्वभाविक नै भयो । हामी आगामी दिनमा अझै धेरै स्थानमा बैंकको शाखा कार्यालयहरु खोल्न प्रयत्नरत छौ । जुन जिल्लाहरुमा शाखा कार्यालय खोल्न नसकिने अवस्था छ, ती जिल्लाहरुमा प्रविधिको प्रयोग गरी अन्य आधुनिक सहकारी बैंकिङ्गका वैकल्पिक विधिद्वारा बैंकको सेवा पुर्याउने हाम्रो योजना रहेको छ ।
सदस्य संस्थाहरु मार्फत उत्पादन प्रशोधन र बजारीकरणका क्षेत्रमा लगानी गर्न बैंकको योजनाहरु के के छन् ?
बैंकले उत्पादन प्रसोधन तथा बजारीकरणका क्षेत्रहरुमा आफ्ना सदस्य सहकारी संस्थाहरु मार्फत विभिन्न योजनाहरु बनाई लगानीहरु गर्दै आइरहेको छ । जसको फल स्वरुप यस प्रकारका क्षेत्रहरु अन्य प्रकारका क्षेत्रहरु झै अघि बढेका छन । यस्ता उत्पादन प्रसोधन तथा बजारीकरणका क्षेत्रहरुमा लगानी बढाउनको लागी बैंकले यस्ता क्षेत्रहरुलाइ प्राथमिकतामा राखी लगानी गर्ने, लगानी प्रक्रिया सहज गराउने लगायत सम्बन्धित क्षेत्रहरुसंग पहल गरी अनुदानको लागी प्रक्रियाहरु गर्ने आदि जस्ता योजनाहरु रहेका छन ।
देशको कुल ग्राहस्थ उत्पादनमा सहकारीको भूमिका ५ प्रतिशत छ भनिन्छ, अर्थतन्त्रको एउटा खम्बाको योगदान बढाउन सहकारी बैंक र सिंगो सहकारी अभियानले के गर्नु पर्ला ?
सिंगो राज्यले नै अर्थतन्त्रको तीन खम्बामध्येको एउटा खम्बा सहकारी क्षेत्रलाई मानेता पनि देशको कुल जनसंख्याको २२ प्रतिशत यस क्षेत्रमा प्रत्यक्ष प्रर्वदन भई कारोवार गरिरहेका छन । भौगोलिक रूपमा सीमांतकृत पिछाडीएका विपन्न वर्गको पहुँच सहकारी क्षेत्रमा मात्र छ । अतः सहकारी क्षेत्रको कारोवारलाई उत्पादनसँग जोडी मूल्य– श्रृंखलामा योगदान दिन सकेमा वास्तवमै सहकारी अभियानले मुलुकले खोजेको ग्रामीण गरिवीको न्यूनीकरणको लागि आफुलाई उभ्याउन सफल हुनेछ ।
राष्ट्रिय सहकारी बैंकले स्थानीय तहसंग समन्वय गरी सहकारीमार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि कस्तो भूमिका निर्वाह गर्न सक्छ ?
राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्थानीय तहको संयुक्त प्रयासद्वारा सहकारी क्षेत्रको लागि रकम विनियोजन गर्न समन्वय गर्ने । सहकारी क्षेत्रसम्बन्धी कानून निर्माण गर्ने संबन्धमा सहकारी क्षेत्रको अभिभावकको भूमिका निर्वाह गरी सल्लाह सुझाव दिने । स्थानीय पूँजी, अनुभव, प्रविधि, शिप र कला कौशल र श्रोत साधन परिचलान गरी उत्पादन र रोजगारी अभिवृद्धिमा सहकारी क्षेत्रको भूमिका निर्दिष्ट गर्नुपर्ने देखिन्छ ।
परिचालन, उद्यमशिलता अभिवृद्धिबाट स्वरोजगार र रोजगारीको सृजना र आधारभूत वस्तु तथा सेवा प्रवाहमा सहयोगी भूमिका खेल्न सक्दछ । सहकारी मार्फत बेरोजगार तथा आर्थिक एवं सामाजिक रुपमा विपन्न वर्गलाई आर्थिक र सामाजिक आर्थिक र सामाजिक सशक्तिकरणको प्रक्रियामा सहभागि गराउने । सहकारी संस्थाको क्षमता विकासको लागि सहकारी शिक्षा, नेतृत्व विकास र व्यवस्थापन तालिमलाई व्यापक तुल्याउने जस्ता कार्यमा बैंकले स्थानीय तहसंग समन्वय गरेर अगाडि जान सक्छ ।
तपाई लामो समयदेखि सहकारी अभियान, वित्तिय क्षेत्रमा समर्पित अनुभवी व्यक्ति भएका हिसावले अहिले अर्थतन्त्र ठप्प प्रायः छ । यसलाई पहिलेकै लयमा या थप चलायमान बनाउन क–कसले के के गर्नुपर्छ जस्तो लाग्छ ?
विद्यमान कोभिड-१९ (कोरोना भाईरस)को जन्गोलमा फसेको अर्थतंन्त्रलाई चुस्त बनाउन सरकारको नै मुख्य भूमिका रहन्छ । यसमा सरकारले सहकारी क्षेत्रलाई एउटा मुख्य हतियारको रुपमा प्रयोग गर्न सक्छ । सहकारी संघ÷संस्थामार्फत वित्तीय परिचालन गर्दा स्थानीय स्रोत र साधनको सदुपयोग हुने देखिन्छ । यसमा सहकारी क्षेत्रलाई निर्यातमा प्रोत्साहन गरियो भने झन् सुनमा सुगंध हुने थियो । सहकारीहरु धेरै खुल्ने वातावरण बनाउन थप कार्यक्रम र योजना बनाउने, कुनै पनि सार्वजनिक संस्था जस्तै विद्यालय, विश्वविद्यालय, अस्पताल आदि सहकारीमार्फत सञ्चालन गर्नुपर्दछ । विशेषगरी नाफामूलक स्वदेशी तथा विदेशी कंपनीलाई दुरुत्साहन गरी बैंक तथा वित्तीय संस्थाहरुको पनि महत्वपूर्ण भूमिका स्थापित गर्न विपन्न वर्गलाई तालिम तथा कर्जा सहयोग गरी स्वरोजगार बनाउनुपर्ने देखिन्छ ।
अन्त्यमा, सहकारी बैंकलाई थप प्रभावकारी र व्यवस्थित रुपमा अगाडि बढाउन यहाँहरुको आगामी योजना कस्ता छन् ?
बैंकलाई समग्र सहकारी अभियानको पुँजी परिचालनको केन्द्रको रुपमा स्थापित गर्दै सबै प्रकृतिका सहकारी संघ-संस्थाहरुको वित्तीय आवश्यकता पूरा गर्न अघि बढिरहेका छौं । सहकारी बैंकिङ्गका साथसाथै सदस्य संघ÷संस्थाहरुको विकास र प्रवद्र्धनका लागि वित्तीय मध्यस्थता, लबिङ्गमा सहकार्य, निरन्तर शिक्षा तथा तालिम, सदस्य संस्था सुदृढीकरणका स्तरीकरण कार्यक्रम, सदस्य केन्द्रीयताका आधारमा सदस्यको मागअनुरुप नवीनतम् प्रविधिको प्रयोगबाट आधुनिक सहकारी बैंकिङ्गको निरन्तर विकास एवं सञ्चालन, अन्तरराष्ट्रिय सहकारी मूल्य, मान्यता, दर्शन, सिद्धान्तहरुको असल अभ्यासको अनुशरणलाई नेपाली सहकारी अभियानमा स्थापित गर्ने र नेपाली सहकारी अभियानका असल अभ्यासलाई विश्वसामु पुर्याउने जस्ता कार्यहरु निरन्तर सञ्चालन गर्ने योजना छ । सहकारी बैंकले नेपालको सहकारी ऐन, नियमले सहकारी बैंकका कार्य भनि तोकेका र सहकारी अभियानले बैंकबाट आशा गरेका सहकारी प्रर्वदन एवं सदस्य संस्थाका संस्थागत विकास सम्बन्धी सबैखाले कामलाई आफ्नो प्राथमिकतामा निरन्तर राख्दै आईरहेको छ र आगामी दिनमा समेत यस विषयमा बैंक अत्यन्त सम्वेदशील भई अघि बढ्ने छ ।