लोकेन्द्र निरासी
रोमन सभ्यतामा विकास भएको सिभिल ल र बेलायतको म्याग्नाकार्टाले विश्वको कानुनी प्रणालीमा निकै महत्व राख्छन् । शासकवर्गको पद र हैसियतलाई जनमुखी र उत्तरदायी बनाउन मात्र नभएर जनअधिकार र नागरिकहरुको स्वतन्त्रताको रक्षाका लागि यो कालखण्डलाई एउटा परिवर्तनकारी र युगीन समयको कोशेढुङ्गा नै मानिन्छ । चाल्स डार्विनले सर्भाईबल अफ द फिटेस्टस् अर्थात ‘बाच्नको लागि संघर्ष’ को सिद्धान्त बाहिर ल्याएपछि यसले विश्वमा निकै चर्चा पाएको थियो । जीवन अमूल्य भएकाले मानवले जीवनमा उदाहरणीय काम गरेर आफ्नो पृथक पहिचान राख्ने चाहना हुनु स्वभाविक हो । यो ज्ञानको दुनियाँमा हरेक विचारहरु प्रादुर्भाव भइ नै रहेका हुन्छन् ।
पद, प्रतिष्ठा, सत्ता र शक्तिले समाजको संरचनालाई दिनानुदिन प्रभाव पारिरहेका हुन्छन् । प्रसिद्ध विद्धान् मेक्स वेभरले यी तत्वलाई सामाजिक गतिशीलतसंगै विश्लेषण गर्दै ‘स्तरीकरणको महत्वपूर्ण आधार’ मानेका छन् । समाज विकासको इतिहाससंगै सामाजिक संरचना र राज्यसत्ताका स्वरुपहरुमा पनि धेरै परिवर्तनहरु हुदै आएका छन् । सत्ता, शक्ति र पद केका लागि ? किन ? अधिकार र दायित्वको अन्तरसम्बन्ध के ? यी थुप्रै प्रश्नहरुमा मान्छेको ध्यान जानु स्वभाविक हो ।
प्लेटोले भनेका छन्– “प्रबुद्ध र शिक्षित मान्छेले देशको राज्यसत्ता हाँक्नु पर्छ, अँध्यारोलाई चिरेर अरुलाई समेत आलोकित बनाउनु पर्दछ ।” तर यहाँ कसैलाई लाग्न सक्छ– ‘प्रबुद्ध वा शिक्षित (पढेलेखेका) व्यक्तिहरु औपचारिक प्रमाणपत्रको लगाम खिच्ने घोडा मात्र हुन्, यिनीहरु भौतारिरहन्छन् र दौडिरहन्छ् ।’ यो कुरा सत्य हो कि औपचारिक प्रमाणपत्रको सर्टिफिकेट मात्र बौद्धिकताको कसी अवश्य होइन । साधन मात्र हो, आफैमा साध्य होइन । बौद्धिकताको विकास गर्नु भनेको विद्यालय र कलेजमा गई अध्ययन गर्नु मात्र पर्याप्तता होइनन् । तर, अर्काेतिर बौद्धिकता आफै आउने कुरा पनि होइन । सिक्नु, जान्नु र प्राप्त गर्नु अनिवार्य छ । सिद्धार्थ गौतम त्यसै बुद्ध बनेका होइनन् न त अरु महान् व्यक्तिहरु नै । सिकाइ र ज्ञान प्राप्तिका प्रक्रिया जीवन पर्यन्त चलिरहने प्रक्रियाहरु हुन् । संस्कृतमा एउटा भनाइ छ– ‘अल्प विद्या भएङ्करी ।’ यदि कसैले सीमित ज्ञानको असीमित घमण्ड गर्छ भने त्यो आफैमा मुर्खताको द्योतक मात्र हो । ज्ञानले मान्छे कहिल्यै पनि परिपूर्ण हुँदैन । ज्ञान प्राप्तिको प्रक्रिया जीवनपर्यन्त चलिरहने प्रक्रिया हो । संसारका महान् विद्धान्हरुले जीवनभर ज्ञानको खोजीमा लामो अध्ययन अनुसन्धान गरी आफ्नो जीवन नै समर्पण गरेर प्राप्त गरेका दर्शन, चिन्तन र सिद्धान्तहरु पनि आफैमा आलोचनाबाट मुक्त छैनन् । वास्तविक ज्ञान नै सत्य हो, सत्यको खोजी नै ज्ञान प्राप्ती हो । औपचारिक, अनौपचारिक र आकस्मिकताबाट हरेक मान्छेले ज्ञान प्राप्त गरिरहेको हुन्छ । हामीले अरुलाई जसरी बुझिरहेका हुन्छौं, अरुले पनि हामीलाई त्यो भन्दा फरक तरिकाले बुझेको हुनसक्छ ।
प्रकृति र सिङ्गो पृथ्वी मानव प्रजातिको समस्त शक्ति, सम्पत्ति तथा स्फूर्तिको स्रोत र अमूलय निधि हो । यसैमा रहेर हामी आफूलाई सर्वशक्तिमान् र अजम्बरी ठान्ने गर्दछौं । दुनियाका हरेक अवयवहरुलाई आफ्नो पकटमा राखेर आफ्नो हकदावी ठान्ने हाम्रो प्रवृत्ति र चिन्तन छ । आफू राम्रो बन्नका लागि अरुलाई खुइलाउने प्रवृति दुनियाको लागि कुनै नौलो बनेको छैन । यसैमा एकअर्काका लागि हाम्रा कटु संघर्षहरु चलिरहेका हुन्छन् । यसैमा हामी रमाउनुलाई बहादुरी सम्झन्छांै । हामीलाई हाम्रो यथार्थ हैसियतको बोध गराउन प्रकृतिले पनि बारम्बार प्रकोपका अनेक तारतम्यहरुलाई चलायमान गतिमा बढाएको हुन्छ । कहिले रोग, कहिले भोक, कहिले भुकम्प, कहिले युद्ध, कहिले प्राकृतिक प्रकोप, कहिले महामारी यी ढिलोचाडो प्रकृतिले पछ्याइरहने प्रक्रियाहरु हुन् जुन मानवले सामना गर्दै र भोग्दै आइरहेको छ ।
पृथ्वीमा मानिसका स्वामित्वका स्वार्थरुपी निजी लडाइँहरु अकिञ्चनताका क्षुद्र अभिव्यक्ति मात्र हुन् । हाम्रा दानशीलतामा पनि अक्षम्य खोट विद्यामान छ । किनकी अरुको दृष्टिमा खोट देख्ने नजरले आफैमाथिको भूत नाचिरहेको उसलाई केही थाहा हुँदैन । अरुलाई लुच्चा, छुच्चा, भ्रष्टचारी, चोर, बदमासका अनेकन उपमा र उर्फले फुर्काे र कन्दानी दिंदा आफ्नो नाम, काम र व्यवहारको मलिनतालाई कुनै तराजुको तौलमा जोख्न खोज्ने शाहस रहँदैन र उदार दृष्टिले हेर्ने नयनमा पट्टी बाँधेर बुर्कुसी मारेको परिदृश्यहरु अरुको नजरले राम्ररी चिहाएको हुन्छ । सबैसंग एउटै र समान क्षमता रहँदैन । मानव क्षमता र योग्यता यदि यस्तो हुँदो हो त त्यो पनि कुनै फ्याक्ट्रिबाट उत्पादन भएको एउटै सामानको थुप्रो जस्तै हुने थियो । क्षमता जससंग छ, त्यसलाई मान्छेले भगवान् समान ठान्दछ । जवसम्म हामीमा दाबीको अहङ्कार जीवितै हुन्छ, ईश्वरीय प्रदाय ग्रहण गर्न सक्ने क्षमतासम्म पनि हामी आर्जन गर्न सक्दैनौं । मान्छे कर्मकै आधारमा देवता वा दानव के बन्नु छ बन्ने हो । त्यसैले हामीले अनुभव गरेको भयको स्रोत महामारी वा विपत्ति मात्र नभएर कर्ताभावको यही अहङ्कार हो ।
मान्छेले आफ्नो पद, प्रतिष्ठा र हैसियतको दुनियामा अजम्बरी राज जमाउन आफ्नो अजम्बरी अधिकार नभएका छायाँजस्ता वस्तु र भावको मोह र सङ्ग्रहले काँतर र कमजोर मात्र बनाएको हुँदैन, कठोर र स्वार्थी समेत बनाएको हुन्छ । वास्तवमा मानिसलाई गुमाउनका लागि र लिएर जानको लागि संसारमा केही पनि हुँदैन । न त लङ्कामा रावणले सुन उठाउन सक्यो, न त कुबेरले धन नै लिएर जान सके । त्यसैले लोभ, डाह, ईष्र्या र असीमित आशक्तिहरुले जीवनलाई क्षणिक आनन्दानुभूति दिएपनि अखिर ती तत्वहरुले जीवनको अस्तित्वलाई समाप्त पारिदिन्छन् । बरु मान्छेले सार्थक जीवनलाई अस्तित्वपूर्ण बनाउन प्रयत्न गर्यो भने प्राप्तिका लागि अगणितीय संभावनाहरु मौजुद छन् । यथार्थमा भन्दा हामी (मान्छे भित्रका मान्छे) आफूभित्रका असल, मध्यम र अधम प्रवृतिका आधारमा आफैमाथि देवत्व, मनुष्यत्व र दानवत्व आरोपण गर्दै एकअर्कामा रोस र दोष प्रकट गरिरहेका हुन्छौं । प्रत्येक व्यक्तिमा धेरथोर यी तिनै प्रवृतिहरु विद्यामान भएपनि सबै कुरा स्वीकार गर्न सबैले मान्दैनन् । जुन प्रवृति बलियो छ, हाम्रा आचार, विचार र व्यवहार पनि त्यही अनुरुपका हुने गर्दछन् । सामाजिक जीवनका हरेक सन्दर्भ र विषयहरुलाई हामीले त्यही अनुरुप बुझ्ने र व्याख्या गर्ने गर्दछौं । त्यही अनुसार सामान्यीकरण गर्ने गर्दछौं । हाम्रो बुझाई र चिन्तनको पूर्णतालाई आफ्नो अनुकुलताको पिंजडामा राखेर व्याख्या गरिरहेका हुन्छौं । तर सत्यता त्योभन्दा फरक हुन्छ । मान्छेको सत्यताको साविती र गतिशीलताको सबैभन्दा ठूलो अवरोध भनेको अरु केही नभएर उसको आफ्नै मूढ आग्रह र अहंकार हो ।
अनित्य वस्तुसंगको लिप्तता दुःखको कारण बन्दछ । लोभ, डाह, ईष्र्या, व्यभिचार, वैमनश्य, हिंसा र असत्यबाट तत्काल आफूलाई लौकिक फाइदा भए पनि यिनको तत्कालीन र दुरगामी आत्मीक दुष्प्रभाव रहिरहन्छ । यी तत्वहरुले मान्छेको मन अशान्त दूषित र कलुषित बनाउँछन् । अहंकार, आडम्बर र दोषभाले मान्छेलाई कलङ्कित र लक्ष्यहीन बनाउँछ । मान्छे आफू दुःखी बन्छ र अरुलाई पनि दुःखी बनाउँछ । जीवनका प्रत्येक पक्षमा संग्रहित हुँदै गएका यस्ता असत् भाव र प्रवृतिहरुले सत् संस्कारलाई समेत पुरै पराजय गरिदिन्छ र राज जमाउँछ । मृत्युसम्म पनि समाप्त नहुने यी संस्कार जन्मजन्मान्तरसम्म संक्रमित भएर घुमिरहन्छन् । कर्कलाको पातमा रहेको पानी अस्थायी ढिक्कामा अस्थीर रहेर पनि त्यहाँदेखि मुक्त छ, जीवनमा रहेरै, जीवनलाई प्रेम गरेरै पनि जीवनबाट अस्पर्शित रहने कलात्मक यात्रा असत्बाट सत्तर्फको गन्तव्य हो । यही मार्गबाट मान्छेले क्षणभङ्गुर मानव शरीर र चेतनालाई अखण्ड चिरन्तन मुक्तिको मार्गमा आफूलाई उभ्याउन सक्दछ । मान्छे संङ्घर्षशील प्राणी हो । विपत्तीले मानिसलाई आहत मात्र दिंदैन, जीउने कला पनि सिकाउँछ । ढुङ्गाले दिसा पुछेर हात नधुने, गोबर फालेर गन्हाउने हातसंगै खान बस्ने, कुरिलाको जराले लुगा धुने, माटो, खरानी र खलीले नुहाउनेहरु पनि आज राम्ररी साबुनपानीले हात धुन अभ्यस्त बनिसकेका छन् । कहिल्यै माक्स प्रयोग नगर्नेहरु पनि गोरुको मुखमा मओलो टाँसेजस्तै सुरक्षाको लागि बाध्यतालाई आत्मसाथ गरिरहेका छन् । त्यसैले समयको हरेक नयाँ परिस्थितिले अप्ठ्याराहरु संगै अवसरहरु पनि संगै लिएर आएको हुन्छ, जसले मान्छेलाई जिउनका लागि नयाँ कला सिकाउने गर्दछ ।
कनै एक व्यक्ति विशेषको पद र प्रतिष्ठाको लागि हरेक मान्छे भर्याङ बनिरहेका हुन्छन् । पदमा जानु पूर्व अनेकन असीमित सपनाका महलहरु खडा गरिसकेका हुन्छन् । त्यसैले त भनिन्छ– ‘संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो ।’ जनता जनार्दन भएपनि ताण्डब नृत्य हेर्ने अमूक पात्र बनेर टुलुटुलु रमिते बन्नु बाहेक अरु केही हुँदैन । झुटलाई सयौं पटक दाहोरायो भने सत्य हुन्छ । तर, यो सतही क्षणिक हुन्छ । त्यसैले त मान्छेहरु सफेद झुटको खेती गर्न रुचाउँछन् । असत्यको राज जमेको ठाउँमा कहिलेकाहीं सत्य पनि निरीह बन्छ । ग्यालिलियोले पृथ्वीले सूर्यलाई घुम्छ भन्दा जेल जानु परेको, सोक्रेटस्लाई सत्य बोल्दा विषपान गराई मृत्युदण्ड दिनु झुट कै परिणाम र परिणति थिए । असत्य र झुटको साम्राज्य क्षणिक हुन्छ, अन्ततः विजय सत्यकै हुन्छ । कुनै दिन विश्वका क्रुर शासक हिटलर र मुसोलोनी जस्ता शासकहरु पनि जनताको अभिमत लिएर पार्लिमेन्टमा गएका थिए । तर, अन्ततः अवसानको विन्दुमा विलिन भए । लोकतान्त्रिक शासन व्यवस्थामा संख्याको जोडघटाउले सत्ता र पदलाई क्षणिक बल पुराए पनि त्यही मात्र अचुक हतियार अवश्य होइन् ।
वि.सं. २००७ सालमा प्रजातन्त्र आउँदा अभूतपुर्ण प्राप्ति संझियौं । पञ्चायती व्यवस्थालाई फुलोस् फलोस् भन्दै कुर्लेर राजाको जयजयकार गर्ने र सुनको असर्फी राखेर पाउ ढोग्ने नेताहरु अहिलेकै संसदमा अझै जिउँदै छन् । २०४६ सालमा पञ्चायती व्यवस्थालाई फाल्दा अब यो भन्दा ठूलो प्रजातन्त्र कुनै छैन भन्ने देख्यौं । त्यसपछि दोस्रो जनआन्दोलनबाट झण्डै २ सय ४० वर्षको राजतन्त्र समाप्त गर्दा त झनै योभन्दा अरु कुनै स्वतन्त्रता छैन भन्ठानियो । तर अहिले आउँदासम्म पद पेरियो, पात्र फेरिए तर प्रवृत्ति फेरिएन । राजा गएर राष्ट्रपति आएपनि चिन्तन उस्तै रह्यो, प्रवृत्ति उस्तै भयो । टाउकाहरु फेरिए तर मस्तिष्का गिर्खाहरुमा पुरातन चिन्तनले राज जमाइरह्यो । त्यसैले त वर्षाैअघि जातीय विभेदको कानुनी रुपमा अन्त्य गरेपनि अहिलेसम्म अवस्था उस्तै छ । मान्छेको चिन्तन र प्रवृति फेरिएको छैन । आज भारतको आशीर्वादमा संसद्को ढोकाभित्र छिरेका एकाद पात्रहरुले कसरी राष्ट्रियतामाथि धावा बोले ? यस्ता मान्छेलाई इमान्दार नेताको रुपमा पाल्ने र संरक्षण गर्ने पार्टी कति राष्ट्रवादी होला ? यी जस्ता मान्छे सच्चा देशभक्त हुने ? हिजोका दिनमा बाहिर रहँदा सरकारले राम्रो गरेन, नेताले खाए, सके, भ्रष्टाचार भयो भन्नेहरु आज राज्यकै सम्पत्ति दोहन गर्नमा लिप्त छन् । समाजवाद र साम्यवादको सपना बोकेर जनतालाई बलिको बोको बनाउनेहरु आज सुकिला मुकिला बनेर आलिसान महलमा छन् र हामी अझै पनि तीनकै भजन गाउँदै रमिते बन्न रुचाउँछौं । अनि हामी निरीह जनता सडकमा फेरि पनि कराउनु पर्ने– हाम्रो अधिकार खाई ? समानता खोई ? स्वतन्त्रता खोई ? न्याय खोई ? यो कस्तो लोकतन्त्र, कस्तो गणतन्त्र ?? हामी आफ्नो हठ्मा सतीसाल भएर उभिन्छौं तर अरुको विचारका मुनाहरुलाई बन्चरो बनेर ढालिदिन्छौं । अनि, प्लेटोले भनेजस्तै ‘एलिगोरीे केभ’ मा पटकथाको पात्र बनेर कार्यव्यापार गर्दछौं । हो, यही हो हाम्रो चिन्तन र व्यवहारको सामिप्य दुरी ।
चिन्तनमा खोट हुनेले अरुको मात्र दोष देख्छ, खोट भेट्छ । आफ्नो कालो दृष्टिलाई दर्शन र अरुको विचारलाई बेकम्मा सम्झनेहरु आफै मस्तिष्का विरामी पात्र मात्र हुन् । यिनीहरुले न त आफ्नो खोट देख्छन् न त अरुको गुण भेट्छन् । मदर टेरिसाको प्रसिद्ध भनाइ छ– “तिमी कति काम गर्छाै त्यो सफलताको लागि महत्वपूर्ण कुरा होइन, तिमी आफ्नो कामलाई कति प्रेमपूर्ण र परिणाममुखी बनाउँछौ त्यही सफलताको मापदण्ड हो ।” यस दुनियामा हामीलाई बर्बाद गर्ने हामी नै हुन्छौं किनकि त्यो ताकत हरुमा हुँदैन । हाम्रो नाजायज इच्छाले हाम्रै जायज इच्छाहरुलाई समाप्त पारिदिन्छ । अतः जायज इच्छा जोगाउन नाजायज इच्छालाई दमन गर्न सक्ने इच्छा शक्ति र सामार्थको विकास गर्न सक्नु नै प्रगति र सफलताको महत्वपूर्ण कडी हो । कसैले काम गर्नु मात्र ठूलो कुरा होइन । उसको कामको प्रभाव र परिणामको लेखाजोखा सम्बन्धित सरोकारवालाले गर्न स्वभाविक रुपमा पाउँछ । विश्वका महान भनिने व्यक्तिहरु कामले नै महान बनेका हुन् । नकरात्मक भावले होइन, सकारात्मक आलोचनाले अरुलाई पृष्ठपोषण र बल दिनु पर्दछ, न कि खुट्टा तान्ने र खुइलाउने । हरेक व्यक्तिमा सकारात्मक र नकारात्मक दुबै गुण रहेका हुन्छन् । कमजोरी र गल्ती नगर्ने मान्छे दुनियामा हुँदैन ।
हाम्रा आँखाले अरुलाई मात्र देख्छ तर आफूलाई देख्दैन । सर्पलाई आफ्नो विषको थैलो बोकेको थाहा हुँदैन । न त मृगतृष्णामा भौतारिने कस्तुरीले नै सुगन्ध भेट्न सक्छ । खराब चिन्तन भएकाले अरुलाई मात्र खराब देख्छ तर आफ्नो दोष भेट्दैन । न त कहिल्यै आफूले आफैलाई स्वमूल्यांकन नै गर्न सक्छ । गुण र अवगुण विज्ञानको मोलिक्युल्सको इलेक्ट्रोन र प्रोटोन जस्तै हुन् । गल्ती नगर्ने मान्छे दुनियामा हुँदैन । गल्ती सुधार्ने मान्छे महान् हो भने बारम्बार गल्ती दोहोराउने मान्छे मुर्ख हो । खोक्रो राष्ट्रवादले देश र जनताको मुहार फेरिदैन । बरु पुर्खाको बलिदानी र रगतको कसमले कर्तव्यको पहाड चढ्ने अद्भूत जिम्मेवारी समयले हामीलाई सुम्पिदिएको छ । विपत् हाम्रो शत्रु मात्र होइन, संघर्ष र शक्तिको स्रोत पनि हो । न्याय मरेको देशमा अन्यायकै राज हुन्छ । सत्य पनि मुर्झाउँछ । समानता, स्वतन्त्रता र न्याय बन्द कोठरीमा कैद बन्छन् । तर पनि एक दिन जीत सत्यकै हुन्छ ।
क्रोध, घृणा र ईष्र्याले संसारको कुनै समस्या समाधान हुँदैन । हामीले क्षुद्रता होइन, भद्रता र जिम्मेवारीको भावलाई आत्मसाथ गरौं । आफ्ना आग्रह, ईष्र्या र क्रोधलाई आफ्नो उचाईभन्दा तल्लो तहमा झरेर अभिव्यक्ति गर्ने अधिकार सायद हामी कसैलाई छुट छैन । यसले न त आफ्नो पद र कद नै वढाउँछ न त अरुलाई नै भलो गर्छ । अरुप्रति प्रश्न तेर्साइ रहँदा अरुले पनि आफूलाई प्रश्न तेर्साउने त्यत्तिकै अधिकार छ । पद अजम्बरी हुँदैन, न त मान्छे नै अजम्बरी छ । हाम्रो चिन्तन, व्यवहार र प्रवृतिले अरुलाई हेर्ने मात्र होइन, आफूले पनि आफैलाई बुझ्ने प्रयास गरौं । जिम्मेवारीलाई सबैले आत्मसाथ गरौं, विपत्को बेला फुटेर होइन, जुटेर अघि बढौं ।