असंगठित मजदुरको सहारा बन्यो नगरपालिका

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाले असंगठित क्षेत्रमा काम गर्दा दुर्घटनामा परी अंग भंग भएका र ज्यान गुमाएकालाई नगद सहयोग गर्न थालेको छ ।

संगठित रुपमा कार्य गर्ने मजदुरलाई सरकार अथवा व्यवसायीले समस्यामा परेमा सहयोग गर्ने भए पनि असंगठित रुपमा काम गर्ने मजदुरलाई दुर्घटनमा परेमा केही राहत नभएको भन्दै नगरपालिकाले नगर क्षेत्र भित्र असंगठित रुपमा खटिएर समस्यामा परेका मजदुरहरु सहारा बन्न थालेको हो ।

असंगठित रुपमा विभिन्न क्षेत्रको मजदुरीमा खटिएका कामदारलाई समस्यामा पर्दा कसैले नहेर्ने भन्दै नगरपालिका असंगठित मजदुरको समस्याको सारथी बन्न थालेको हो । बागलुङ नगरपालिकामा निर्वाचित भएर आएको पहिलो कार्यपालका वैठकमा गरेको निर्णय तीन वर्षमा कार्यान्वयनमा आएको छ । नगरपालिकाले असंगठित क्षेत्रमा काम गर्दै गर्दा दुर्घटनामा परी घाइते भएका, अंगभंग भएका मजदुर तथा मृत्युभएका मजदुरको परिवारलाई राहत दिने निर्णय भएपनि हाल आएर मात्र निर्णय अनुसार राहत माग भएकाले असंगठिकत क्षेत्रका मजदुरहरुलाई राहत दिन थालिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाले शुक्रबार असंगठित क्षेत्रमा काम गर्दै गर्दा दुर्घटनामा परेर घाइते दुई र एक जना मृत्यु भएकाको परिवारलाई नगद रकम सहयोग गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । असंगठित क्षेत्रमा काम गर्दा समस्यामा परेका तीन परिवारलार्य बागलुङ नगरपालिकाले रु. एक लाख ८० हजार नगद हस्तान्तण गरेको हो ।

नगरपालिकाले बागलुङ नगरपालिका–७ तितौरेकी पुष्पा कार्कीलाई एक लाख, नगरपालिकाको ९ नम्बर वडाको तित्याङका टिकादेवी शर्मा र सोही स्थानको गुरुङडाँडाका अमरबहादुर थापालाई ४० हजार नगद प्रदान गरेको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । राहत पाउने पुष्पा कार्कीका श्रीमान गत फागुन १३ गते रुख काट्ने मजदुरी गर्न जाँदा रुखले च्यापेर मृत्यु भएको थियो । घर मुलिको मृत्यु भए पछि परिवारका आर्थिक संकट बढे पछि दैनिक जीवन निर्वाहमा समस्या भएको थियो । कार्कीको परिवारमा दुई छोरा र एक छोरी रहेका छन् । नगरपालिकाले दुखको घाउमा मलम लगाएको उहाँको प्रतिकृया थियो ।

यस्तै टिकादेवी शर्माका श्रीमान शिवचन्द्र शर्मा फागुन १० गते दाउरा काट्न जाने क्रममा लडेर दुवै खुट्टा फ्याक्चर भएको थियो । घरमुली विरामी परेर थला परे पछि शर्मा परिवारमा पनि दैनिक जीवन यापनमा संकट सृजना भयो । कृषि पेसामा संलग्न शर्मा परिवारले तरकारी तथा दुध विक्रीबाट परिवार चल्दै आएको थियो । “घरमा आम्दानी गर्ने मुख्य मान्छे चार थला पर्दा दैनकी चलाउनै समस्या भएको छ” शर्माले भन्नुभयो “ श्रीमानकै उपचारमा घरको चल–अचल सम्पती सकियो, अवत जीवन निर्वाह गर्न नै समस्या हुँनेभयो ।”

यस्तै राहत प्राप्त गर्ने अमरबहादुर थापा दुई वर्ष अघि सिगानाको सृजना फर्निचरमा मुढा चिर्ने क्रममा दुर्घटना हुँदा बायाँ हात काटिएको थियो । गरी खाने हात नै काटिए पछि थापालाई मजदुरीमा समस्या भएको छ । “असंगठित क्षेत्रका मजदुरलाई कसैले नहेर्ने भन्दै नगरपालिकाले सामान्य भएपनि सहयोग गर्न थालेका छौ” नगर प्रमुख पौडेलले भन्नुभयो “असंगठित क्षेत्रमा दैनिक जीवन यापन चलाउने मजदुरको सारथी बन्ने प्रयास मात्रै हो ।” असंगठित क्षेत्रमा काम गर्दा भएको समस्यालाई स्थानीय सरकारले सम्बोधन गरेको उहाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *