कोरोना भयावह बीच सुखद संकेत

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९) को महामारीले भयग्रस्त र अनिश्चितताको भुमरीमा रहिरहेका बेला शनिवार दुई सुखद खबर सुनिए र देखिए । यसले बिद्यमान कोरोना संक्रमणको बढ्दो दर र जोखिममा केहि सकारात्मक संकेत देखिएको छ । नेपालमा नयाँ संक्रमितको संख्या दुई अंकमा झरेको छ भने सक्रिय संक्रमित भन्दा निको हुने संख्या अधिक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ४८ नमुना परीक्षण गर्दा ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । साढे १ महिनापछि नेपालमा कोरोना संक्रमितको संख्या पहिलो पटक दुई अंकमा झरेको तथ्यांक सार्वजनिक छ । माघ ९ मा पहिलो र चैत १० मा दोस्रो संक्रमित भेटिएको नेपालमा जेठ १३ सम्म दैनिक थपिएका नयाँ संक्रमितको संख्या २ अंकमा सिमित थियो । तर जेठ १४ गतेदेखि संक्रमितको संख्या १ सय बढि नाघेको थियो । त्यस यता बल्ल ब्रेक लागेको छ र संक्रमण दर पुनः दुई अंकमा झरेको छ ।

यद्यपी, कोरोना संख्या घटेको छ भन्दैमा जोखिम घट्यो भन्ने निष्कर्षमा हामी पुग्ने कि नपुग्ने ? यो विषय र वहस भने संवेदनशिल मोडमै छ । जनस्वास्थ्य विज्ञहरुले दैनिक थपिने संक्रमितको संख्या घट्दैमा जोखिम ट¥यो भन्न नमिल्ने बताएका छन् । किनकी अहिलेसम्म भारत तथा तेस्रो मुलुकबाट आएर क्वारेन्टिनमा बसेकाहरुको परीक्षण गरिएको थियो । जुन संख्या क्वारेन्टिनमा पनि घट्दो क्रममा छ भने परीक्षणको दायरा पनि घटेको छ । हामीकहाँ बिभिन्न स्थानमा अहिले समुदाय स्तरमा पनि कोरोना संक्रमित भेटिएका छन् । त्यो संकेतका आधारमा समुदाय स्तरमा व्यापक परीक्षण नै हुन सकेको छैन । समुदाय स्तरमा परीक्षणको दायरा बढाउदा संक्रमितको संख्या फेरि बढ्न सक्ने सम्भावना जिवितै छ । यसो भन्दै गर्दा पनि पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरहरुबाट ४ सय ३१ जना निको भएर डिस्चार्ज भएका छन् । यससँगै अहिलेसम्म निको भएर डिस्चार्ज हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ । जब कि देशभरका आइसोलेसन सेन्टरमा ८ हजार २ सय ३९ संक्रमित छन् ।

कोरोना भयावहका बीच संक्रमण दर घट्नु र निको हुने क्रम उल्लेख्य संख्यामा बढ्नु हाम्रा लागि सुखद बिषय हो । यद्यपी यो खबरले हामीलाई ठुलो राहत र उत्साहित तुल्याए पनि ढुक्क हुने अवस्था भने अझै छैन । यसमा हाम्रा सुुरक्षा सचेतता अबका दिनमा अझै बढि अपनाउनु पर्ने देखिएको छ । चैत्र ११ देखि जारी लकडाउन खुकुलो बनाउदै लगिएको छ । केहि दिन अघिदेखि जिल्ला भित्र सार्वजनिक सवारी साधनहरु समेत सञ्चालन गर्न थालिए सँगै अब सामुहिक यात्रा र चहल पहल अझ बढ्ने निश्चित छ । यसले जोखिम पनि बढाउनेछ । अतः कोरोनाबाट आफू पनि जोगिने र अरूलाई पनि जोगाउने गरि स्वास्थ्यका मापदण्डको अनिवार्य रुपमा पालना गर्न गराउन लागौ । अवश्य फेरि कठिन संकट र सकस पछि सुखद दिनहरु छिट्टै फिर्नेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *