नारायण पौडेल
माइक्रो चालक
कोरोनाका कारण अझै पनि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ । जसका कारण बेरोजगार भएका छौ हामी चालकहरु । सवै भन्दा मारमा हामी परेका छौ । हुन त अहिले सवैतिर समस्यानै समस्या छ । तर, हामीहरु काम नगरी बसेको आज १ सय १४ दिन भयो । सरकारले हामीहरुका लागी केही पनि गरेको छैन । अहिले त झन् बजारमा चहल पहल शुरु भएको छ । लकडाउन पनि छैन । सवै व्यवसायीहरु आफ्नो काममा फर्किसक्नु भएको छ । तर, हामीले गर्ने कामको अझै टुङ्गो लागेको छैन । घरमा परिवार हुनुहुन्छ । मेरो बेनी बजारमा सानो किराना पसल छ । त्यो पनि लकडाउन अवधिभर बन्द भयो । अहिले त्यही पसलमा बसेर दिन काटिराखेको छु । तर, म जस्ता हजारै चालकहरुलाई अहिले आर्थिक समस्या छ । बिहान बेलुका के खाने भन्ने तनाबमै दिन रात बितेका छन् । हामी यातायात चालकहरुले आफ्ना मालिकहरु सँग पैसा माग्ने बातावरण पनि रहेको छैन । उहाँहरुले हाम्रा लागी नगरेको पनि हैन । तर, उहाँहरुलाई पनि यातायात सञ्चालनमा ल्याउन नपाउदा आफ्नै समस्याले अप्ठ्यारोमा पर्नु भएको छ । आफ्नो घर पनि छैन । भाडा कसरी तिर्ने ? पानी, बिजुलीको पैसा कसरी तिर्ने ? खान के खाने, छोराछोरीलाई के खुवाउने भन्ने सोच्दा सोच्दै मन आत्तिन्छ । हामी जस्ताले कसैलाई भने पनि सुनुवाई कहाँ हुन्छ र ? सरकारले पनि हाम्रो लागी केही गरेको छैन ।
म ५ वर्ष दुवैमा बसेर आएको हुँ । म पहिला १६ बर्ष बस चलाएको हुँ । नेपालमै तर म विदेशिनु प¥यो बाध्यताले । तर, म केही गर्छु भनेर नेपाल फर्किएको थिए र माइक्रो चलाउन सुरु गरेको थिए लकडाउन भयो । अहिले तनाव मात्रै भएको छ । आम्दानी हुने सवै ठाउँ बन्दा भएका छन् । मन त कहाँ हुन्छ र आफ्नो देश छोडेर अर्काको देशमा जान । तर यो हाम्रो बाध्यता हो । अब पनि त्यस्तै अवस्था आएमा फेरी जान पर्छ होला । यहाँ गरेको दुःख उठ्दैन । बिहान बेलुका खान पुग्दैन । त्यसकारणले बिदेश जान बाध्य हुन्छन् हामी जस्ता युवाहरु । यस विषयमा सरकारको गम्भीर ध्यान जान आवश्यक छ ।
निरज क्षेत्री
चालक
कोरोना र लकडाउनले धेरै समस्या भयो हामीलाई । ऋण लिएर पालेको छु घर परिवार । अब त ऋण पनि पत्याउन छोडेका छन् । कोरोनाले गर्दा हामीहरुले काम गर्न पनि पाएका छैनौ । हामी चालकको समस्या धेरै छ । तर, समस्या बुझिदिने कोही छैनन् । खानका लागी कमाउनु पर्ने तर कमाई गर्ने भाडो नै बन्द गरेर ग्यारेजमा राखिएको छ ।
अहिले सबै सवारी चालकहरु समस्यामा परेका छन् । मालिकले तलब दिदैनन् । दिउन् पनि कसरी हामीहरु महिनावारी तलबमा काम गर्ने होइन । हामीले जति गाडी चलाउँछम्, त्यही अनुसार पैसा पाउने व्यवस्था हुन्छ । त्यसकारणले अहिले काम पनि छैन, दाम पनि छैन । अहिले सम्म हामीहरुलाई सरकारले केही गरेको छैन । सरकारको ध्यान जानु पर्दछ हाम्रो समस्यामा । ऋण लिएर घरमा बच्चा श्रीमती पालेको छु । घर भाडा तिर्नु पर्नेछ । काम कहिले हो ? कहिले खोल्ने अझै टुङ्गो लागेको छैन । बजार सबै खोलिसकेका छन् । व्यवसायीहरुले धमाधम आफ्ना काम गरेका छन् । मानिसहरु पनि बाइक, ट्याक्सीमा, रातो नम्बर प्लेट भएको गाडीमा ओहोर दोहोर गरेका छन् । तर बस, माइक्रो चालक दिन रात सुतेर दिन कटाएका छौ । मैले १५ वर्ष भयो यो गाडी चलाउन थालेको । अहिले सम्म यस्तो समस्या परेको थिएन । राम्रो संग परिवार पालेको थिए । अहिले गाह्रो भएको छ । लकडाउन पहिला मेरो कमाई ४० हजार थियो तर अहिले कमाई नभएर ऋण लिनु परेको छ ।
अहिलेसम्म अरु केही काम पनि गरेको छैन । सुरुबाटै खलासी गरेर चालक भएको हुँ । त्यस्तो अरु कुनै सिप पनि छैन सवारी चलाउन नपाउदा सम्म अरु केही गर्छु भन्नालाई । हाम्रो समस्या बुझनका लागी फोन गरिदिएकोमा तपाईलाई धन्यबाद दिन चाहान्छु । पहिलो पटक हाम्रो समस्या बुझन सुन्न पनि फोन आउदो रहेछ भन्ने थाहा भयो । तपाईहरुले सरकार सम्म हाम्रो कुरा पु¥याई दिनु होला । म मात्र एक जनाको समस्या होइन यो । हामी हजारौ चालकको समस्या हो । त्यसकारणले सरकारले केही गर्दिए हामीलाई राहत महुशुस हुने थियो । गाह्रो छ म एक जनाको कमाईले ४ जना पालिएका थियौ तर अहिलेत मेरो कमाई पनि रोकीएको छ । अब व्यवस्थित गरेर सचेत बनाउदै सवारी सञ्चालन गर्न दिनुपर्दछ ।
राजकुमार सिंह
बस चालक
म अहिले हेटौडा छु । मैले बागलुङ काठमाण्डौ बस चलाउछु । तर, अहिले लकडाउन सुरु भएर परिवारलाई भेट्न घर फर्किएको हु । लकडाउनले गर्दा हामीहरुको रोजी रोटी आउने ठाउँ बन्द भएको छ । घरमा खेतिपाती गरेर बसेको छु । हिजो मात्रै मेरो एक जना साथीले मलाई फोन गरेर भन्नुभयो–म धेरै समस्यामा परे । घरभाडा दिनु पर्ने भयो । पैसा नभएर खाना खाने समेत पैसा भएन, के गर्ने होला ? मैले भने म पनि अहिले समस्यामा छु । म संग भएको भए दिने थिए भनेर जवाफ फर्काए । मनमा नराम्रो लाग्यो साथीलाई सहयोग गर्न नपाउँदा । म त घरमा आएर बसेको छु । खेतिपाती गरेर दिन बिताएको छु । तर, धेरै जना यस्ता साथी हुनुहुन्छ, जो कोठा भाडामा बस्ने र घर नभएको । उहाँहरुलाई समस्यानै समस्या छ । के खाने, के लगाउने, घर भाडा के गरी तिर्ने भन्ने समस्याले ग्रस्त छन् । हामीले कस्लाई समस्या सुनाउने । सरकारको अहिले हाम्रो समस्याको बारेमा ध्यान जान सकेको छैन । आर्थिक समस्या मात्र होइन, यो समयमा हामी चालकहरुलाई मानसिक तनाव पनि भएको छ । परिवारमा कुराकानी गरेर बस्न मन लाग्दैन । स–साना कुरामा रिस उठ्ने हुन्छ । कसरी समस्याको समाधान गर्ने भनेर सोच्दा समस्याको समाधान पाउनै सकेको छैन मैले । लामो समय भइसक्यो हामी घरमा बसेको तर यस विषयमा सरोकारवालाको ध्यान पुगेको छैन । अब कहिलेबाट सञ्चालन हुन्छ सवारी साधन भन्ने पनि थाहा छैन । हामीले के गर्ने ? के नगर्ने भनेर अन्यैलमा परेका छौ ।
म १० वर्ष भयो यो पेशामा लागेको । आफ्नै देशमा बसेर केही गर्नु पर्दछ भनेर विदेश नगएको म । यस्तै समस्या बढ्दै गयो भने ऋण लाग्दछ । समस्या बढ्छ र विदेशिने बाहेक अरु बिकल्प केहि रहदैन । धेरै ढिला भयो, अब पनि सरकारको हाम्रो समस्यामा ध्यान गएन भने हामीले अरु विकल्प खोज्नु पर्दछ । त्यसकारणले हाम्रो समस्यामा सरकारको ध्यान जान्छ भन्ने आशा गरेका छौ हामीले ।
प्रस्तुतिः साधना पन्त
यो देश मेरो हैन यो देश साच्चै मेरो हैन यदि मेरो देश हुन्थ्याे भने आज म पनि मेरो देश भनेर मेरो देश मा बस्नुपऊत्यो तर आज म यो मरुभुमी को 50/55 डिक्री को घाम मा बाध्य भए र
बस्नु परेको छु दुःख लाई नै साथी बनाएको छु पुरानहुने सपना सजाएर छु घरको बाध्यताले गर्दा आज म खाडी मुलुकमै हराए को छु ।।।।। यो मेरो पीडा कसले बुझिदिने ।।। राम्रो कन
मुख आँखा सबै भयर पनि नसुने र नदेख्ने सरकार