–सविना परियार
आमाले एक्कासी मलाइ पर तिर धकेल्दै भन्नूभयो–सायद तिमीले धनीको घरमा जन्म लिएको भए आज कति सुख सयलमा हुर्कने थियौ । कति अभागी म अनि तिमी । अहिलेसम्म पनि चप्पल लगाएकी छैन । र तिमी पनि मैले जस्तै खाली खुट्टा हिँड्नु पर्ने ।
मनलाई सान्त्वना दिदै आफ्नाहरुले भन्ने गर्छन् । पख न केही दिन तिम्रा इच्छाहरु पूरा गरि दिउला । होइन, साँच्चिकै पूरा गर्ने हुन् कि केबल झुटा आश्वासनमा मात्र सिमित राख्ने हुन् । भर पनि छैन आजकाल । लाग्छ कुनै बोली बचन सुन्दा त्यो खुशी केबल मेरै लागि हो । आफ्ना मान्छे पनि कहिलेकाही छड्के नजरको घेरामा पर्ने गर्छन् । सबै मान्छेको मन अनि धन बराबर हुन सक्ने भए सायद रिस र डाहा भन्ने कुनै शब्दै हँुदैनथ्यो । म उसको बराबरीमा पुग्न सक्छु भन्ने सोँच अनि प्रतिस्पर्धाको नाम नै रहदैनथ्यो । जित अनि बौद्धिक क्षमताको अभिबृद्धि गराउन अपरिहार्य बिषय छ भने को भन्दा को कम भन्दै अगाडि बढ्नु हरेक मानिसको स्वभाव हो । आफ्नै बेस्ट फ्रेन्ड किन नहोस् ? आफुको भन्दा उपल्लो दर्जा हासिल गर्दै हजारौं मान्छेको भीडमा स्टेज हाँकेको देख्दा आफुलाई पनि ऊ भन्दा अलि माथी पुगौ जस्तो लाग्दो रहेछ । यो प्रायः सबै मानिसको स्वभाव भित्र पनि पर्छ होला । अञ्जान मान्छे सँग आफुलाई तुलना गर्दैन मान्छे । जो आफू सँग छ नि, हो त्यही मान्छे सँग बढी स्मार्ट बन्न खोज्छ मान्छे । यहाँ धनको मैलो टाँसेर बसेका मान्छेको काला कर्तुत देख्दा मानव नभएर दानवको रुप देख्छु मैले । मान्छे स्वयम् आफैले त्यो कागजको त्यति धेरै गुणगान गाउँछ, जो एउटा सलाइको काटिको भरमा अन्तिममा जलेर नष्ट हुन्छ । फेरि त्यही खरानीलाई पछुतो मान्दै कालो धन्दा गर्न सुरु गर्छ । उसको मस्तिष्क यति कालो भयो कि आफ्नै छाया देखि पनि डराउन थालिसक्यो । यो धन भन्ने शब्द कस्तो अनि यो मन भन्ने शब्द पनि कस्तो ? कालो मन भएकाले धनलाई संसार ठान्छन् अनि सेतो मन भएकाले धनलाई कालो कर्तुत ठान्छन् । त्यो मान्छे कस्तो अनि त्यो मन कस्तो ? अचम्म लाग्छ, मलाइ यो जिन्दगी देख्दा । एकातर्फ सम्झन्छु म पनि त गरिब छु । कोट पाइन्ट लागाएर आउने ब्यक्तीहरुको अगाडि पर्दा कतै दाग लाग्ने त होइन ? कतै मलाइ कुरुपताको संज्ञा दिने त होइनन् ? सम्झन्छु ती आफ्नै बिगतका पलहरु । अनि रुमलिन्छु आफ्नै बास्तविकताहरुमा ।
मेरी आमा जहिले दुःख, कष्ट गरेर मलाई अन्नको दाना खुवाउनका लागि हिउँ नै हिउँले ढाकिएको ठाउँ जलजलामा जानु हुन्थ्यो । अनि बिरुवा भने जंगली बिरुवा लिएर आउनु हुन्थ्यो । मैले सोच्ने गर्थे मेरी आमा आखिर किन जानू हुन्छ ? त्यही पनि २÷३ दिनको बाटो चप्पलनै नलगाई । एकदिन मेरो मनमा जिज्ञासा पलायो । अनि आमालाइ धेरै प्रश्न सोध्ने बिचार गरे । आमा सँग मेरो लागि समय थिएन । बिहान बेलुका आफ्नै काममा ब्यस्त आमाले मेरो कुरा सुन्ने फुर्सद नै हुदैन्थ्यो । त्यही पनि मेरो मनको बाँधलाई फुटाउने कोशिस गरे । आमाको नजिक गएर भने–आमा किन हजुर यति धेरै दुःख कष्ट गर्नु हुन्छ ? सधै मेरै साथमा बस्नु होस् न । हजुर सँग मन भरिका बात नगरेको पनि धेरै भयो आमा । मैले गहभरी आँसु लिदै वेदना सुनाए । अनि आमालाई अँगालो हाल्दै धरधरी रुन थाले । आँशु जति जति झर्दै थिए,आमाका पनि आँखा रसाएका मात्र थिए । आँशु केबल खस्न बाकी थियो । आमाले निराश हुँदै भन्न थाल्नु भयो । बाबू म गरिब मेरो पुर्खा गरिब अनि मेरो सन्तान गरिब । आफ्नो जीवन चलाउनका लागि यहाँ पैसा चाहिदो रहेछ । पैसाले साथीभाइ इष्टमित्र अनि सबै थोक किन्न सकिदो रहेछ । तिम्रो बाबा मुग्लान जानू भएको पनि आज ५ वर्ष भइसक्यो । अहिले सम्म कुनै खबरनै आको छैन । एउटी बेसहारा महिला दुई छाक आफ्नो सन्तानलाई खुवाउनका लागि दुःख गर्नुपर्छ । यदि मैले काम गरिन भने हामी त भोकै मरिन्छ नि बाबू । फेरि हाम्रो लागि कहाँबाट कस्को मन रसाउछ र ? आमा एकाएक बिलौना पोख्न थाल्नु भयो । म एकटक भएर सुनिरहेको थिए । आमाले एक्कासी मलाइ पर तिर धकेल्दै भन्नूभयो–सायद तिमीले धनीको घरमा जन्म लिएको भए आज कति सुख सयलमा हुर्कने थियौ । कति अभागी म अनि तिमी । अहिले सम्म पनि चप्पल लगाएकी छैन । र तिमी पनि मैले जस्तै खाली खुट्टा हिँड्नु पर्ने । म बच्चै भए पनि अलि ज्ञानी थिए । बिद्यालयको घेरा भित्र रहेर अध्ययन नगरे पनि मलाई जिन्दगीले धेरै पाठ सिकाइ सकेको थियो । म सँग सँगै जन्म लिएका मेरा दौतरीहरु नियमित मेरो घरको तल्लो बाटो हुँदै स्कुल जाने आउने गर्थे । म भने पिढीको डिलमा बसेर टुलुटुलु हेरिरहन्थे । मेरो मनमा पनि स्कुल जाने अनि साथीहरु सँगै पढ्ने ठूलो रहर थियो । आमा मलाइ पनि स्कुलमा भर्ना गरिदिनुहोस् न भनु भने हाम्रो त्यति धेरै पैसा पनि छैन । फेरि आमाको मन कसरी दुखाउ मैले । मनका इच्छाहरुलाई मन भित्रै दबाएर राख्नु पर्ने मेरो बाध्यता थियो ।
एकदिन म आफ्नै पिढिको छेउमा खेलिरहेको थिए । आमाले पनि ढिकीमा धान कुट्दै हुनुहुन्थ्यो । स्कुल जाने केटाकेटिको लहर धेरै ठूलो थियो । उनीहरुलाइ मैले एकनासले हेरिरहेको थिए । एक जना केटा मेरो नजिक आएर भन्यो–के हेरेको यसरी तलाइ पनि पढ्न मन लाग्छ हो ? तेरी आमालाई भन्न स्कुलमा भर्ना गरिदिनु भनेर । स्कुलमा पढ्ने खेल्ने अनि राम्रो लुगा चप्पल लगाउन त यी हामी जस्तै हुने खाने परिवारको घरमा जन्म लिनुपर्छ । पढ्न, लेख्न अनि रमाउनका लागि त सम्पन्न परिवारको घरमा रहनु पर्छ । भाग्यमै लेखेर आउनु पर्छ । मलाई यस्तै विभिन्न कुरामा घमण्ड अनि गरिब भएर जन्मनुमा धिक्कार गर्दै थियो । मैले उसको कुरामा दुःख मानिन किनकी म आफै गरिब छु । आखिर भाग्यमा जे छ । आफु सँग जे जति छ, त्यतिकैमा रमाउन सक्नु पर्छ भन्ने मेरो धाराणा थियो । मेरो आमाले पनि त्यो केटाले मलाई गाली गरेको हेरेरै बस्नु भएको थियो । केही वाक्य नै फुटेन मेरो अनि आमाको मुखबाट । म आमा भए तर्फ आए अनि फेरी रुन थाले । के गर्नु छोरी हामी गरिब चाहेर पनि धनीको बराबरीमा आउन सक्दैनौ । यो हाम्रो दुर्भाग्य हो । त्यो रात आमा छोरीको दुखेसोमै वित्यो ।
मेरी आमाले सदाको जस्तै भोलीपल्ट पनि दिनचर्या शुरु गर्नु भो । म भने ढुङ्गा भएको ठाउमा खेलिरहेको थिए । मेरो मनमा एक्कासी केही गर्नु पर्छ भन्ने सोच आयो । आखिर धनी पनि त त्यसै धनी भएका होइनन् नि । उनीहरुले पनि त धेरै दुःख कष्ट गरेर नै धन कमाएका होलान नि । त्यसै बेलामा म केहि आइडिया सोँच्नका लागि एकान्त ठाउँ खोज्न थाले अनि पुगे आफ्नै गन्तव्य तर्फ । मेरो घरको माथिल्लो बनमा एउटा फुलको बगान थियो । म त्यही गए । अनि सोच्न थाले । के गरेर धन कमाउने होला ? कसरी आफु गरिबीबाट मुक्त हुने होला ? मन मनै धेरै कुराहरु खेलाउन थाले । अनि आडैमा रहेको फुल झरेर मेरो नजिकै आसिन हुन पुग्यो । फेरि भगवानले मलाई एक्कासी जुक्ति दिए जस्तो लाग्यो । धेरै समयको सोचाई पछि त्यही फुल बजारमा लगेर बेच्ने निर्णय गरे । भोली विहानको सुर्योदय सँगै म पनि निद्राबाट ब्युझिए । आमा म बजार तिर जान्छु न । मेलै केहि फुल टिपेर ल्याएको छु । त्यही बेचेर केही खर्च जुट्छ कि ? आमाले खुशी हँुदै भन्नुभयो–मेरो छोरी कति ज्ञानी, बुद्दिमानी छौ । मेरो दुःख देख्न, सहन सक्दैनौ । मलाई थाहा छ–बाबु राम्रो सँग मिहिनेत र परिश्रम गरेर आफ्नो काम गर्नु । मैले पनि आमाको कुरालाई अनुशरण गर्दै लागे आफनै गन्तव्य तिर । मैले फूल बेचेको त्यो दिन मेरो धेरै कमाई भयो । फेरि पहिलाको जसरी फुल टिप्न नियमित जाने र बजारमा बेच्ने क्रम दोहो¥याउन थाले । फूलको व्यापार सँगै मेरो पैसा धेरै हुन थाल्यो । हो,म त्यही पैसाको कारण स्कुल जान पाएको थिइन । मेरी आमाले कति धेरै दुःख गर्नु भएको थियो । अब त म सँग थोरै भए पनि पैसा छ । बजारमा गएको बेलामा आमाको लागि नया चप्पल किने । जब मेरी आमाले नयाँ चप्पल देख्नुभयो । आमाको खुशीको सिमा नै रहेन । आमाको आँखाबाट खुशीका आँशु झरेका थिए । बाबु, अब म राम्रो सँग हिड्न सक्छु । जति हिडे पनि मेरोे खुट्टाको पैताला फुट्दैन । तिमी पनि स्कुल गएर राम्रो सँग पढ्नु पर्छ । आमा हामीलाई हाम्रो गरिबीपनले काम, मिहेनेत अनि परिश्रम गर्न सिकाएको छ । मलाई धेरै पढेर ठुलो मान्छे बन्नु छ । म केहि समयको अन्तराल पछि स्कुल जान थाले । सुरु सुरुमा त गरिबको सन्तान भनेर गिज्याउन थाले तर मलाई तिनीहरुको कुरा सुन्ने र सहने बानी परिसकेको थियो । स्कुलमा पनि राम्रो अंक लिई पास भएका कारण गुरु आमा र गुरु बाबाले पनि धेरै माया गर्नु हुन्थ्यो । जब म किशोर अबस्था तिर धकेलिदै गए । त्यस पछि प्रगतिका धेरै अवसर अनि चूनौती पनि थपिन आए ।
वास्तवमा म आफ्नो विगत अनि वर्तमान अबस्थालाई हेर्दा जीवन भनेको संघर्षको यात्रा हो । यहाँ विना काम, विना परिश्रम कोही पनि जीवनको सफल चरणमा पुग्न सक्दैन । आफुलाई सुखमय बनाउनु छ भने इमान्दारीलाई नै पहिलो केन्द्रमा राख्नु पर्ने हुन्छ ।