मुस्ताङका दर्जन निजी गुम्बा र बिद्यालय आर्थिक संकटमा

मुस्ताङ : मुस्ताङमा सञ्चालित करिब १ दर्जन निजी गुम्बा विद्यालय यतिखेर आर्थिक संकटमा परेका छन् ।

बुद्ध धर्मप्रतिको मूल आधारस्तम्भसहित सञ्चालन भएका गुम्बा विद्यालयमा पछिल्लो समय विदेशी अनुदान रोकिएपछि समस्या परेको हो ।

मुस्ताङका गुम्बा विद्यालयलाई यसअघि विभिन्न एनजिओ /आइएनजिओ र विभिन्न मुलुकबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त हुँदै आएको थियो । विदेशी अनुदान र सहयोगकै भरमा मुस्ताङका गुम्बा विद्यालयहरुको ठूला÷ठूला भौतिक संरचना मुस्ताङमा निर्माण भएका छन् । यस्ता विद्यालयलाई आवास खर्च, शैक्षिक सामग्री तथा पाठ्यक्रम र शिक्षक व्यवस्थापन लगायतका लागि विदेश अनुदान प्राप्त हुने गरेको छ । सरकारी निकायमा दर्ता भएका गुम्बा विद्यालयलाई नेपाल सरकारले समेत अनुदान सहयोग गर्दै आएको छ ।

मुस्ताङमा सरकारी निकायमा दर्ता भएका ८ वटा विद्यालय छन् । दर्ता नभएका गुम्बा विद्यालय पनि जिल्लामा छन् । गुम्बा विद्यालयहरुमा बुद्ध धर्म संस्कृतिसहित स्थानीय मातृभाषाको पाठ्यक्रम र निजी तथा सरकारी विद्यालयमा अध्यापन गराइने पाठ्यपुस्तक समावेश गरी पठन÷पठन हुने गरेको छ ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड—१९) कारण विश्व समुदायको अर्थतन्त्र धरासायी हुँदै गइरहेको अवस्थामा मुस्ताङका गुम्बा विद्यालयलाई नियमित प्राप्त हुने विदेशी अनुदान रोकिएको लोगर्फुक मञ्जुश्री गुम्बा विद्यालय छोसेरका प्रिन्सिपल लाक्पा गुरुङले जानकारी दिए । उनका अनुसार गुम्बा विद्यालयलाई तत्कालको अवस्थामा विदेशी अनुदान उपलब्ध गराउन नसक्ने विदेशी अनुदानकर्ताले जनाएका छन् । आफ्नो विद्यालयलाई फ्रान्स, अमेरिका र भारत लगायत देशका संघसंस्थाले ३ महिना देखि ६ महिनाको फेरोमा अनुदान सहयोग पठाउने गरेकोमा ९ महिना बितिसक्दा समेत सहयोग नआएको बताए ।

मुस्ताङमा लोगर्फुक मञ्जुश्री गुम्बा विद्यालयहरुलाई मात्र होइन जिल्लाका अरु गुम्बा विद्यालयलाई पनि नियमित अनुदान रोकिएको गुम्बा विद्यालयहरुले जनाएका छन् ।

आइतबार वारागुङ मुक्तिक्षेत्रको कागबेनीस्थित कागछोदे गुम्बा विद्यालयमा जिल्लाका १ दर्जन गुम्बा विद्यालयहरुको भेलामा यसवर्ष कोरोना कहरका कारण विदेशी अनुदान रोकिँदा गुम्बा विद्यालय आर्थिक संकटमा परेको दुखेसो पोखेका छन् । गुम्बा विद्याललयले मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचन, प्रदेश सांसद इन्द्रधारा बिष्ट तथा जिल्लाका स्थानीयतहलाई गुम्बा विद्यालय व्यवस्थापनमा समस्या परेको दुखेसो सुनाए ।

विदेशी अनुदान रोकिएकाले गुम्बा विद्यालय चलाउन मुश्किल परेको भन्दै कागछोदे गुम्बा, लोगर्फुक गुम्बा विद्यालय, नालान्दा गुम्बा विद्यालय, महाकरुणा शाक्यापा गुम्बा विद्यालय, लोबो निफुक नाम्डोल नोर्बुलिङ गुम्बा, पाल एवं नाम्ग्याल, चराङ लोक्स्यो छयोलिङ चुब्नहे लोब्ट्रा, चराङ छ्योदे स्येडुप धार्केलिङ र जोमसोम गुम्बा विद्यालय लगायतले सरकारी सहयोगको माग गरे ।

उक्त अवसरमा संघीय सांसद प्रेमप्रसाद तुलाचनले गुम्बा विद्यालयको आर्थिक सहयोगको लागि आफू सकारात्मक रहेको र यसका लागि संघ सरकारसंग पहल अघि बढाउने जनाए । उनले सरकारी विद्यालयमा शिक्षक दरबन्दी कटौती भएको र यसलाई गुम्बा विद्यालयमा व्यवस्थापन गर्नेतर्फ जोड दिने आश्वासन दिए । लोघेकर दामोदरकुण्डका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले स्थानीय तहले नीतिगत रुपमा ऐन÷कानुन निर्माण गरी गुम्बा विद्यालयलाई अनुदानको व्यवस्था गर्न पालिका सकारात्मक रहेको बताए ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टंकराज बरालले गुम्बा विद्यालयले अनुदान प्राप्त गर्नका लागि विद्यालय सञ्चालनको अनुमति लिनुपर्ने बताए । उनले संघीयतापछि कक्षा १२ सम्मको कक्षा सञ्चालनको अनुमति स्थानीय सरकारले दिने व्यवस्था भएको जानकारी गराए ।

सरोकारवाला निकाय तथा गुम्बा विद्यालयको भेलाले सरकारी विद्यालयमा कटौती गरिएको शिक्षक दरबन्दी गुम्बा विद्यालयलाई व्यवस्था गर्न संघ सरकारसँग पहल गर्ने र राज्यको अनुमति नलिइ सञ्चालन भएका गुम्बा विद्यालयलाई अनुमति लिएर सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
गण्डकी प्रदेश सरकारले एक निर्वाचनक्षेत्र एक गुम्बा विद्यालय अनुदान कार्यक्रम अन्र्तगत जिल्लाका २ वटा गुम्बा विद्यालयलाई अनुदानको व्यवस्था मिलाएको छ । समन्वय इकाई प्रमुख बरालका अनुसार संघीय सरकारले दर्ता भएका गुम्बा विद्यालय अन्र्तगत १—५ कक्षाका गुम्बालाई २ लाख ४१ हजार, ५—८ कक्षा सञ्चालन भएका गुम्बा विद्यालयलाई ५ लाख र ८—१० कक्षा संञ्चालन भएका गुम्बा विद्यालयलाई बर्सेनि ७ लाख ४१ ह्जार अनुदानको व्यवस्था गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *