बानापा-७ को क्वारेन्टिनमा खान नपाए पछि दुई जना भागेर घर पुगे, स्थानीयमा त्रास

डम्मर बुढा मगर, बागलुङ

बागलुङ नगरपालिका वडा नम्बर ७ कालिमाटीमा विदेशबाट आएर क्वारन्टिनमा बसेका एक दम्पत्ति भागेर घरमा गएका छन् । उनीहरु क्वारेन्टिनबाट भागेर गाउँमा गएपछि स्थानीय त्रसित भएका छन् ।

विदेशबाट आएर क्वारेन्टिनमा बस्दा खाना सुत्नको राम्रो व्यवस्थपन नभएपछि घर गएर बसेको बाबुराम परियारले आदर्श अनलाइनलाई बताए ।

‘हामी विदेशबाट आएर बसेका तीन दिन भयो, हामीलाई खान बस्नको व्यवस्था भएन, रोगलेभन्दा भोकले मरिएला जस्तो भयो,’ उनले भने ‘हामी बस्ने सुत्ने ठाउँमा पानी भरिएर हिलो भएको छ त्यस्ता ठाउँमा कसरी बस्ने, त्यही भएर हामी घर आएर बसका छौँ ।’

क्वारेन्टिनबाट भागेका परियारले वडाले क्वारेन्टिन बस्न लायक नबनाएको भन्दै घरमै सुरक्षित बस्ने गरेर गएको बताए ।

‘हामीलाई वडाले खाना खान दिएन, एउटा पानी पनि दिएन, खानाको लागि काँचो चामल र टमाटर लिएर दिएको थियो त्यस्तो केमा पकाएर खाने,’ परियारले आदर्श अनलाइनसँग भने ‘विहानदेखि २/३ बजेसम्म खाना नदिएपछि त्यहाँ बस्न नसकेर घर आएका हौँ ।’

जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी लिन भनेर गएर अहिलेसम्म नलगको परियारको भनाई छ ।

बागलुङ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष खगराज पाण्डेले विदेशबाट आएर एक दिन क्वारेन्टिनमा बसेको र राति ठूलो पानी परेपछि भागेर गएको बताउनुभयो ।

‘हामीले यहाँ बस भनेर राखेका थियौँ, नजाभन्दा भन्दै भागेछ, उ भागेपछि मलाई खबर आयो, त्यसपछि मैले प्रहरीलाई खबर गरेँ,’ अध्यक्ष पाण्डेले भन्नुभयो ‘प्रहरी आएर बजार लग्न खोज्दा पनि मानेन, अहिले फकाएर बजार पठाउने भनेका छौँ ।’

उहाँले क्वारेन्टिनमा खाने बस्नेको व्यवस्था भएको भन्दै परियारले अनावश्यक रुपमा व्यवस्था भएन भन्दै अतिरञ्जित गरेको बताउनुभयो । पाण्डेले उनीहरुलाई बागलुङ बजार पठाउने बताउनुभयो

क्वारेन्टिन व्यवस्थापनको लागि भन्दै केही दिन अगाडी नगरपालिकाबट ५० हजार रुपैया समेत वडाले लगेको पाइएको छ । क्वारेन्टिन व्यवस्थापन भनेर पैसा लगे पनि विदेशबाट आएका नागरिक अव्यवस्थित भएकोे भन्दै भागेपछि सम्बन्धित निकायमाथि स्थानीयले प्रश्न उठाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *