सैं पनि झोले म पनि झोले । आखिर हामी सबै झोले । म पनि झोले तपाई पनि झोले, कहिले काहीं आफैंलाई सम्बोधन गर्न पनि मजा नै आउँछ अनि भन्छु ए म जस्तै झोलेहरू हो । हेर सुन । अयोध्या ठोरी पनि हुनसक्छ । प्रधानमन्त्रीज्युलाई उडाएर मात्र नबस । आज सम्म २८ पटक श्रीरामको जन्म यस पृथ्वीमा भएको छ र कुनै न कुनै कालखण्डमा ठोरी आसपासमा मा पनि भगवान् आउनुभएको थियो कि भन्ने यौटा बौद्धिक दार्शनिक र चेतनशील विचारले कता कता खोज गर्छ ।
भानु जयन्तीको अवसरमा प्रधानमन्त्री के पि शर्मा ओलिले बुद्धको मात्र होइन, रामको जन्मभूमि पनि नेपाल नै भएको कुरा विश्वसामू राख्नुभयो । धेरैले यसको विरोध गरे ती विरोध गर्ने पनि नेपाली जनता नै हुन् भन्दा दुःख लाग्छ । प्रधानमन्त्री देशकै कान्छो र बलियो पार्टी नेकपाको अध्यक्ष, म देशकै जेठो र कमजोर कांग्रेस पार्टीको सक्रिय सदस्य तर अयोध्या र रामको कुरामा उहाँ सँग सहमत हुने प्रचूर शास्त्रीय आधार छन् । त्यसैले म यो मुद्दामा प्रधानमन्त्री संग छु । किन कि प्रधानमन्त्री मेरो पनि हुन् र म पनि प्रधानमन्त्रीको जनता हुँ ।
अष्टाविंशतितमे कलियुगे ….
भनेर हामिले दैनिक रूपमा पूजा गर्दा यो अट्ठाइसौं कलियुग हो । यसभन्दा पहिला नै २८ पटक सत्य, त्रेता, द्वापर युग कटिसके कलियुग सकिन बाँकी छ भनेर पढ्ने गरेका छौं । एकपटकको युगमा भगवान् राम नेपालमा जन्मिनुभएको हो भन्दा केही नराम्रो भएको छैन । साथीहरू धेरै प्रमाणले हाम्रो देश नै समग्रमा तीर्थ हो । हाम्रो भौगोलिक बनावट र जनकपुरको सामिप्यताले कुनै युगको अयोध्या नेपालमा थियो । त्यसैले हामी पनि यौटा अयोध्या निर्माण गरौं । भगवान राम नेपालका देवता पनि, देवता महादेव नेपालका प्रेमी, बुद्ध पनि नेपाल कै, रामायण लेख्ने वाल्मीकि पनि नेपाली, महाभारत लेख्ने वेदव्यास पनि नेपाली । अनि नेपाल चै धर्म निरपेक्ष राष्ट्र ? हाम्रो भरतपुर, वृन्दावन, स्वर्गद्वारी, मुक्तिनाथ, पशुपतिनाथ विभिन्न नदीहरू सगरमाथा लगायतका हिमालहरूले हामी विश्वको प्रथम संस्कृति हौं भनेर बताइरहेका छन् । नेपालबाट मानव सभ्यताको विकास भएको हो भन्ने धेरै शास्त्रीय आधारहरू छन् ।
विज्ञान अनुसार यो संसारको सृष्टिको सुरुवातमा जल थियो । जलको स्तर घट्दै गयो जहाँ भाग उच्च थियो त्यहीँ बाट सृष्टिको विकास भयो । शास्त्रवचनलाई आजको विज्ञानले स्वीकार गरेकै त छ । ल भन्नुहोस् सगरमाथा भन्दा उच्च भाग संसारमा कहाँ छ ? होइन त नेपाल समग्र मानव इतिहासको पहिलो संस्कृति ? नेपाली समाज र परम्परा के पुराणहरुले बयान गरेका छैनन् । इन्द्रजात्रा, भोटेजात्रा, कुमारीपूजाले के बताइरहेको छ ? हामिले के कहिल्यै विचार गरेका छौं ? रामायण, महाभारत, देवी भागवत आदि पुराण अनुसार म्याग्दीको कपिल आश्रम रावणका पुर्खा पुलस्त्य पौलहको आश्रम हो । जुन ठाउँको नाम अहिले पुला हो ।
श्रीमद्भागवत महापुराण अनुसार राजा भरतले म्यादीकै गलेश्वरमा बसेर तप गरे, मृग भएर जन्मिए, फेरि जडभरत भएर यसै बागलुङ, पर्वत, मुस्ताङ, म्याग्दीमा विचरण गरे । राजा रहूगणलाई उपदेश दिए जुन ठाउँ अहिले पनि राहुघाट राखुका नामले चिनिन्छ । महाभारत अनुसार राजा परीक्षितलाई कोशी नदिको जल समाएर ऋषि पुत्रले श्राप दिएका थिए भागवतमा यौटा श्लोक छ ।
“कौशिक्याः जलमादाय वाग्वज्रं विससर्ज ह’’
महाभारतमा जोडिएको कोशिको प्रसंगले कतै महाभारतकालीन धेरै प्रमाणहरूमा पुनः अध्ययन अनुसन्धान आवश्यक त छैन ? भन्ने कुरा तर्फ पनि संकेत गरिरहेका छन् । धर्म नमान्ने नेताहरु नेपालका सांसद, मन्त्री, प्रधानमन्त्री भएका छन् । धर्मको बिल्ला भिरेर हिन्नेहरू झन खतरनाक छन् । तर हाम्रो प्रधानमन्त्रीले हाम्रो आँखा खोल्न सिकाएका छन् । उनी कुनै धर्म सम्प्रदायका ठेकेदार त होइनन् तर उनले जुन कुरा उठाएका छन्, एकदम धार्मिक उठाएका छन् । हाम्रा प्रधानमन्धीले उठाएको कुरा शास्त्रसम्मत छ । रामको जन्मभूमि, लव कुशको क्रीडाभूमि सीताको उद्गम र विलय सबैका तथ्य प्रमाण छन् । अहिले भनिएको ठाउँबाट जनकपुर करीब १५० किलोमिटर पूर्वमा, वाल्मीकि आश्रम करीब ३५ किलोमिटर पश्चिममा त्यहाँबाट रथमा चढेर एकैदिनमा वाल्मीकि आश्रम पुगेर फर्कन सम्भव छ । यो तथ्य रामायण संग मिल्न जान्छ ।
देवघाट, माडी, रामनगर, त्रिवेणी क्षेत्र वाल्मीकि आश्रमको क्षेत्र कालीगण्डकी आदि तीर्थस्थलको शास्त्रीय अनुसन्धान गर्न आवश्यक देखिन्छ । सरकारले विज्ञ समिति बनाओस् र यस उपर छानबिन पनि गरोस् । भगवान शिवको बास हिमालय पर्वत शृङ्खलाको पुण्य भूमिमा भएको मानिन्छ । जुन शृङ्खला पाकिस्तानबाट सुरु भएर नेपालसम्म आइपुग्छ भने उनको निवास कैलाश पर्वत हो भनिन्छ । त्यसैले तिब्बत र नेपाललाई भगवान शिवको पुण्य भूमिको रूपमा लिइन्छ । भगवान रामको जन्म तत्कालीन अयोध्या राज्यमा भएको थियो जुन हालको भारतमा छ भनेर प्रचार भएको छ, भने माता सिताको जन्म तत्कालीन मिथिला राज्यमा भएको थियो जुन हालको नेपालमा पर्छ भनिन्छ । तर कुनै युगको अयोध्या वर्तमान नेपालको भू-भागमा हुने धेरै तथ्य छन् । किन कि समुद्र र हिमालको सिमा भित्रमा नै भगवानको अवतार हुन्छ अन्यत्र हुँदैन । नेपालको हरेक भू-भाग कुनै न कुनै पौराणिक तथ्य संग मिल्न जान्छ । प्रायः ऋषि एवं चक्रवर्ती राजाहरूको तपस्थलीको सिद्धस्थलीको रूपमा पनि नेपाललाई चिनिन्छ ।
सिद्धार्थ गौतमको जन्म तत्कालीन तिलौराकोट राज्यमा भएको थियो जुन हालको नेपालको लुम्बिनीमा पर्छ भने सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्दै भगवान बुद्ध बनेको ठाउँ बोधगया हो । जुन हालको भारतमा पर्छ भनिन्छ । तर सुगौली सन्धिपूर्व धेरै धार्मिक तथा सांस्कृतिक भू-भागमा नेपालको बाहुल्य थियो । इन्डिया हिन्दुस्तान भारत जे भने पनि त्यो देश बनेको १९४७ मा हो । तर नेपाल त सृष्टिको उद्गमस्थल हो । नेपाललाई नयपाल भनेर पुराणहरूमा चर्चा गरिएको छ । द्वापर युगमा पाण्डवहरुले गुप्तबास बस्दाको विराट राज्य ( हालको बिराटनगर ) होस वा किच्चकको दरबार ( हालको झापामा पर्ने किच्चकबध ) होस कुनै न कुनै रुपमा द्वापर युगको घटना पनि नेपालसँग जोडिएको छ । यो इतिहास र हाम्रो धर्मग्रन्थमा हजारौं बर्ष अगाडी लेखिएका कुरा हुन् । त्यो बेला हाम्रो धर्मग्रन्थ लेख्ने ऋषिहरु न नेपाली थिए न त भारतीय नै, उनिहरु सनातन धर्मका अनुयायीहरुका पिता थिए । धर्मग्रन्थलाई आधार मान्ने हो भने पनि एक जन्ममा राम वर्तमान नेपालमा जन्मिएका थिए । त्यसैले आजको दिनमा ति धर्मग्रन्थहरुमा लेखिएको कुरालाई गलत साबित गर्न खोज्नु भनेको सनातन धर्म नै मिथ्या हो भन्ने बहस चलाउन खोज्नु हो ।
यस्ता परिचालितहरु कै कारण हाम्रो सनातन धर्म आजको दिनमा बारबार आक्रमणमा पर्छ भने हामी कमजोर पनि बन्दै गएका छौं । गीताप्रेस गोरखपुरले छाप्ने स्कन्दपुराणमा हिमवत्खण्डलाई हटाएर प्रकाशन गरेको पाइन्छ कारण हो हिमवत्खण्डमा प्रचूर मात्रामा नेपालको महिमा भगवान् शंकरले नै गाउनुभएको छ । हिमवत्खण्ड एक प्रकारले नेपालमाहात्म्य हो भन्दा फरक पर्दैन । यसरी ग्रन्थहरूमा समेत खुलेआम घुसपैठ भएको छ । संस्कृतका श्लोक रच्नु सामान्य कुरा हो । हाम्रो परनिर्भरता स्वाबलम्बनको अभाव, देशमा अर्थोपार्जनका नीतिको अभाव आदिले हामी सांस्कृतिक, भौगोलिक, आर्थिक अनि धार्मिक अतिक्रमण खेपेर बसिरहेका छौं ।
हामिले यसलाई दोस्रो अयोध्याका रूपमा विकास गरौं पर्यटन स्थल बनाउने काम गरौं । यो राष्ट्रहितमा नै छ । मनमा समुन्द्रमन्थन चलेको बेला अमृत पनि आउँछ र विष पनि आउँछ । कान्छो अयोध्या अमृत हो । तर थाहा छैन कहाँ कहाँको भाषा बोल्छौं हामी बौद्धिक भनिनेहरू । प्रधानमन्त्रीले भनेको धेरै कुरामा विमती छ भने धेरै कुरामा सहमति योग्य कुरा पनि छन् भन्ने कुरा नबिर्सौं । भानुभक्त जयन्तीका दिनमा बोलेको बोली राष्ट्रहितमा बोलिएको बोली हो । असली नेपाली गोर्खाली बोली हो । तर कतिपय अवस्थामा हाम्रो राजनैतिक घेराले हाम्रो तर्क मारिरहेको हुन्छ । अब त राजनीति पनि गुटबन्दीको घेरामा आयो, अब त तर्क पनि गुटमा सिमित भयो । तसर्थ गुटबन्दी र राजनीतिको जंजालमा अल्झिएको हाम्रो बुद्धिलाई पहिला नेपाली बुद्धि मानव बुद्धि बनाउने प्रयास गरौं । हाम्रो मौलिक नेपाली विचारको हरण भएको छ । आयातीत विचारको विचरण भैरहेको छ ।
यस्तो बेलामा चित्त बुझाउन भर्तृहरीको नीतिशतक तिर जान मन लाग्छ अनि भेटिन्छ ।
बोद्धारो मत्सरग्रस्ताः प्रभवः स्मयदूषिताः । अबोधोपहताश्चान्ये जीणर्मंगे सुभाषितम् ।
जहाँ बौद्धिक जन मत्सरग्रस्त हुन्छ जहाँ नेताहरू स्मयदूषित हुन्छन् त्यहाँ धेरै अबोधहरूको जनमानस छ भनेर बुझ्नु । त्यसैले त्यहाँ सुभाषित यानि कि राम्रो बोली जीणर् हुनेछ । आशा गरौं हाम्रो पुस्ता र आउने भावी पुस्ता मौलिक नेपाली विचार सुभाषितलाई बोकेको पुस्ता बनोस् । रामायणमा वणर्न गरिएको सरयू नदी बबई, माडी, नारायणी या राप्ती मध्येमा कुनै एक हुन सक्छ भनेर खोज किन नगर्ने ? यी तथ्यहरुले रामको २८ अवतार मध्ये एक अवतारको जन्मभूमि नेपाल नै भएको सिद्ध गर्न खोज किन नगर्ने ? बुद्ध पनि धेरै छन् तर गौतम बुद्ध नेपालका हुन् । त्यस्तै रामको पनि २८ पटक अवतार भएको छ, कुनै यौटा राम हाम्रो ठोरी आसपास आए भन्दा आपत्ती किन ?
जब पटक-पटक असत्यको प्रचार गरिन्छ, असत्य बलवान् हुँदै जान्छ । झूट र भ्रमको कोलाहलमा यथार्थ र ज्ञान मौन बसेका हुन्छन् त्यतिबेला समाजको पतन हुन्छ । नेपाललाई भ्रष्टाचार मुक्त बनाउने, नेपाललाई विकसित बनाउने, समृद्ध बनाउने, धर्म संस्कृति परम्पराको संरक्षण गर्ने कुरामा सरकार तथा प्रधानमन्त्री सक्षम भएका छैनन् । छताछुल्ल भ्रष्टाचार र त्यस उपर अख्तियार रूपी कवच भिरेर सत्ताधारी आफू खाने अरुले खाए अख्तियार लगाइदिने गरेर बसेका छन् । यो हाम्रो पुरानै नियती हो न्यायालयमा न्यायाधीश स्वतन्त्र छैन, मानौ हामिले नेपालीलाई उचित शिक्षा नै दिन सकेन्छौं । अहिलेका एम ए पिएचडी त फगत भ्रम रहेछन् । व्यक्तिको क्षमता कागजामा नाप्न मिल्दैन रहेछ । अहिलेका विश्वविद्यालय त केवल युवा उर्जालाई तह लगाउने र कार्यकर्ता बनाउने शिक्षा पढाइरहेका छन् । नेता बन्ने पढाइ नै छैन, न्यायाधीश वा कुनै प्रमुख बन्ने योग्यता नै हराइसकेको छ । किन कि सर्वोच्च योग्यता अहिले दासत्व भएको छ । सत्य बोल्दा तर्सिनु पर्ने, सजाय हुने, वृत्ति खोसिने जस्ता रोग नेपाली समाजमा व्याप्त भएका छन् । प्रधानमन्त्रीले नेपालमा अयोध्या पर्छ भन्दा जनकपुर, सूननदी पतनदीको किनारमा नेपालभित्र अवस्थित वाल्मीकि आश्रममा, देवघाटमा गएर अनुसन्धान गरौं धेरै कुरा थाहा पाइन्छ । श्रवणकुमारको प्रसंग स्याङ्जाको अहिले पनि अन्धाअन्धी दहका नामले प्रसिद्ध कुवा आँधीखोलाको मुहान संग मिल्न जान्छ ।
गुरु वशिष्ठको जन्मभूमि तपोभूमी पनि नेपाल नै हो । वशिष्ठको आदेशले दशरथ राजा रिष्यशृंग रिषिलाई अहिलेको रेसुंगा भन्ने ठाउँमा लिन आएका थिए भन्ने त प्रसङ्ग नै छ । ऋष्यशृंगको नाम नै अपभ्रंशमा रेसुंगा रहन गयो । गुरु विश्वामित्रका साथमा राम लक्ष्मणले कोशी नदी तरेको उल्लेख छ । कोशी नदी बगिरहेको छ यसको प्रमाण त अकाट्य छ । चितवन जिल्लाको माडी साबिक गाविस अयोध्यापुरी अहिले माडी नगरपालिका अयोध्यापुरी क्षेत्र वडा नम्बर ७ र ८ लाई अनुसन्धान तर्फ किन नबढाउने ? अब हामिले एक युगको अयोध्या नेपालमा पनि बनाएर विश्वभरी छरिएका हिन्दूहरुको अझ यौटा विशेष धार्मिक स्थल बनाएर नेपालको पर्यटनको क्षेत्रमा योगदान दिनुपर्ने हुन्छ ।
जय श्रीराम
चितवनको माडी नगरपालिका वाडा न. १ मा रहेको ऐतिहासिक स्थल वाल्मीकि आश्रम । जहाँ भगवान राम र सिताका पुत्र लव कुशको जन्म भएको थियो । उनिहरुले यसै आश्रममा ऋषि वाल्मीकिबाट शिक्षा लिएका थिए । तस्वीरहरुः जोन कंडेल
अहिलेसम्म के भएको थियोे मिडियालाई , किन यो कुरा जनता समक्ष लाउन सकेन
मेडियामा अहिले आउँदा के बिग्रीयो र! प्र. म. ले भन्नु अघि हामी धेरैलाई थाहा थिएन सानो गाउँ “ठोरी” पुरातात्त्विक रुपमा यति धेरै धनी छ भनेर, बरु अनुसन्धानको लागि सहयोग गरौँ ।
मेडियामा अहिले आउँदा के बिग्रीयो र! प्र. म. ले भन्नु अघि हामी धेरैलाई थाहा थिएन सानो गाउँ “ठोरी” पुरातात्त्विक रुपमा यति धेरै धनी छ भनेर, बरु अनुसन्धानको लागि सहयोग गरौँ ।