पाँच दिनदेखि अवरुद्ध बेनी-जोमसोम सडकको ट्रयाक खोल्न शुरु

आदर्श अनलाइन, जोमसोम

गत सोमबारदेखि अवरुद्ध बनेको बेनी-जोमसोम सडक खण्डको घोप्टे ओढारमा दोहोरो सवारी आवागमन सूचारु गराउन पहल थालिएको छ ।

सुरक्षा निकाय तथा कालिगण्डकी करिडोर, बेनी-जोमसोम सडक आयोजनाले सडक ट्रयाक खोल्न थालेको हो। संघीय सांसद प्रेमप्रसाद तुलाचनले पहिरोले अवरुद्ध बनेको घोप्टे ओढार सडकको स्थलगत निरीक्षण गरेपछि सुरक्षाकर्मीको सहयोगमा सडक खोल्ने काम सुरु भएको बेनी-जोमसोम सडक आयोजनाले जनाएको छ।

पहिरोले सडक भासिएको स्थान म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिकाको सीमानामा पर्छ। उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तरगत बेनी-जोमसोम सडकको ४ वटा खण्डमा सडक स्तरोन्नति हुँदै छ। जसमध्ये पहिरोले अवरुद्ध सडक दोश्रो खण्डमा पर्छ। उक्त निर्माणधीन सडकखण्ड शर्मा गजुरमुखि जेभीले स्तरोन्नतिको जिम्मा लिएको हो। वर्षाका कारण निर्माणधीन सडकको लेभलबाट कालिगण्डकी नदी तल करिव ५० मिटर सडक पहिरोले भासिएपछि लगातार ५ दिनदेखि बेनी-जोमसोम सिधा यातायात सेवा अवरुद्ध हुँदै आइरहेको थियो। त्यहाँ करिव १५ मिटर लम्बाइ र ७ मिटर चौडा सडक कालिगण्डकी तल भासिएपछि मोटर साइकल तथा सर्वसाधारणलाई आउजाउमा समेत समस्या परेको थासाङ-४ का वडाध्यक्ष विशाल शेरचनले बताए।

सांसद तुलाचनको पहल तथा निर्देशनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शर्मा गजुरमुखी जेभी तथा स्थानीयको संयुक्त पहलमा सडक खोल्ने काम सुरु भएको प्रहरी चौकी घासाका प्रहरी इञ्चार्ज निमप्रसाद तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार सेना, प्रहरी, निर्माण कम्पनी र स्थानीयको करिव ५ दर्जन व्यक्तिले सडकको ग्याबिन बेश उठाउने संरचना निर्माणको काम गर्दै छन्। त्यहा निर्माण कम्पनीका २ डोजर र स्काभेटरसमेत परिचालन गरिएको प्रहरी इञ्चार्ज तिमिल्सिनाले उल्लेख गरे। यस्तै सडक खोल्न खटिएका जनशक्तिलाई खाजाको व्यवस्था घासाको आमा समूहले गरेका छन्। मौसम अनुकुल भएको खण्डमा २ दिनभित्र अवरुद्ध सडक संञ्चालनमा आउने इञ्चार्ज तिमिल्सिनाको भनाइ छ।

गत असार २५ गते आएको भिषण बाढीले क्षतिग्रस्त बनाएको रघुगंगा गाउँपालिकाको बेनी-जोमसोम जोड्ने गलेश्वर बेलीब्रिज पूनस् सूचारु गर्न पहल सुरु भएको छ। कालिगण्डकी करिडोरको बेनी-जोमसोम सडक आयोजनाले यसअघि क्षति पुगेको बेलिब्रिजको प्राविधिक निरीक्षण गरेको सबइन्जिनियर किरण घिमिरेले जानकारी दिए। शुक्रबारदेखि नै काम गर्ने गरी प्राविधिक तथा जनशक्तिलाई गलेश्वरधाममा आवास क्षेत्रमा राख्ने काम भएको उनले बताए। उनका अनुसार बाढीले बेलिब्रिजको एकतर्फी भाग मात्र क्षति भएको तर बेलिब्रिज पूर्व अवस्थमा रहेकाले उपयुक्त फाउन्डेसन संरचना निर्माण गरी सोही स्थानमा एकसाताभित्र संञ्चालन ल्याउने लक्ष्यअनुसार काम भइरहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *