बागलुङका दिवंगत सांसद छन्त्यालको स्थानमा गुल्मीका ज्वारचन

आदर्श अनलाइन, बागलुङ

सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य समानुपातिक पदमा नवनिर्वाचित सुवर्ण ज्वारचनलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।

सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष नवनिर्वाचित सदस्य ज्वारचनले शपथ लिनुभएको हो ।

नेपाली काँग्रेसकातर्फबाट २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपाति सदस्यमा निर्वाचित ज्ञानकुमारी छन्त्यालको गत असार १७ गते निधनपछि उक्त सदस्य पद रिक्त थियो ।

नेकाको समानुपातिकतर्फको बन्द सूचिको क्रमसङ्ख्या ५९ र आदिवासी जनजाति समावेशी समूहको प्राथमिकता क्रम छ मा रहनुभएकी ज्वारचनलाई निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यमा निर्वाचित गरेको हो ।

गुल्मीको सत्यवती गाउँपालिका वडा नं ६ स्थायी घर भएकी सांसद ज्वारचनको परिवारसँग मुलुकमा प्रजातन्त्र स्थापनाका लागि लामो सङ्घर्ष र योगदान पु¥याएको पृष्ठभूमि जोडिएको छ ।

वि.स. २००२ मा जन्मिएर २०३६ बाट राजनीतिमा सक्रिय ज्वारचन जिविस गुल्मीको निर्वाचित उपसभापति पनि हुनुभयो ।

यसअघि उहाँ विसं २०७० मा भएको दोस्रो संविधानसभा सदस्य हुनुहुन्थ्यो ।

दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएपछि उहाँले नौ महिना उद्योग तथा वाणिज्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । समारोहमा सभामुख सापकोटाले उहाँलाई सङ्घीय सांसदको लोगो प्रदान गर्नुभयो ।

शपथपछि उहाँले राष्ट्र, राष्ट्रियता र जनताको हितमा सदनमा खरोरुपमा आवाज उठाउने प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी सबै नेपालीको प्रयासमा लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो नक्सामा समावेश भएको छ, मुलुकको सार्वभौम र स्वाधीनता जोगाउने सवालमा हामी सबै एकढिक्का हुनुपर्छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *