संकटमा थपिएको पत्रकारका जिम्मेवारी र चूनौती

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९) को असर त समग्र क्षेत्रमा परेको छ । तर, यसको सबै भन्दा छिटो असर र प्रत्यक्ष मारमा सिंगो पत्रकारिता र श्रमजिवी पत्रकार पर्न थालेका छन् । कोरोना भाइरसकै कारण अहिले देशभरमा ७ सय बढि पत्रिका बन्द भइसकेको तथ्यांक छ । २ हजार बढि पत्रकारको जागिर रोजीरोटी खोसिसकेको छ । यो समस्या र संख्या दैनिक बढ्दो क्रममा छ । जिल्लादेखि प्रादेशिक र केन्द्र सम्म कार्यरत श्रमजिवी पत्रकारको यो संकट र सकसमा सरकार, नागरिक समाज र अरु सरोकारवाला निकाय पनि बेखबर जस्तो देखिएको छ । जुन संस्थाको गरिमा प्रतिष्ठा र ब्राण्ड स्थापित गर्न जीवनको उर्जाशिल समय, सीप, कला कौशल खर्चिएको छ, त्यही संस्थाबाट आज संकटमा बिभिन्न बाहना बनाएर जर्बजस्त निकाल्ने कार्य भइरहेको छ । यो नेपाली समाज र पत्रकारिताका लागि दुर्भाग्यपूर्ण क्षण र घटना हो ।

जतिबेला समाज या मुलुकमा समस्या, संकट या विपद् आउँछ । पत्रकार र पत्रकारिताको आवश्यकता र भुमिका जरुरी हुन्छ । यसकारण वर्तमान संकटमा कोरोना संक्रमण जोखिमका बीच पनि पत्रकारले फ्रन्टलाइनमा उभिएर नागरिक प्रतिको दायित्व अविचलित निर्वाह गरिरहेको दुनियाँ माझ जगजाहेर छ । यसका अलावा यही समयमा समाजका अरु व्यथितिमा पनि पत्रकार र पत्रकारिताले अझ बढि भुमिका खेलोस् भन्ने अपेक्षा पनि यस अवधिमा प्रकट भएको छ । धौलागिरीकै सवालमा पनि नदी उत्खनन्, अरु अनियमितताका बिषयमा पत्रकारिताले सशक्त आवाज बुलन्दित गर्नुपर्ने सुझाव सामाजिक सञ्जालमा पनि प्रकट भएको छ । यो सुझाव या अपेक्षा राख्नु पत्रकार र पत्रकारिता प्रतिको भरोसा र विश्वासकै उपज हो । यसर्थ यसलाई सकरात्मक रुपमा लिएर पत्रकार अघि बढ्नुपर्दछ । उसो त अवैध नदी उत्खनन सहित अन्य व्यथिति मनोमानी बिरुद्धका कलम र आवाज मुखरित नभएका होइनन् । पत्रकारले त समय समयमा यसका बारेमा निरन्तर रखबारी गरिरहेकै छन् । बरु पत्रकारले यो सवाल उठाउँदा यहाँका नागरिक समाज, सुशासन, जवाफदेहिताको खोजी गर्ने जमात स्थानीय सरकार र सरोकारावालालाई ध्यानाकर्षण सहित जिम्मेवार बनाउन कति अग्रसर भए ? सामाजिक सञ्जालमा छिटफुट देखिने स्टाटस बाहेक यो पाटो अनुत्तरित छ ।

अहिलेको कोरोना भयावहमा फ्रन्टलाइनमा खटिएर पनि जोगिएर काम गरेका पत्रकार अब आफ्नो पेशागत सुरक्षाको चूनौती सहित अनिश्चयको भुमरीमा छन् । यो हर श्रमजिवी पत्रकारका लागि चूनौतीपूर्ण क्षण हो तर पुरै निराशा भएर पत्रकारिताबाटै आत्मसमर्पण गर्ने या पलायन हुनुपर्ने अवस्था होइन । एउटा जिम्मेवार नागरिक या पत्रकारले संकटमै बढि भुमिका, जिम्मेवारी र अवसर खोज्छ र त्यो प्राप्त पनि गर्छ । हामीसँग अहिले समस्या र संकट मात्र होइन, थप सिर्जनशिल भएर काम गर्नेहरुका लागि नयाँ नयाँ अवसरले पर्खिरहेको हुन्छ । यो बेला अझ बढि पेशागत रुपमा जिम्मेवार, उत्तरदायी र धैर्यवान भएर कोरोना संकटले निम्ताएका या भोलीका दिनमा ल्याउन सक्ने पेशागत जीवन र भविष्यको संकटसँग मुकाविला गर्न मानसिक रुपमा तयार बनौ । तर, जहाँ रहे पनि सामाजिक उत्तरदायित्व सहितको भुमिका निर्वाह गर्न कत्ति नचुकौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *