मल्म-पाण्डवखानी सडक अवरुद्ध

थम्मन थापा, गलकाेट
बर्खायाम सुरु भए सँगै ठाउँ ठाउँमा बाढी पहिरो हुने क्रम बढ्दो छ । अविरल वर्षा सँगै मल्म पाण्डवखानी सडकको आँगाखेत सानाेखोला खण्डको ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । ओदाहमा सडक माथि बाट खसेको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ ।

त्यस्तै केसी कुल मन्दिर नजिक पनि पहिरो खसेको छ भने म्याला चौतारा नजिक पनि पहिरो खस्दा सडकमा सवारी साधन आवागमन ठप्प भएको छ । निर्माणधिन उक्त सडक लक डाउनको कारण कात्तिक  सम्म निर्माण अवधिको म्याद थप भएकोले सोही अनुसार बाँकी रहेको काम अगाडि बढाइने आरोग्य निर्माण सेवाका संचालक हुम थापाले जानकारी दिनुभयो ।

आगामी कात्तिक सम्म सडक ग्राभेल र पक्की नाली निर्माणको काम सम्पन्न गर्ने लक्ष्य रहेको थापाले बताउनु भयो । त्यस्तै म्याला चौतारा देखि तल्लो सिरबारे हुँदै उपल्लो सिरबारे, मल्मडाँडा जोड्ने सडकको जिरो किलोमीटरमा सडक भासिएको छ । निरन्तर परेको वर्षाले उक्त सडकको झण्डै १० मिटर सडक भासिएको छ । सडक चिरा चिरा परेको र केही भाग दबेर मानिस ओहोर दोहोर गर्न समस्या रहेको गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लक्ष्मी सार्कीले जानकारी दिनुभयो ।

तत्काल थप क्षति हुन नदिन सडकमा भल व्यवस्थापन सँगै मानिस हिँडडुल गर्न सहज हुने गरी स्थानीयको सहभागितामा काम गरिने वडा सदस्य सार्कीले बताउनु भयो । उक्त सडकको आज वडा सदस्य लोक बहादुर थापा, स्थानीय समाजसेवी र समुदायको उपस्थितिमा स्थलगत अवलोकन समेत गरिएको छ । भासिए पछि अहिले सडक पूर्ण रुपमा बन्द भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *