म्याग्दीका पहिरो पीडित सुत्केरीकाे पीडा : चिसो भुइँमा भोकै सुत्छन्

आदर्श अनलाइन, म्याग्दी
सबिना सुत्केरी भएको ५ दिन भएको थियो । सबिनाको पेटमा बच्चा हुँदाबाटै म्याग्दी मराङका सन्देश विकको दैनिकी नै फेरिएको छ ।

बिहानै उठेर घरधन्दा गर्थे । २६ असारमा पनि सन्देश सबैरै उठे । घरको अरु काम सकेर खाना पकाए । तर खान नपाउँदै घरमाथिबाट पहिरो खस्न थाल्यो । ५ दिनको छोरी च्यापेर सन्देश र सबिनाले ज्यान बचाए ।

घरभित्रको लत्ताकपडा अनि अन्न पहिरोमै हरायो । अहिले विक दम्पत्तिलाई स्थानीय राम्चे आधारभूत विद्यालयमा राखिएको छ । पानी पर्दा फेरि गाउँमा पहिरो जान्छ भन्ने डर दुवैको मनमा छ ।

स्कुलकै शिक्षकको घरबाट ल्याएकाे खाटमा पहिरोले थिचेको मन थामेर सुत्छन् । तर पेटभर खान पाएका छैनन् । ‘अहिले सुरक्षित स्थानमा आएका छौं तर यहाँ पेटभर खान पाएका छैनौं । बच्चालाई न्यानो बिस्तारमा सुताउन सकेनौं,’ आँखाभरि आँसु बनाउँदै सबिनाले पीडा पोखिन् ।

एकबिहानै गाउँमा पहिरोले वितण्डा मच्चायो । सन्देश र सबिनाले ५ दिनको छोरी च्यापेर गाउँमै बसे । २ दिनपछि नजिकैको विद्यालयमा ओतको व्यवस्था गरियो । गाउँका घर पहिरोले पुरिँदा अन्नपात केही बाँकी रहेन ।

‘२ दिनसम्म विद्यालयको सिमेन्टीको भुइँमा तातोपानी र सातु खाएर काटें । सातुमा बाख्राको बड्कौला भेटियो अनि त्यो पनि खान सकेनौं,’ सबिनाले २ हप्ता पुरानो दिन सम्झिँदै भनिन्, ‘अहिले जेनतेन बसेका छौं तर पेटभर खान पाएका छैनौं । आफै भोकै भएपछि बच्चाको भेट कसरी भर्न सकिन्छ ।’

सबिना र सन्देशको जोडीमात्रै होइन, स्थानीय हरिमाया विक र गिरु विकको पनि अवस्था उस्तै छ । खानलाई अन्न छैन, लाउनलाई कपडा । सिमेन्टको चिसोले डेढ महिनाकी छोरी बिरामी छन् । उपचार गर्न सदरमुकाम झर्न सकेका छैनन् ।

‘सिमेन्टको चिसोले बच्चा बिरामी भएर रातभर सुत्दैन । भोकले रुन्छ,’ हरिमायाले भनिन् । राहत लिएर छिमेकी गाउँमा हेलिकाप्टर पुग्यो, तर राम्चे नाम्रुकमा हेलिकोप्टर झरेन । हरिमाया भन्छिन्, ‘आकाशमा धेरै हेलिकप्टर उठेको सुनियो तर हामीलाई कसैले पनि वास्ता गर्नुभएन ।’

सुत्केरीले पौष्टिक आहार चाहिने भए पनि पेट भोकै छ । ‘खाने अन्न सकिएको छ । लत्ताकपडाको अभाव छ । बच्चालाई न्यानो कपडा लगाउन पाएकी छैन,’ हरिमायाले रुँदै भनिन् । सन्देश र गिरुकोमात्रै नभइ पहिरोपीडित ४० परिवारको अवस्था उस्तै छ । पैदल हिँड्ने बाटो समेत नहुँदा गाउँलाई भनेको राहत जिल्ला सदरमुकाममा थन्किएको छ ।

बाढीपहिरोमा परेर घरपरिवार, आफन्त गुमाएका र पहिरोको जोखिममा रहेकालाई स्थानीय राम्चे आधारभूत विद्यालय नजिकै त्रिपाल टाँगेर राखिएको छ । सहयोगी संघसंस्था र व्यक्तिगत रुपमा पुगेको राहत सकिन लागिसकेको छ ।

वैकल्पिक बाटोको खोजी

गाउँमा खाद्यान्न ढुवानीका लागि छिमेकी पालिकाको लामो बाटो प्रयोग गर्ने तयारी गरिरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । तत्काललाई छिमेकी रघुगंगा गाउँपालिका–६ पाखापानी हुँदै जंगलको बाटो खच्चडबाट ढुवानी गर्नुको विकल्प नभएको धवलागिरी–६ का वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

सदरमुकाममा थन्केको राहत गाउँसम्म ल्याउन पदैलमार्गलाई सहज बनाउने तयारी भइरहेको उनको भनाइ छ । वडाध्यक्ष सुवेदीले भने, ‘स्थानीयहरु ढुवानी गरेर खाद्यान्न खाने अवस्थामा छैनन् । तत्काल छोटो दुरीकै बाटो मर्मत गर्नुपर्छ ।’

मराङ गाउँ जोड्ने पश्चिम म्याग्दीको व्यापारिक केन्द्र दरबाङ हुँदै जाने पैदलमार्ग समेत पहिरोले पुरिदिएपछि पाखापानी हुँदै मल्कवाङको विभिन्न स्थानबाट गाउँसम्म ल्याउनुपर्ने अवस्था छ ।

पूरै गाउँ नै पहिरोको जोखिममा रहेकाले पीडितको व्यवस्थापनमा समस्या भइरहेको धवलागिरी गाउँपालिकाकी कार्यपालिका सदस्य तिलकुमारी केसीले बताइन् । ‘हामीले सक्दो प्रयास गरेका छौं, तर पूरै गाउँ नै पहिरोको जोखिममा छ । केही दिन सबैलाई एकै ठाउँमा खाना खाने व्यवस्था गरेका थियौं । अहिले खाद्यान्न सकिँदै गएको छ,’ वडासदस्य समेत रहेकी केसीले भनिन् ।

पहिरोले मराङका विभिन्न वस्तीमा २१ जनाले ज्यान गुमाएका छन् । २ जना अझै भेटिएका छैनन् । करिब १७ हजार जनसंख्या रहेको वडामा २ सय २ घर उच्च जोखिममा छन् । करिब ४ सय घरधुरी रहेको मराङमा खानेपानीको समेत अभाव छ । राकेश शर्माको सहयोग

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *