सिलवाल पुनः राखेप सदस्य सचिव नियुक्त, उपाध्यक्षमा कोइराला

आदर्श अनलाइन, बागलुङ
१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा प्रचार प्रसार विभागको संयोजकका रुपमा भूमिका निर्वाह गरेका शिव कोइराला राखेप उपाध्यक्षमा नियुक्त भएका छन् । पहिलो पटक मन्त्री परिषदबाट नियुक्त भएका उपाध्यक्ष कोइराला र सदस्य सचिव सिलवालको पदावधि ४ वर्षको रहनेछ ।

सदस्य सचिव सिलवालले पदभार ग्रहणपछि मात्र औपचारिक रुपमा धारणा राख्ने बताएका छन् । विगतमा भन्दा यसपटक सिलवालको छनोट फरक प्रक्रियाले भएको थियो । यसअघि नेपाल भलिबल संघको सिफारिसमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सदस्य सचिव नियुक्त भएका सिलवाल यसपटक नयाँ खेलकुद विकास ऐन २०७७ का आधारमा छनोट भएका हुन् ।

राखेप सदस्य सचिव पहिलो पटक खेल छनोटका आधारमा भएको हो । यद्दपी त्यसमा पनि राजीनित प्रभाव भने पूर्ण रुपमा हावी भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासका रुपमा रहेका सिलवाल दोस्रो पटक पनि उनकै चाहनामा सदस्य सचिव नियुक्त भएका छन् ।

नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफरिस समितिले पठाएको एक महिलासहित ३ जनाबाट सिलवाल सदस्य सचिव नियुक्त भएका हुन् । समितिले राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष नेकपाका नेता लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।

५ वटा मापदण्ड पुरा गरेका २७ जनाले सदस्य सचिवका लागि आवेदन दिएका थिए । त्यसबाट खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक तथा राखेपकी पूर्व सदस्य इन्दिरा निरौला र राखेपका पूर्व अधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवाल, श्रेष्ठ र थापाको नाम मन्त्री विश्वकर्मालाई सिफारिस गरेको थिए । मन्त्रालयले बुधबार नै क्याबिनेटमा राखेप सदस्य सचिवको सिफारिस दर्ता गराएको थियो ।

सदस्य सचिवको छनोट प्रक्रियालाई झन्झटिलो प्रक्रिया मान्दै आएका सिलवाल अन्ततः सोही प्रक्रियाबाट नयाँ सदस्य सचिव नियुक्त भएका छन् । नयाँ ऐन अनुसार विगतमा सदस्य सचिवमा रहेको अधिकार ७ जनाको कार्यकारी समितिले प्रयोग गर्नेछ । त्यस्तै ३७ जनाको राखेप बोर्ड रहनेछ ।

छ दशक अघि स्थापना भएको राखेपमा पहिलो पटक खुला आव्हानद्वारा सदस्य सचिव नियुक्ती भएको हो । यसअघि राखेप सदस्य सचिवको नियुक्ती राजनीतिक आधारमा हुने परम्परा थियो । २०४६ सालपछि जसले खेलकुद मन्त्रालयको नेतृत्व गर्छ त्यहि पार्टीका नेता कार्यकर्तालाई सदस्य सचिव नियुक्त गर्ने परम्परा थियो ।

गत महिना राष्ट्रपति विद्यादेवी भण्डराीबाट प्रमाणीकरण भएको नयाँ ऐनअनुसार राखेपको सदस्यसचिवका लागि पाँचवटा मापदण्ड तोकिएको छ । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्ने उल्लेख छ । यद्दपी राजनीतिक प्रभावबाट भने राखेप सदस्य सचिवको छनोट अलग रहन सकेन ।

गत वर्ष असार २३ गते सदस्य सचिव नियुक्त भएका सिलवाल असार १८ गते नयाँ ऐनको कार्यन्वयनसँगै पदमुक्त भएका थिए । केहि दिन अझै आफु सदस्य सचिवकै रुपमा रहेको उनले दाबी गरिरहँदा मन्त्रालयले सह सचिवलाई कार्यवहाक सदस्य सचिव तोकेसँगै सिलवालले त्यसलाई स्वीकार गरेका थिए ।

कोइराला राखेप उपाध्यक्षमा नियुक्त

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रचार प्रसार विभाग संयोजकको जिम्मेवारी निर्वाह गरेका शिव कोइराला राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष नियुक्त भएका छन् । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले राखेप उपाध्यक्षमा कोइराला र सदस्य सचिवमा रमेश सिलवाललाई नियुक्त गरको हो ।

नयाँ ऐन अनुसार उपाध्यक्ष र सदस्य सचिवको नियुक्त मन्त्रीपरिष्दले नियुक्त गर्ने व्यवस्था छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आजै कोइरालाको नाम उपाध्यक्षका रुपमा मन्त्रीपरिषद्मा प्रस्ताव गरेको बुझिएको छ । सदस्य सचिवको प्रतिस्पर्धा चलिरहँदा उपाध्यक्षका विषयमा भने खासै चर्चा थिएन ।

कोइराला तेक्वान्दो युनियनका अध्यक्षका रुपमा क्रियासिल छन् । उनी पूर्व नेकपा माओवादीका नेता हुन् । राखेपमा पनि दुई पदाधिकारीमा पूर्व माओवादीका रुपमा कोइराला र पूर्व एमालेका रुपमा सिलवाललाई नियुक्त गरिएको चर्चा छ । हाम्रो खेलकुदबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *