बोक्से, विकल्प र व्यवस्थापन

सम्पादकीय
बागलुङ जिल्लाको लाइफ लाइन सडक पुष्पलाल मध्यपहाडी लोकमार्ग हो । जहाँ दैनिक सयौ सवारी ओहोर दोहोर गर्छन् । पश्चिम क्षेत्रको काठेखोलादेखि गलकोट नगरपालिका, ताराखोला, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका निसीखोला गाउँपालिकाका नागरिक मात्र होइन, रुकुम पुग्ने यात्रु सम्मले दैनिक जीवनयापनमा यही मार्ग प्रयोग गर्छन् । तर, बर्षायाम लागेसँगै यो मार्ग ठाउँ ठाउँमा बेला बेला अवरुद्व छ । यसमा पनि सबै भन्दा बढि सास्ती र सकस बागलुङ बजार नजिकैको बोक्से गैरामा खेप्नुपर्ने बाध्यता छ । विगतका वर्षमा जुन समस्या र सकस थियो, त्यो आज पनि बिद्यमान देखिएको छ । यसको व्यवस्थापन र विकल्पबारे चर्चा मात्रै हुने गरिरह्यो । तर, काम हुन नसक्दाको अहिलेको नियति र परिणाम हो ।

बोक्से भुगोलका हिसाबले कमजोर क्षेत्र हो । त्यसमा पानीले हिलाम्य भइरहने उसको परिचय हो । यस्तो परिचय बदल्नका लागि नागरिक स्तरबाट धेरै पहल र दबाब सिर्जना गरिएका छन् । यद्यपी यो सडक निर्माणको जिम्मा मध्यपहाडी लोकमार्ग आयोजनाको हो । जिल्लामा पर्ने १ सय ४२ किमी सडक खण्ड बागलुङमा पर्छ । यस खण्ड अन्र्तगत जिल्लाको ग्रामिण क्षेत्रको अधिकांश भागमा स्तरोन्नति सहित कालोपत्रे भइसकेको छ । तर, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा पर्ने २५ किमी सडक खण्ड भने वर्षाैदेखि बेवारिसे अवस्थामा छ । आयोजना कार्यालयलाई यहाँ नागरिकदेखि जनप्रतिनिधि, सांसद सम्मले निरन्तर पहल र दबाब त दिइरहेका छन् । आयोजना कार्यालयले पनि बोक्सेदेखि यो सेरोफेरोका काम सम्पन्न गर्न गराउन पहल नगरेको होइन । ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण पटक पटक म्याद पनि थपिएको छ । यति गर्दा पनि ठोस उपलब्धि देखिने गरी काम हुन सकेको छैन । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले यही असार सम्मको अन्तिम म्याद र अवसर दिएर काम सक्न जोड गरेको थियो । तर, कोरोना महामारीले यो अवसर पनि हामीबाट केही दुर गराइदिएको छ ।

अब अहिले दैनिक बोक्सेमा सवारी साधन र यात्रु अलपत्र पर्ने नियति दोहोरिरहेको छ । यसै साता लगातार तीन दिन सडक अवरुद्ध बन्यो । पछि एकतर्फी सवारी आवागमन सूचारु गरियो । यसमा ठुला सवारी साधन एकसाता यता ठप्पै छन् । अत्यावश्यकीय काम, उपचार गर्न हिँडेका कैयन नागरिक बोक्सेको पहिरोले आजित देखिएका छन् । यसले सवारी चालक, आम नागरिकलाई कति सास्ती र सकस बेहोर्नु परिरहेको छ ? यो भोगिरहेका मात्र गहिरो महुशुस होला । त्यसैले मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय र जिल्ला प्रशासन कार्यालयले बोक्से र यही प्रकृतिको समस्या देखिरहेका स्थानका हकमा तत्कालका लागि एकतर्फी भए पनि सवारी सूचारु हुने व्यवस्था गर्नुपर्छ । यसका लागि बोक्सेमा सडक तलका जोखिमयुक्त बस्तीको समेत सुरक्षा हुने गरी विकल्प खोज्नुपर्छ । दीर्घकालिन हिसावले बोक्से आसपासकाले अलपत्र खण्डमा यसै आर्थिक वर्षमा काम सम्पन्न गर्ने गरी आयोजनाले ठेकेदार कम्पनीलाई काममा जवाफदेही बनाउनुपर्छ । जसका कारण अर्को बर्खायाममा बोक्सेमा अहिलेको जस्तो नियति र सकस खेप्न नपरोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *