सिर्पाली दम्पतिलाई बज्रपातः उजाडियो काख

डम्मर बुढा मगर, बागलुङ
जिल्लाको तमानखोला गाउँपालिका वडा नम्बर–२ खोलेसबाङको एक दम्पतिलाई ठूलो बज्रपात परेको छ ।

केही सयम अगाडी छोराछोरी र श्रीमतीको सुखद भविष्य र खुसी खोज्न सुन्दर सपना साँचेर साउदी अरब पुगेका पानबहादुर सिर्पाली पहिरोले घर सहित आफ्ना साना सन्तान बगाए पछि मुर्छित अवस्थामा हुनुहुन्छ ।

केही दिनदेखि निरन्तर परेको वर्षाले आइतवार विहान सबेरै उहाँका १३ वर्षीय छोरा खिमबहादुर सिर्पाली र १२ वर्षीया छोरी रिता सिर्पालीलाई पहिरोले पु¥यो । पानबहादुर विदेश जाँदा छिटै आउनु होला है बाबा भन्दै हात हल्लाउँदै बिदाइ गरेका छोराछोरीे अब उनले कहिल्यै बाबा भनेर बोलाएको नसुन्ने गरि विदा भएका छन् ।

सोमबार राति करिब पौने २ बजे घर माथिबाट आएको भीषण पहिरोले बस्ने बास सँगै दुई छोराछोरीको ज्यान लियो । र जीवन संगिनी होमकुमारी सीर्पालीलाई भने घाइते अवस्थामा उद्वार गरिएको छ । शरिरको विभिन्न भागमा चोट लागेका होमकुमारीलाई आफ्नो चोटको दुखाई महुशुस छैन । तर, शरिरको चोटको दुखाई भन्दा हजारौँ गुणा बढी चोट दुई सन्तान गुमेकोमा छ । साँझ सँगै खाना खाएर सुतेका छोराछोरी अब कहिल्यै नब्युझिने गरि अस्ताएका छन् । यस्तो दुखद घटनाले सिंगो गाउँनै शोकमा परेको छ ।

मृतक १३ वर्षीय खिमबहादुर स्थानीय खोलेसबाङ आधारभूत विद्यालयमा कक्षा ४ र छोरी रिता कक्षा ६ मा अध्ययनरत थिइन् । छोरीले पहिलेदेखिनै सामुदायिक विद्यालयमा पढ्दै आए पनि छोराले भने केही समय अगाडी मात्रै बोर्डिङ छोडेर आएको स्थानीय शिक्षक पुनम घर्ती मगरले जानकारी दिनुभयो । ‘नानी चाही पहिलेदेखिनै यही विद्यालयमा पढ्दै आएकी थिइन्, बाबु त आएको धेरै भएको थिएन,’ शिक्षक घर्तीले भन्नुभयो ‘नानीको पढाई राम्रो थियो, लगनशिल थिइन्, यो घटनाले हामीलाई एकदम दुखी बनाएको छ, कल्पना नै नगरेको भयो ।’

होमकुमारीले सोमबार दिउँसो छोराछोरीसँगै सिमसिम पानीमा भिज्दै बारीमा घाँस काट्नुभएको थियो । दिनभर कामको थकाइले गर्दा उनीहरु साँझ अलि छिट्टै खाना खाएर सुतेका थिए । दुई बहिनी भान्छा कोठामा सुतेका थिए भने आमा होमकुमारी छुट्टै कोठामा सुत्नुभएको थियो । उनी पनि भान्छा कोठामै सुतेको भए सबैको ज्यान जान सक्ने स्थानीय बताउँछन् ।

घरमा यस्तो विपद् पर्दा पानबहादुर साउदी अरबमै छटपटिनुको विकल्प छैन । छोराछोरीको भविष्यका लागि परदेशिएका उनी घरमा यस्तो घटना हुँदा चाहेर पनि आउन सक्ने अवस्था छैन । पहिरोमा परेर घाइते बनेकी उनकी श्रीमती होमकुमारीलाई स्वास्थ्य संस्था लगिएको छ । उनको शरिरको विभिन्न अंगमा चोट लागेको स्थानीयको भनाई छ ।

होमकुमारीको घरमा दुई छोराछोरी र सासु भए पनि सासु छुट्टै घरमा बस्दै आउनुभएको छ । राति पौने २ बजे घटना भए लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर आए लगत्तै प्रहरी, नेपाली सेना र स्थानीयले पहिरोमा बेपत्ता भएका दुई बालबालिकाको खोजी शुरु गरेका थिए । राति ठूलो वर्षा भए पनि खोजी कार्यलाई निरन्तता दिने क्रममा विहान मात्रै दुवैको शव फेला पारेको थियो ।

सडकभन्दा करिब १/२ सय मिटर तल रहेको घर सडक भत्किएर आएपछि पुरिएको पानबहादुरका दाई भोबबहादुर सिर्पालीले बताउनुभयो । उहाँले ठूलो पानी परिरहेको हुँदा केही दिन पहिलेनै पहिरो आउन सक्छ भनि सजग रहन आग्रह गरेको बताउनुभयो । ‘धेरै दिनदेखि ठूलो पानी परेको थियो, पहिरो जान सक्छ है भनेर बुहारीलाई भनेको थिए,’ सीर्पालीले भन्नुभयो ‘राति पहिरो एक्कासी आएछ, मलाई पनि थाहा भएन, राति ३ बजे तिर पो मलाई बल्ल थाहा भयो । त्यसपछि सबैलाई खबर गरेर उद्धार गर्न थालेको हौँ ।’

दुई बालबालिकाको ज्यान जाने गरी खसेको पहिरोले आसपासका ७ घर परिवार विस्थापित भएका छन् । स्थानीय फुलमाया कामी, शेरबहादुर सिर्पाली, चामबहादुर सिर्पाली, हेमन्त सिर्पाली, लिलबहादुर सुनार, खिमबहादुर रसाइली र भीमबहादुर रानाको परिवार बिस्थापित भएका छन् ।

‘यो याममा पहिलो दुखद घटना भएको छ, मृतक र विस्थापित परिवारलाई वडा कार्यालय मार्फत तत्कालका लागि अस्थायी विकल्प तयार गरेर राख्दैछौ,’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भन्नुभयो, ‘घरमा दीर्घकालिन हिसावले बस्न मिल्ने नमिल्ने प्राविधिक टोलीले अध्ययन गरे पछि थप के गर्न सकिन्छ, त्यसका बारेमा गाउँपालिकाले आवश्यक कदम चाल्छ ।’

यसैगरी, जिल्लाको निसीखोला गाउँपालिका–१ हर्पेमा पनि अन्दाजी ५ बर्षिय समिर परियारको मृत्यु भएको छ । माथिबाट खसेको पहिरोले घर भत्किदा स्थानीय कमल परियारका नाबालक सन्तानको ज्यान गएको र अन्यले भने भागेर ज्यान जोगाएको वडा अध्यक्ष इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *