शरीर जोडिएका पाडापाडी जन्मिए

राम थापा (अविरल)

प्रसव व्यथाले च्यापेको १२ घण्टापछि यहाँका एक किसानले पालेको भैँसीले शरीर जोडिएका पाडापाडी जन्माएको छ । गलकोट नगरपालिका–७ मल्मका भविन्द्रबहादुर थापाको भैँसी ब्याउन नसकेपछि मानिसले तानेर पाडापाडी निकालेका थिए । जन्मिँदा जीवितै रहे पनि केहीबेरमा पाडापाडी मरेको छिमेकी विष्णु थापाले बताए ।  

अघिल्लो दिन राति ९ बजेदेखि भैँसीलाई व्यथा चले पनि सोमबार बिहान मात्र पाडापाडी निकालिएको उनको भनाइ छ । ‘भैँसीलाई ब्याउन गाह्रो भएपछि हामीलाई बोलाउनुभयो, पाँच/सात जना युवा मिलेर बल्लबल्ल पाडापाडी तान्यौँ’, थापाले भने । नगरपालिकाको पशु सेवा शाखामा खबर गरे पनि वर्षाका कारण आउन नसक्ने बताएपछि बलपूर्वक तानेर पाडापाडी निकाल्नुपरेको उनको भनाइ छ ।

भैँसीले शरीर जोडिएका पाडापाडी जन्माएको पहिलोपटक देखेको थापाले बताए । दुई घण्टा लगाएर युवाहरुले जेनतेन पाडापाडी तानेका थिए । पाडापाडीको टाउको, खुट्टालगायत अङ्ग छुट्टाछुट्टै भए पनि शरीरको पछाडिको भाग जोडिएको थियो ।

लिमी पाराकोटे जातको दोस्रो बेते उक्त भैँसीले एकसाथ पाडो र पाडी जन्माए पनि शरीर जोडिएका कारण बचाउन नसकिएको हो । ब्याएपछि भैँसी दिनभर बिरामी पर्‍यो । भकारोबाट उठ्नसमेत सकेको थिएन । सालनाल भने समयमै भएको थियो ।  

भैँसीले मङ्गलबार बिहानबाट घाँसापानी खान थालेको र दूध पनि दिएको किसान भविन्द्रबहादुरले बताए । गुनी भैँसी ब्याउन नसकेर थलिएपछि उनलाई पिरलो थपिएको थियो । शरीर जोडिएका पाडपाडी जन्मिएपछि गाउँलेले अनौठो मानेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *