बागलुङको जैमिनीका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ

जिल्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा जिल्लाको जैमिनी नगरपालिकाका एक ५२ वर्षिय स्वास्थ्यकर्मी सहित ६ जनामा बिहिवार कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लामा पहिलो पटक स्वास्थ्यकर्मीमै कोरोना संक्रमण पुष्टि भए पछि थप सजगता सहित कन्ट्याक ट्रेसिङ थालिने जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । ‘देशमा लकडाउन हटेको हो, कोरोना हटेको छैन भनिरहेका छौ, तर अहिले भिडभाड बढ्न थालेको छ, ’ उनले भने, ‘ स्वास्थ्यकर्मीमा समेत पहिलो पटक कोरोना संक्रमण देखिएको छ, उहाँका के कसरी संक्रमण भयो भन्नेबारेमा अब बिस्तृत अध्ययन गर्छौ, यसले थप सचेतता अपनाउन जरुरी देखिएको छ ।’

संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीलाई उपचारका लागि धौलागिरी अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भएको कार्यालय प्रमुख गुरौले जानकारी दिए । स्वास्थ्यकर्मी क्वाटरमै बस्ने भएकाले क्वाटरमा बस्ने, कार्यालयमा कार्यरत कर्मचारी सहित फिल्डमा गए नगएको बुझेर सम्भावित जोखिममा रहेका सबैको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने उनले बताए ।

बागलुङ नगरपालिका–१ बाङ्गेचौरको रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ३० बर्षिय एक पुरुष, भीमसेन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका काठेखोला गाउँपालिकाका २५ र २४ बर्षिय दुई जना पुरुष र त्रिभुवन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका बडिगाड गाउँपालिकाका २६ र ३४ बर्षिय दुई जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

बिहिवार संक्रमण पुष्टि भएका मध्ये बागलुङ नगरपालिकाका एक जना बहराइनबाट आएका हुन् भने अन्य छिमेकी देश भारतबाट आएका हुन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशमा गरिएको बन्दाबन्दी (लकडाउन) खुले पनि कोरोना संक्रमितको संख्या बढ्ने क्रम रोकिएको छैन । बिहिवार मात्र गण्डकी प्रदेशमा एकै दिन ३८ जना थपिएका छन् । जसमध्ये बागलुङका ६ जना सहित कास्कीमा १४, स्याङ्जामा ११, लमजुङ ३, तनहु १, नवलपरासी १ रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४७९ पुगेको छ । यसमा कोरोनाको संक्रमणबाट निको भएर घर फर्कनेको संख्या १२ सय ३० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *