थपिदै सेवा: धौलागिरी अस्पतालमा लिफ्ट सेवा शुरु

आदर्श अनलाइन,बागलुङ

धौलागिरी अस्पताल बागलुङमा शुक्रबारदेखि लिफ्ट सञ्चालन गरिएको छ ।

अपांगता तथा फरक क्षमता भएका, गर्भवति, प्रसुति भएका, ज्येष्ठ नागरिकलाई लक्षित गरेर जिल्लामै पहिलो पटक लिफ्ट सेवा सञ्चालन गरिएको हो ।

लिफ्ट सेवाको गण्डकी प्रदेश सभाका सदस्य इन्द्रलाल सापकोटाले शुक्रबार उद्घाटन गरेका छन् । उद्घाटन पछि बोल्दै सांसद सापकोटाले धौलागिरी अस्पतालमा उल्लेखनीय सुधार आएको बताए । ‘रिफर सेन्टर जस्तो बनेको अस्पतालको परिचय बदल्ने गरि अहिले काम भइरहेको छ, यसमा हामी सबैको हातेमालो जरुरी छ’ उनले भने, ‘गण्डकी प्रदेश अन्र्तगतको अस्पताल भएकाले मैले मेरो तर्फबाट यथेष्ट पहल र समन्वय अबका दिनमा पनि गर्न प्रतिवद्ध छु ।’

अस्पतालको ‘बी’ ब्लक भवनमा निर्माण गरिएको लिफ्ट सञ्चालनमा आए पछि सिढी चढेर माथिल्लो तला सम्म सेवा लिन हिँड्नुपर्ने सेवाग्राहीको बाध्यता अन्त्य भएको धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष केबी राना मगरले बताए । भवनको निर्माण गर्दा लिफ्ट राख्ने गरि डिजाइन नभए पनि सबैको सुझाव, समय सापेक्ष माग र आवश्यकतालाई बोध गरेर लिफ्ट राखिएको अध्यक्ष रानाको भनाई छ ।

लिफ्ट निर्माणका लागि गण्डकी प्रदेश सरकार समाजिक विकास मन्त्रालयले ५० लाख बजेट बिनियोजन गरेको थियो । तर, सार्वजनिक खरिदमा इण्डियन कम्पनी सयपत्री शोलुसन प्रालिले ४१ लाख २४ हजार ५ सय रुपैयाँमा निर्माण सम्पन्न गरेको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले जानकारी दिए । डा.पोखरेलका अनुसार, लिप्mटमा एक पटकमा १०८८ किलोग्राम अर्थात १६ जना सम्म आवत जावत गर्न सकिने क्षमता छ । ‘यस अस्पातललाई सेवाग्राहीमैत्री बनाउनको लागि सेवामा गुणस्तर र भौतिक पूर्वाधारमा अभूतपूर्व सुधार गर्ने प्रयासमा छौ,’ उनले भने ‘यो लिफ्ट सेवा यसको पछिल्लो उदाहरण हो, हामी सबै हिसावले अस्पताललाई उदाहरणीय बनाउने कोशिसमा छौ ।’

कोरोना संकटको तिव्र भयावहका बीच मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बागलुङ आउँदा धौलागिरी अस्पताललाई उपप्रादेशिक अस्पतालको रुपमा विकास गर्ने उद्घोष गरेका थिए । सोही अनुसार अहिले बजेट, कार्यक्रम सहित अस्पतालको सेवामा गुणस्तर र भौतिक संरचनाको विकास गर्ने काम धमाधम भइरहेको छ । गत वर्ष नै लिफ्ट निर्माण गरि सक्ने भनिए पनि कोरोना संकटका कारण देशमा लकडाउन भए पछि समयमै निर्माण हुन सकेको थिएन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *