घुम्ने मेच, मान्छे र मर्यादा

सम्पादकीय
नेपाली साहित्यमा कवि भुपी शेरचन दिवंगत भएको दशकौ सम्म पनि कविताका कारण चर्चित छन्, स्मरणीय छन्, जिवन्त छन् । मुस्ताङमा जन्मिएर नेपाली माटोमा अमिट छाप छोडेका उनको चर्चित कविता छ–‘घुम्ने मेञ्चमा अन्धो मान्छे’ तत्कालिन समयका पात्र र प्रवृत्तिलाई लक्षित गरेर तिव्र कटाक्ष सहित लेखिएको कविता आज अनेकौ व्यवस्था बदलिँदा समेत उत्तिकै सान्र्दभिक लाग्छ । कारण आजको समयकै यथार्थ चित्रण कवितामा भए जस्तो आभाष र अनुभूति आम मानिसलाई हुन्छ । किनकी नेपाली समाजमा व्यवस्था बदलिएका छन्, अवस्था उस्तै छ । पात्र फेरिएका छन्, प्रवृत्ति पुरानै छ । र त गणतान्त्रिक व्यवस्थामा पनि निरन्तर सम्झि रहने नेपाली बिबशता बनेको छ भुपी शेरचनका कविता–‘घुम्ने मेञ्चमा अन्धो मान्छे’ ।

निःसन्देह सत्ता अर्थात घुम्ने मेचमा रहेकाहरुको व्यवहार, कार्यशैली र प्रस्तुतिले नागरिकलाई अहिले पनि सोचनिय बनाउने गरेको छ । यसका केही उदाहरण स्मरणीय छन् । पहिलो, चितवनको चेपाङ बस्तीमा आगो लगाइयो । मध्यवर्ती इलाकामा सुकुम्बासीका रुपमा बसेका उनीहरुलाई त्यहाँबाट हटाउने विकल्पमा राज्यको निकायले घरमै आगो लगाएको तथ्य हो । तर वनमन्त्री शक्ति बस्नेतले खुलेआम संसदीय समितिमै घर भत्काउन हात्ती लगाइएको या घर जलाइएको होइन, बाँदर कुर्ने मचानमा आगो लगाइएको हो भनेर जवाफ दिए । घटना भएको दुई सातापछि सरकारले दिएको आधिकारिक प्रतिक्रियाले दिउँसै रात पार्ने मनसाय राखियो । दोस्रो, कोरोना भयावहबाट मुलुक अझै ग्रसित छ । चौतर्फी परीक्षणको दायरा बढाउनु पर्ने, सरकारले अझै कोरोना रोकथाम र नियन्त्रणका लागि चुस्त व्यवस्थापन, तयारीका योजना ल्याउनु पर्ने माग तिव्र छ । यही कुरा सुनेपछि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारले काम गरिरहेको र यो नदेख्ने जतिलाई मोतियाबिन्दु भएको हुनुपर्छ भनेर गैरजिम्मेवार जवाफ दिए । उनको यस्तो जवाफ पहिलो थिएन । उनले यसअघि पत्रकारले सरकारको कोरोना रोकथामको सुस्तताबारे प्रश्न राख्दा आफ्नो घरमा पाहुना आएकाले बोल्ने फुर्सद छैन भनेर जवाफ दिएका थिए । यो प्रतिनिधि घटना र उदाहरण मात्र हुन् । सरकार, त्यसका मन्त्री, निकायका व्यक्तिहरुले जघन्य हत्या, अपराध, ज्यादतिहरुको पनि कसरी प्रतिरक्षा गर्छन् ? लोकलाई लाज लाग्ने गरी भन्ने कुरामा आजका नागरिक सायदै बेखबर होलान् ?

हर नागरिकले समय र व्यवस्था बदलिए सँगै एउटा अपेक्षा गरेका थिए–यो देशमा व्यवस्था बदलिए सँगै अवस्था पनि बदलिनेछ । पात्रहरु फेरिए सँगै विगतका खराब प्रवृत्तिहरु पनि फेरिनेछन् । तथ्य र सत्यहरु सिमित स्वार्थ समूहको चंगुलमा ओझेलमा पर्ने छैनन् । तर, पछिल्लो दशकमा परिवर्तन भए पनि अपेक्षाकृत भिन्नता कदापी भएका छैनन् । चेपाङ बस्तीमा आगो लगाइदा घर नजलाइएको र त्यो केबल बाँदर कुर्ने मचानमा आगो लगाइएको हो भनेर बनमन्त्रीले जवाफ दिएको घटना र स्वास्थ्यमन्त्रीले सरकारले काम गरिरहेको नदेख्ने नागरिकलाई मोतियाबिन्दु भएको जवाफ गैरजिम्मेवारीपनको पराकाष्ठा र निकृष्ट नमुना उदाहरण हुन् । सरकार र जिम्मेवार मन्त्रीहरुका अभिव्यक्तिले पनि सत्तामा पुगेपछि मान्छेहरू कसरी आफ्नो धरातल बिर्सिन्छन् र शक्तिले कसरी अन्धो बनाउँछ भन्ने छरपष्ट देखिन्छन् । यस्ता पात्र र प्रवृत्तिमा रमाएकाहरुलाई हेक्का रहोस् कि फेरी निर्वाचनका बेला तीनै आधारभूत बर्गका नागरिक सम्म मतका लागि अनुनय विनय गर्दै पुग्नुपर्नेछ । र अहिले पनि तीनै नागरिकको मतले त्यो पद र मेचमा बस्ने अवसर पाएको स्मरण रहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *