गाई काटेर मासु भाग लगाउँदै गर्दा चार जना पक्राउ

बागलुङ
बेनीमा गाई काटेर मासु भाग लगाउँदै गरेका चार जना पक्राउ परेका छन् । रातको समयमा गाउँमा गाई काटेर सदरमुकाम बेनीको कालिपुलमा ल्याउँदै गरेको सुराकीका आधारमा प्रहरीले बेनी नगरपालिका–६ अर्थुङेका ४८ वर्षीय बिरबहादुर किसान, बेनपा–८ खैरेनीका ६३ वर्षीय चन्द्रे दर्जी, मालिका गाउँपालिका–५ घरभई कालिपुल बस्ने ३५ वर्षीय हिरा रसाईली र बागलुङको बडिगाड गाउँपालिका–२ का ४२ वर्षीय राजु विकलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए ।

‘रातिको समयमा गाई काटेर जनैपूर्णिमाको दिन खाने योजना बनाएका रहेछन्, ‘चारैजनाको प्रत्यक्ष संलग्नता देखिएको छ’ कुँवरले भने । उनले अभियुक्त हिरा रसाईलीको कोठमा मासु बिलो लगाउँदै गरेको अवस्था र केही पकाउँदै गरेको बेलामा प्रहरीले नियन्त्रणमा लिएको बताए । विगतमा समेत विभिन्न ठाउँबाट सस्तो मुल्यमा गाई खरिद गरी ल्याएर काट्ने, विक्री समेत गर्ने गरेको अनुमान समेत गरिएको छ।

बेनीबजार नजिकै रहेको खैरेनीमा काटेर रातको समयमा बजारमा ल्याउने गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । राष्ट्रिय जनावर गाई काटेको आरोपमा पक्राउ परेका चारैजनालाई पशुपंक्षी सम्बन्धी कसूर (गौवध हत्या) मा मुद्धा दर्ता गरी मंगलबार अदालतबाट म्याद लिएर अनुसन्धान थाल्ने जनाइएको छ । म्याग्दीमा पछिल्लो समय गौबध हत्यामा संलग्नको संख्या बढ्दै जान थालेको छ।

यो पनि पढ्नुहोस्

preload imagepreload image