शिक्षण पेशासँगै व्यवसायीक बाख्रापालन

आर्दश अनलाइन, बागलुङ
जहाँ इच्छा, त्यहाँ उपाय । यसो भन्न त धेरैले भन्छन् तर, व्यवहारमा अभ्यास र कर्म निकै कम पाइन्छ । बागलुङ नगरपालका–८ सिगानाका एक शिक्षकले शिक्षण पेशासँगै व्यवसायीक बाख्रापालनलाई समेत अघि बढाउनुभएको छ ।

आफ्नै घर पायक भगवती आधारभूत विद्यालयको प्रधानध्यापक हुनुहुन्छ भद्रबहादुर कार्की । उहाँ शिक्षण पेशामा लागेको २३ वर्ष भयो । तर, बिडम्बना भन्नुपर्छ अहिले पेन्शन निक्लिने बेला सम्म अस्थायी शिक्षककै रुपमा कार्यरत हुनुहुन्छ । यसमा समय र भाग्यले साथ नदिएको उहाँको जिकिर छ । यद्यपी लामो शिक्षण पेशाको अनुभव रहेको कार्की सँग परम्परागत निर्वाहमुखी कृषिको पनि गहिरो अनुभव छ । त्यसैले अब निर्वाहमुखी होइन, व्यवसायिक सोचका साथ अघि बढ्नुपर्छ भन्ने सोँच र सन्देशका लागि एक वर्ष अघि देखि बाख्रा फर्म सञ्चालन गर्नुभएको छ । अहिले बिद्यालयको दैनिकी इतर व्यवसायीक बाख्रा पालनमा कार्कीको समय व्यतित हुने गरेको छ ।

शिक्षण पेशासंगै बिहान बेलुकाको खाली समय व्यवसायीक आय आर्जनमा लगाएको उहाँको भनाई छ । २३ वर्ष देखि शिक्षण पेशामा आबद्ध कार्कीले बिहान वेलुकाको समय बाख्रा चराउने, घाँस काट्ने गर्नुहुन्छ । घर वरपर प्रशस्त डाले घाँस तथा चरण गर्ने स्थान भएका कारण व्यवसायिक रुपमा बाख्रापालन थालेको कार्कीले बताउनुभयो । कार्कीले स्थापना गरेको लक्ष्मी कृषि फर्ममा हाल खरी क्रस बोयर जातका ३५ बाख्रा बोका छन् । ‘पहिला देखिनै सामान्य रुपमा बाख्रापालन गर्दै आएका थियौ, धेरै ठाउँमा व्यवसायीक बाख्रा पालन फर्मको समेत अवलोकन गरे’ कार्कीले भन्नुभयो ‘बाख्रा पालनको प्रशस्त सम्भावना भए पछि परम्परागत बाख्रापालनलाई व्यवसायीक रुपमानै गर्न थालेको हुँ ।’

कार्की शिक्षण पेशामा गएको समयमा उहाँकी श्रीमती लक्ष्मी कार्कीले बाख्रापालनमा सघाउनु हुन्छ । कार्कीले खरिजातलाई विस्तारै हटाएर बोयर जातको बाख्रा पाल्ने योजना अनुसार लगानी समेत बढाउदै लैजानुभएको छ । बाख्रा पालनका लागि गोठमा भएको भैसी र गोरु बेचेर खोर निर्माण गर्नुभएका कार्कीले हाल सम्म रु.४ लाख भन्दा बढी लगानी गरिसक्नु भएको छ ।

२३ वर्षसम्म अस्थायी रुपमै शिक्षण पेशा गर्दे आउनुभएका प्रधानध्यापक कार्कीको फर्म विस्तार गरी एक सय बाख्रा पु¥याउने लक्ष्य छ । अस्थायी भएका कारण शिक्षक पेशाबाट निस्कदा समेत आर्थिक रुपमा केही नहुने भए पछि वैकल्पिक पेशा अगाँल्न थालेको उहाँको भनाई छ । व्यवसायीक रुपमा डाँले घाँस समेत लगाउँदै आउनुभएका कार्कीले बाख्रापालनमा राम्रो भविश्य देखेर नै बाख्रा पालनको शुरुवात गरेको बताउनुभयो । खरी क्रस बोयर जातका बाख्रा पालन गर्दै आउनु भएका कार्कीले केही वर्षमानै पुरै बाख्रा बोयर जातको बनाउने लक्ष्य राख्नुभएको थियो ।

‘मैले बोयर जातका बाख्रा पालनमा भविश्य देखेको छु’ कार्कीले भन्नुभयो ‘स्वादिष्ट मासु र धेरै हुने भएकाले बोयर प्रति धेरैको आर्कषण छ ।’ कार्कीले बाख्रा बढाउदै जाने भन्दै हाल सम्म बिक्री भने गर्नुभएको छैन । शिक्षण पेशा सँगै बचत भएको समय बाख्रा पालनमा खर्चदा शारिरिक तथा मानसिक रुपमा सन्तुष्टि समेत मिलेको शिक्षक कार्कीको अनुभव छ । बाख्रा पालनका लागि पाँच रोपनी जग्गा भन्दा बढी क्षेत्रफलमा निमारो, राई खनियो, दुदिलो, बेडुलो लगायतका डाँले घासको खेती समेत गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *