कोरोनाले ठप्प लोकमार्गको सदरमुकाम खण्डमा काम शुरु

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ अन्र्तगत बागलुङ बजारबाट अक्षेते खण्डमा पुनः काम शुरु भएको छ ।

कोरोना महामारीलाई ध्यानमा राख्दै देशमा जारी लकडाउनका कारण चैत्र ११ गते देखि रोकिएको लोकमार्गको सदरमुकाम तर्फको खण्डमा नाली निर्माण कार्यले गति लिन थालेको छ । यो खण्ड विगत लामो समयदेखि अलपत्र अवस्थामा छ । ग्रामिण क्षेत्रमा लोकमार्गको स्तरोन्नति सहित कालोपत्रे भइसक्दा समेत काम नभएको नागरिकको तिव्र गुनासोका बीच मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतको अन्तिम चेतावनी पछि निर्माण कम्पनीले गत वर्षको असारमा काम सक्ने गरी मजदुर खटाएको थियो । तर, दुर्भाग्य कोरोना भयावहका कारण बीचमै काम ठप्प भएको थियो ।

अहिले यस खण्डमा निरन्तरको वर्षातका कारण बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा सडक भासिने, पहिरो जाने कारण यात्रुले सास्ती खेपिरेहको समयमा निर्माणको जिम्मा पाएको सिद्धि शाही कन्ट्रक्सनले १५० को हाराहारीमा कामदार ल्याएर दुई हप्ता देखि नाली निर्माण, मेसिनरी वाल लगायतका कार्य गरिरहेको छ । लोमार्गको बोक्सेमा निरन्तरको पहिरोले लोकमार्ग पटक–पटक अबरुद्ध हुँदै आएको छ ।

१६/१६ मजदुरले लोकमार्गको विभिन्न खण्डमा दुई हप्ता देखि सडक निर्माणमा खटिएको रोल्पा घर भएका जिवन मगरले बताउनुभयो । उहाँले घरमै बसेर पेट पाल्नै गाह्रो भएपछि काममा निस्किएको बताउनुभयो । त्यस्तै रोल्पाकै रोहीत घर्ती मगरले सामान्य सर्तकता अपनाएर काममा खटिएको जानकारी दिनुभयो ।

पहिलो चरणमा नाली निर्माणको कार्यलाई अघि बढाएको र हाल सम्म झण्डै एक किलोमिटर सडक नाली निर्माण गरिसकिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका साइड इञ्जिनियर उज्वल शर्माले जानकारी दिनुभयो । “वर्खाको समयमा लोकमार्ग एकतर्फी खुलाएर भए पनि यात्रु वारपार गराउदै आएका छौं” इञ्जिनियर शर्माले भन्नुभयो “सदरमुकाम खण्डका निर्माण कार्यले तिब्रता पाउन थालेको छ, अहिले ठेकेदार कम्पनीले कामदार सहित ठूला उपकरण समेत साइडमा झारेर काम अघि बढाएको छ ।” अहिले रातामाटा देखि भोर्लाको रुख हुँदै रेडक्रसको भवन सम्म सडक नाली निर्माण थालिएको छ । सदरमुकाम खण्डको बोक्से खाल्टो बाहेकको स्थानमा सडक चौडा पार्ने कार्य सम्पन्न भइसकेकाले नाली निर्माण पश्चात कालोपत्रे गर्ने लोकमार्ग आयोजनाको तयारी छ ।

चैत्र ११ देखि रोकिएको लोकमार्ग वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएर क्षत बिक्षत अवस्थामा छ । निर्माण कार्य शुरु गर्ने र केही समय पश्चात निर्माण कम्पनी सम्र्पक बिहिन हुने कारणले बागलुङ सदरमुकाम खण्डको २५ किलोमिटर दुर्गम भागमा कालोपत्रे भइसक्दा समेत सदरमुकाम खण्ड कालोपत्रे हुन सकेको छैन ।

निर्माण व्यवसायीलाई लोकमार्ग कालोपत्रेका लागि अन्तिम मौका प्रदान गरेको लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताउनुभयो । ‘पटक पटक धोका दिएर आयोजनाको निर्माण कार्य अलपत्र पारेको हुनाले अन्तिम अवसर दिएका थियौ । बन्दाबन्दीका कारण समस्या भए पनि अहिले कामदार झारेर लोकमार्गको सदरमुकाम खण्ड अगाडी बढाएको छ” थापाले भन्नुभयो अब काम नगरेर भाग्ने छुट निर्माण व्यवसायीलाई छैन, अब यो वर्ष निर्माण सम्पन्न नभए निर्माण व्यवसायीलाई कारवाही गर्नुको विकल्प हुँदैन ।’

लगातारको बर्षाका कारण पहिरो गएपछि मध्यपहाडी लोकमार्ग अन्र्तगत बोक्सेमा एकतर्फी मात्रै सडक सञ्चालनमा ल्याइएको छ । लोकमार्गमा पहिरो ठूलो भएको र दुइतर्फी सञ्चालनमा ल्याउदा पुनः सडक अबरुद्ध हुने जोखिम भएकाले एकतर्फी मात्रै सडक सुचारु गरिएको इञ्जिनियर शर्माले जानकारी दिनुभयो । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा पर्ने १ सय ४० किलोमिटर सडक मध्ये अधिकांश सडक कालोपत्रे भइसक्दा समेत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटर सडक कालोपत्रे हुँन नसक्दा दैनिक हजारौ यात्रुले सास्ती खेप्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *