खुले बागलुङका होटल तर आएनन् पाहुना

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ

विश्वभर महामारीको रुपमा फैलिरहेको कोराना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि तीन महिना लामो बन्दाबन्दीका कारण ठुलो मारमा परेका बागलुङका होटल व्यवसाय खुल्न थाले पनि सुनसान जस्ता देखिएका छन् ।

बन्दाबन्दीका कारण ठप्प बागलुङको होटल व्यवसाय सरकारको निर्णय सँगै गत साउन १५ देखि खुलाइए पनि व्यवसायी उत्साहित बन्न सकेका छैनन् । बन्दाबन्दी खुलेपछि केही चलायमान हुनेमा व्यवसायी आशावादी भएपनि कोरोना संक्रमणको सन्त्रास यथावत रहेका कारण होटल खुलाउने मात्रै काम भएको बागलुङका होटल व्यवसायीले गुनासो गरेका छन् ।

पर्यटनको क्षेत्रमा भर्खरै बामे सर्न थालेको बागलुङको पर्यटन व्यवसायमा लकडाउनका कारण ठुलो धक्का लागेको होटल तथा पर्यटन व्यवसायी बताउँदै आएका छन् । पछिल्लो समय बागलुङमा विदेशी पर्यटकको समेत आर्कषण बढ्न थालेको थियो भने मुस्ताङ भ्रमणका लागि जाने आन्तरिक तथा भारतीय पर्यटकहरु बागलुङ जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकनका लागि समेत आउन थालेका थिए । कोरोना भाइरसका कारण बागलुङका सबै गतिविधि ठप्प छन् । पर्यटकीय सिजन शुरु भए पनि कोरोनाका कारण पर्यटक आउने कुरै भएन ।

सरकारले न्युनतम मापदण्ड पुरा गरी होटल खुलाउन भने पछि होटल खुला गरेको भए पनि पाहुना नआएको शितल पार्टी प्यालेसका सञ्चालक ताल बहादुर कुँवरले बताउनुभयो । “एक महिना घरभाँडा समेत छुट भयो, त्यस यता व्यवसाय ठप्प भएपछि भाँडा तिर्न समेत समस्या भइरहेको छ” होटल व्यवसायी कुँवरले भन्नुभयो “होटल खुलेर के गर्नु ? कोरोना जोखिम कम भएको छैन, विदेशी पाहुना आउन अन्र्तराष्ट्रिय उडान ठप्प छन् ।” कुँवरका अनुसार, तत्कालै पाहुना आए पनि कोरोना संक्रमणको जोखिम रहेकाले न्यूनतम मापदण्ड अपनाउनुपर्ने बताउनुभयो । होटल व्यवसायमा कोरोना महामारीले उथलपुथल ल्याएको उहाँको भनाई छ । होटल हिल भ्यूका सञ्चालक ललिता थापाले होटलको ढोका खोले पनि तत्कालै उत्साहजनक हिसाबले पाहुना आउने अवस्था नरहेको बताउनुभयो । “स्थानीय पाहुना सडक अबरुद्ध भएकाले आउन मुश्किल छ, बाहिरका पाहुना कसरी आउने र ?” थापाले भन्नुभयो “पुरानै अवस्थामा होटल व्यवसाय फर्कन एक वर्षनै लाग्ला जस्तो छ, आँफ्नै घर भएकाले भाडा तिर्न नपरेकाले केही सहज भए पनि भाँडामा होटल गर्नेलाई उठिवास लाउला जस्तो छ ।”

पर्यटन सँग आवद्ध व्यवसायहरु उठ्नै नसक्ने गरी थला पर्न थालेको पर्यटन व्यवासायीले गुनासो गर्दै आएका छन् । बागलुङलाई शाहसिक तथा धार्मिक पर्यटकहरुको गन्तव्यका रुपमा विकसति हुँदै आए पनि कोरोनाले पर्यटन व्यवसायलाई पछि धकेलेको हो । सामाजिक दुरी कायम गर्नुपर्ने र सुरक्षा मापदण्ड अपनाउनुपर्ने समयमा घुम्ने रहर भए पनि मनमै खुम्च्याउन पर्यटक बाध्य भएपछि पर्यटन व्यवसाय ठप्प प्रायः बनेको बागलुङ पर्यटन विकास समितका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

कोरोना संक्रमणको समयमा होटल क्वारेन्टिन बनाएर जिल्ला सदरमुकामका होटलले केही विदेशबाट आएका पाहुना राखे भन्दा अरु पाहुना नआएको होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो । “होटलका ढोका त खुले, व्यवसाय चलेन” राजभण्डारीले भन्नुभयो “होटल व्यवसायीले भाडा तिर्न ऋण खोज्नु पर्ने अवस्था आउन थालेको छ ।”

नेपालमा अन्त कतै नभएको पर्यटकीय स्थल बागलुङमा अवस्थित छन् । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष, सवा लाख शालग्राम संग्रह गरिएको दुर्लभ शालिग्राम संग्रहालय कुँडुले मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट र टेउवामा रहेको खुला मूर्तिकला संग्रहालय जिल्लाको आकर्षक गन्तव्यको रुपमा स्थापित हुने सम्भावना राख्छ । तर, कोरोना महामारीले कहिलेदेखि पर्यटकीय चहल पहल ल्याउला भन्ने अझै अनिश्चित छ । यस सँगै बागलुङ कालिका मन्दिर, भैरवस्थान, घुम्टे र गाजा दह जस्ता पुराना पर्यटकीय स्थलले समेत पर्यटक भित्राउनका लागि पूर्वाधार सुधार तथा पर्यटन प्रर्वद्धनका प्रचारात्मक कार्यक्रम गर्दै आएका थिए । विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जोड्ने गरी ५६७ मिटर लोमो झोलुङ्गे पुल समेत हालै निर्माण सम्पन्न भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *