कृषिता अधिकारी (निशा)
वर्षातको समयसगै साउन महिनामा हरियाली नै हरियालीले छपक्कै छोपेको छ भने यससँगै साउन महिनामा प्रायजसो नेपाली महिलाहरु व्रत बस्ने, साउन महिनाभर माछामासु,लसुन प्याज नखाने,कपाल काट्न नहुने आदि प्रचलन छ । पछिल्लो समयमा विशेष गरी साउन महिनामा हरिया चुरा मेहन्दिले बजारिकरण गरिरहेको छ किनकी साउन महिना हरियाली भएका कारण पनि हरिया चुरा, मेहन्दी अत्यधिक मात्रामा बिक्री हुने गर्दछ । कारण भगवान् शिवजीलाई मनपर्ने रङ हरियो, मनपर्ने बार सोमबार भएको हुनाले पनि साउन महिनालाइ हिन्दु महिलाहरुको लागि विशेष महत्वका रुपमा लिइने गरिन्छ ।
खासगरी परापूर्वकालमा साउन महिना देवताका पनि देवता भगवान् महादेव शंकर अर्थात् शिवको महिनाको रुपमा लिइन्छ । हिमालय पर्वतकी छोरी पार्वतिले साउन महिनाभर निराहर, कठोर व्रत बसेर भगवान् शिवजीलाई प्राप्त गरेको किम्बदन्तीमा पनि उल्लेख गरिएको छ भने अर्कोतिर शिवजी सँग जोडिएको महिना भएकाले वैज्ञानिकका अनुसार हरियोलाई प्रेम र वातावरणको,रातोलाई सौभाग्य एवम् पहेलोलाई पवित्रताको प्रतिकको रुपमा समेत लिने गरेको पाइन्छ ।
यसै कारण पनि साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । त्यसैगरी साउन महिनामा बढी वर्षाको कारणले किटाणुको संक्रमण हुने हुदाँ लुतो फाल्ने चलन पनि छ किनकी यो महिनामा रोग लाग्ने अत्याधिक सम्भावना भएको कारणले पनि साउन महिनामा माछा मासु तथा अन्य परिकार खानु हँुदैन भनेको हो । तर, अहिलेको समयमा अधिकांश महिलाहरुले व्रत वस्ने पूरा महिनाभरि नै माछा मासु नखाने गरेको पाइन्छ । जहाँसम्म हिजोको सन्दर्भलाई जोड्ने हो भने बुढापाकाले चोखो र शुद्ध खाना खाने गर्दथे । केही सिमित विवाहित महिलाहरुले मात्र व्रत बस्दथे । हरियो चुरा मेहेन्दीको कुनै चलन थिएन तर समय परिवर्तन भए सँगै पछिल्लो समयमा पश्चिमी सँस्कृतिले प्रभाव पार्दै गइरहेको छ ।
हिन्दु परम्परा अनुसार चुरा पोते केवल विवाहित महिलाहरुले लगाउने आफ्नो श्रीमानको दिर्घायुको कामनाको लागि व्रत वस्ने चलन थियोे । तर, अहिलेको समयलाई हेर्दाखेरी विवाहित महिला मात्रै होइन कि अविवाहित नारीहरु पनि चुरा लगाउने र व्रत वस्ने चलन छ । उक्त चलन चल्ती पछिल्लो समयमा फेशनको रुपमा लिने गरेको पनि पाइन्छ । एक किसिमले साउन महिनामा हरियो चुरा र मेहेन्दी लगाउने प्रतिस्पर्धा नै भएको छ ।
हामीले देखिरहेका हुन्छौं कि अरु बेला भन्दा पनि भिडभाड नलाग्ने कस्मेटिक पसलहरु पनि यो महिनामा अत्यधिक भिड देखिने गर्छ व्यापारीहरुलाई हरियो चुरा र मेहेन्दी बिक्री गर्न भ्याइ नभ्याइ हुन्छ भने विभिन्न शिवालयका मन्दिरहरुमा भक्तजनको भिडभाड लाग्ने गर्दछ किनकी हिन्दु धर्म र महादेव पनि प्रकृतिमै कैलाश पर्वत बस्ने भएकोले पनि साउने सोमबार हरिया राता सौभाग्यका प्रशोधन लगाइने चलन भएका कारण पनि साउन महिनालाई विशेष महिना भनिन्छ ।
त्यसैगरी साउन महिनामा हातभर मेहेन्दी लगाउने होडबाजीनै चलेको छ किनकी हाम्रा हजुरआमाका पालामा मेहेन्दी के हो थाहा थिएन, केटाकेटी छदाँ हामीले सुने अनुसार च्युरीको फुल थिचेर मेहेन्दी बनाइन्थ्यो रे, त्यस्तै मेहेन्दीको रङ गाढा बस्यो भने आफ्नो श्रीमानले माया गर्छ भन्ने धार्मिक विश्वास पनि रहेको छ ।
कारण हिन्दु धर्म शास्त्र अनुसार, साउन महिना महिलाहरुको शक्तिको महिना भनेर विभिन्न व्याख्या र विश्लेषण गरिन्छ । खासगरी साउन महिनामा हरियो रङलाई उर्वर शक्तिको रुपमा पनि लिने गरेका छौं । यो समयमा प्रकृति परिवर्तनले हामी मानिसहरुको हर्मोन नै परिवर्तन गरिदिने र यसको प्रभावले हाम्रो शारीरिक र मानसिक दुवैमा गहिरो प्रभाव परेको हुन्छ । त्यसैगरी साउने संक्रान्ति लुतो फाल्ने र खिर खाने चलनका रुपमा पनि लिइन्छ । कारण यो समयलाई कर्कट संक्रान्ति पनि भनिन्छ । त्यस्तै वर्षायाम शुरु हुदाँ रोपाई गर्दा पानीमा खेल्ने भएकाले मानिसलाई विभिन्न रोगहरु लाउन सक्छ, त्यस किसिमको पानीजन्य रोगहरु आउन नदिन साउने संक्रान्तिमा विभिन्न जंगली झारहरु सिउडी, सिरु, अमिलो, लुतेझार तथा आगोको अगुल्टो लगायतका सामाग्रीहरु केराको पातमा राखेर नाग्ला,थाल थटाउदै विधिपूर्वक लुतो फाल्ने प्रचलन रहेको छ । तर, आजभोलि यि र यस्ता प्रचलनहरु विस्तारै हराउँदै छ, मानिसहरु खेतिपाती गर्न छाडे गाइ बस्तुभाउ चराउने कृषि पेशामा आवद्ध हुने चलन पनि विस्तारै परिवर्तन हुन थाले, अब मानिसहरु शहरी आवरण तर्फ आकर्षित हुन थाले । त्यस सँगसँगै मानिसहरुले पश्चिमी सँस्कृतिहरु अँगाल्दै जान थाले फलस्वरूप आज आफ्नो रितिरिवाज बिर्सिएर बाहिरी सँस्कृतिको सिको गर्न थालेका छन् ।
वास्तवमा भन्ने हो भने विवाहिता महिलाले मात्र चुरा, पोते, सिन्दुर लगाउने चलन मात्र थियो । एउटा पतिव्रता नारीले व्रत वस्ने चलन थियोे । तर, समयसंगै अविवाहित नारीहरुले पनि चुरा लगाउन थालियो अहिलेको परिस्थितिलाई हेर्नुपर्दा साउनमा हरिया चुरा लगाउनु फेशन नै भएको छ भने अर्कोतिर प्रतिस्पर्धा पनि किनकी हरिया चुरा लगाउनु कुनै बाध्यता होइन, अनिवार्य रुपमा लगाउनुपर्छ भन्ने कुनै पनि शास्त्रमा लेखिएको छैन । विशेष गरी साउन महिला हरियाली तथा प्रेमको प्रतिक भएको कारणले साउन महिनालाई भगवान् महादेवको महिना भनिन्छ । आजभोली हाम्रो गाउँ समाजमा हरिया चुरा, हरिया वस्त्र मेहेन्दी लगाउने फेशन नै भएको छ कारण साउनमा हरियो र भदौमा रातैरातो वस्त्र धारणा गरिन्छ, त्यसले एक किसिमको मौलिकता पनि झल्काउँछ ।
तर, प्रश्न चिन्ह केमा उठ्छ भने साउन महिनामा हरिया चुरा र मेहेन्दी लगाउनु हाम्रो संस्कार होइन, यसो भन्दै गर्दा कुनै पनि व्यक्तिको स्वतन्त्रताको कुरा आउन सक्छ । चाहे हरिया चुरा लगाओस् वा मेहेन्दी त्यो आफ्नो अधिकारको कुरा हो । पछिल्लो समयमा भने फेशनको रुपमा हरेक चाडपर्वलाई जोडिएको छ । साउन महिनामा मात्र होइन, किनकी जनैपूणिर्माको दिनमा जनै फेर्ने,तागो लगाउने हाम्रो चलन हो नि । तर, हामीले पश्चिमी सँस्कारको सिको गर्दे राखि बाँधिन्छ, हाम्रो संस्कार अनुसार त तिहारमा दाईभाइ पुज्ने चलन होनि होइन र ? यसैगरी आफ्नो मौलिक संस्कृतिलाई नै प्रहार गर्ने किसिमका क्रियाकलाप गरिरहेका छौ, तिज लाग्नु भन्दा पहिलेनै हामीले दर खान शुरु गर्छाैं, पार्टी प्यालेसमा भोजभतेर गर्छाैं । हरितालिका तिजको अघिल्लो दिनमा होनि दर खाने त ? तिनपर दर खाने अनि भोलिपल्ट निरहार व्रत वस्ने चलन हाम्रो संस्कार हो । यि र यस्ता विभिन्न चाडपर्वहरुमा फरकपन आएका छन् । तसर्थ, हाम्रा संस्कार र संस्कृतिहरु विस्तारै हराउँदै गइरहेका छन् । पश्चिमी संस्कृतिलाई नअपनाउ बरु यसलाई ज्ञानको रुपमा लिइ आँफु र आफ्नो सँस्कृतिलाई जगेर्ना गरौं र हाम्रो संसार संस्कृतिलाई बचाइराखौं ।