अलपत्र लोकमार्ग फेरी अलपत्र नहोस्

सम्पादकीय
जिल्लाको मुख्य लाइफ लाइन सडकको रुपमा रहेको राष्ट्रिय गौरवको आयोजनाको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको काम वर्षौदेखि अलपत्र छ । यसमा पनि साविक धौलागिरी अञ्चल सदरमुकाम बागलुङ बजार आसपासकै सडक वर्षौदेखि बेवारिसे अवस्थामा छ । बागलुङ बजारदेखि घोडाबाँधे सम्मको २५ किलोमिटर सडकको काम अझै अपेक्षित गतिमा हुन सकेको छैन । यो खण्डको दुई खण्डमा बिभाजन गरेर दुई ठेकेदार कम्पनीलाई निर्माण जिम्मा लगाइए पनि दुवै खण्डको काम सन्तोषजनक रुपमा अघि बढ्न सकेको छैन । बागलुङ बजारदेखि अक्षेते खण्डको काम अझ उदेक लाग्दो र अलपत्र अवस्थामा देखिएको छ । यसको तुलनामा अक्षेतेदेखि घोडाबाँधे सम्मको स्तरोन्नतिको काममा केही प्रगति देखिएको छ । तर, ग्रामिण खण्डको लोकमार्गको अधिकांश भाग कालोपत्रे भएर सहज सवारी आवागमनको अवसर पाइसक्दा पनि सदरमुकामकै सम्मुखमा भने यो उदेक लाग्दो अवस्थालाई लज्जाबोधको अवस्था सिर्जना गरेको छ ।

लोकमार्ग आयोजनाको काम अलपत्रबारे नागरिकको गुनासो तिव्र छ । निरन्तर खबरदारी जारी छ । जसका कारण स्थानीय जनप्रतिनिधिदेखि सांसद सम्मको जोडबलमा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय सम्म दबाब पनि पुगेको छ । तर, यथोचित सुनुवाई र सम्बोधन भएको छैन । वर्षायामा हिलाम्य सडकका कारण नागरिकले सास्ती खेपिरहेका छन् भने हिउँदमा धुलाम्य भएर यात्रा गर्न बिवश छन् । यदी ठेकेदार कम्पनी जिम्मेवार हुन्थ्यो र मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले गम्भीरताका साथ आयोजनाको यस खण्डको काममा निरन्तर पहल, समन्वय र खबरदारी गरेको भए गत वर्षै कालोपत्रे हुन सक्थ्यो । दुर्भाग्य त्यो अवसर जिल्लावासीले प्राप्त गर्न पाएनन् । निर्माण कार्यमा भएको बेहिसाव लापरवाहीका बारेमा नागरिक स्तरबाट चर्को बिरोध, गुनासो र आलोचना हुन थाले पछि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पनि तिव्र दबाबमा परेको थियो । र उसले सम्पर्क विहिन जस्तो अवस्थामा रहेका निर्माण कम्पनीलाई बोलाएर अन्तिम अवसर भन्दै गत वर्षको असार सम्ममा अलपत्र खण्डको काम गर्ने समय दिएको थियो । तर, काम शुरु गर्ने भनेर कामदार र मेसिन फिल्डमा ल्याइरहेका बेला चैत्र पहिलो सातादेखि नै कोरोना भयावह पैदा भयो । जसका कारण त्यस यताको काम पूर्ण रुपले प्रभावित भयो । र एक किसिमले आयोजना अलपत्र पार्ने ठेकेदारलाई मिठो बाहनाको अवसर पनि प्राप्त भयो ।

कोरोना भयावह र जोखिमका बीच पनि राष्ट्रिय गौरवका आयोजनाका कामहरु जारी थियो । तर, यस अलपत्र आयोजनामा भने सुनसान अवस्था थियो । यद्यपी, कोरोनाका कारण देशमा तीन महिना लामो अवधिको लकडाउन खुलेपछि अहिले निर्माण जिम्मा लिएको सिद्धिशाही कन्ट्रक्सनले पुनः काम थालेको छ । लोकमार्गको सदरमुकाम तर्फको खण्डमा नाली निर्माण, मेसिनरी वाल लगायतको काम भइरहेको छ । पहिलो चरणमा नाली निर्माणको कार्यलाई अघि बढाएको र हाल सम्म झण्डै एक किलोमिटर सडक नाली निर्माण गरिसकिएको छ । यो सकरात्मक कुरा हो । तर आशावादी बन्न सकिए पनि यस कार्यले पूर्ण भरोसाको बातावरण भने अझै तयार देखिदैन । यसका लागि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतको भुमिका मुख्य हुन्छ । त्यसपछि बागलुङ जिल्लाका सरोकारवाला निकाय र लोकमार्ग आसपासका बासिन्दा पनि यसका लागि जिम्मेवार भुमिकामा देखिनुपर्छ । लोकमार्ग आयोजना निर्माणमा खानेपानीको पाइप र बिद्युतका पोल पनि अवरोधक देखिएको गुनासो आएकाले यि कार्यालयसँग पनि यथेष्ट समन्वय गर्नुपर्छ र अब कुनै पनि बाहनामा ठेकेदार अलपत्र आयोजना निर्माण कार्यबाट भाग्ने छुट कदापी दिनुहुँदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *