धौलागिरीका ९ सहित २ सय ११ स्वास्थ्यकर्मी कोरोना संक्रमित

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ

कोरोना भाइरसको तिव्र भयावह र जोखिमका बीच फ्रन्टलाइनमा खटिएर उपचारमा समर्पित साविक धौलागिरी क्षेत्रका ९ सहित देशभरमा २ सय ११ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् ।

करीब तीन महिना अघि वैशाख ३० गते नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस यता साविक धौलागिरी अञ्चलको पर्वत अस्पतालका ७ जना, धौलागिरी अस्पतालका १ जना र जैमिनी नगरपालिका स्वास्थ्य शाखामा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतमा संक्रमित भएका र जैमिनीमा कार्यरत स्वास्थ्यकर्मी कोरोना जितेर नियमित काममा फर्किसकेका छन् भने धौलागिरी अस्पतालका एक नर्स अहिले अस्पतालकै आइसोलेसनमा उपचाररत रहेका छन् ।

वैशाख ३० गते पहिलो पटक कपिलवस्तुको तौलिहवा स्थित अस्पतालमा कार्यरत एक नर्समा कोरोना पुष्टि भएको थियो। त्यसको भोलिपल्टै वैशाख ३१ गते पनि वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत एक नर्सलाई कोरोना देखिएको थियो।

त्यो बेला कोरोनाको संक्रमण मात्र २१ जिल्लामा पुगेको थियो। यहीबाट स्वास्थ्यकर्मीलाई कोरोना देखिने शिलशिला पनि सुरु भएको थियो।

साढे ६ महिनाको अवधिमा नेपालमा कोरोना संक्रमितको संख्या करीब २२ हजार नजिक पुगेको छ। जसमध्ये २ सय बढी त स्वास्थ्यकर्मी मात्रै पुगेको तथ्यांक छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको शुक्रबारको तथ्यांक अनुसार नेपालमा ८० बढी स्वास्थ्य संस्थाका २ सय २१ जना स्वास्थ्यकर्मी संक्रमित भएको जनाएको छ ।

कोरोनाबाट सबैभन्दा बढी मेडिकल डाक्टर प्रभावित भएको देखिन्छ। त्यसपछि नर्सिङ स्टाफ, पारामेडिक्स र अन्य प्रभावित भएको महाशाखाको तथ्यांकले देखाएको छ।

२ सय २१ मध्ये मेडिकल डाक्टर ५१, नर्सिङ स्टाफ ४९, पारामेडिक्स ४४, ल्याब असिस्टेन्ट र ल्याब टेक्निसियन गरी २१, अन्य २५ जना सक्रमित भएका छन्। बाँकी ३१ जनाको बारेमा भने महाशाखाले केही उल्लेख गरेको छैन।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *