पर्साबाट सिक्नुपर्ने पाठ

सम्पादकीय
कोरोना भाइरसको भयावह फेरी बढ्दो छ । मानव जीवनकै कठिन संकटको रुपमा प्रवेश गरेको कोरोनाले कहिले सम्म सास्ती दिने हो ? त्यो अनिश्चियको भुमरीमा छ । कोरोनाका कारण चीन, स्पेन, इटाली, अमेरिकामा निकै भयावह र मानवीय क्षतिको दृश्य र समाचार देखेका आम नेपाली शुरुमा भाइरस प्रवेशको समयमा अलि हतास मनस्थितिमा देखिएका थिए । तर, ठुलो संख्यामा संक्रमण र मृत्यु समेत नभए पछि नेपालीको रोग प्रतिरोधक क्षमता (इम्युनिटी) पावरको पनि यसबीच राम्रै चर्चा भयो । यद्यपी, अहिले लकडाउन खुलाइए पछि यसले भयावहको रुप लिन थालेको छ । पर्सा जिल्लाको कोरोना भयावह यसकै एक उदाहरण हो ।

पर्सामा लकडाउन खुल्ला पछि कोरोना संक्रमणको ग्राम दैनिक बढ्दो छ । शनिवार मात्र पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेयर सहित स्वाब संकलन र पीसीआर परीक्षणमा खटिएका ल्याबकर्मी, सुरक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीमा पनि कोरोना संक्रमण देखिएको छ । शनिबार ५२ जना थपिएसंगै पर्सा जिल्लामा मात्रै संक्रमितको संख्या ९ सय ४५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । पर्सामा कोरोना संक्रमणका कारण अहिले सम्म २० जनाको मृत्यु भइसकेको छ । साउनमा मात्रै पर्सामा १६ जनाको मृत्यु भएको हो । यो तथ्य र तथ्यांकले देशको भयानक जोखिमपूर्ण अवस्थाको परिदृश्य देखिन्छ ।

समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ । यसको रोकथाम, उपचार र नियन्त्रणमा लाग्नेहरुमा पनि धमाधम कोरोना संक्रमण देखिन थालेको छ । अहिले सबै भन्दा तल्लो वडा तहमा रहेका जनप्रतिनिधि कोरोना रोकथामका लागि अहोरात्र खटिरहेका छन् । केन्द्र र प्रदेश सरकारको तुलनामा स्थानीय सरकारको आवश्यकता र भुमिकाले मुलुकमा संघियताको औचित्य समेत अहिले पुष्टि गरेको छ । यदी गाउँ तह सम्म नयाँ संघीय संरचना नभएर पहिलेकै जस्तै संरचना हुन्थ्यो भने अहिले सम्म नेपाल र नेपालीले कहालीलाग्दो भयावहको सामना गरिसकेका हुने थियौ । तर, देशमा जुन व्यवस्था र संरचनाको अभ्यासमा छौ, यसका कारण तल्लो तह सम्म सरकारको अपनत्व निश्चय पनि बोध भएको छ । तर,अहिले यसरी फ्रन्टलाइनरको रुपमा खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार सबैमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । यसले एक किसिमको भय, निराशा र हतोत्साहीको अवस्था पर्सामा सिर्जित देखिन्छ । यही अवस्थाको निरन्तरता र अझ संक्रमण बढ्दै गए के होला ? यसको जवाफ अनुत्तरित छ । अतः कोरोना संक्रमणको भयावह भोगिरहेको पर्साबाट पाठ सिकौ । सबै प्रदेश, जिल्ला, स्थानीय तह र नागरिक सबै जिम्मेवार, सतर्क, सचेत र सुरक्षित बनौ । समयमै जोखिमको बिश्लेषण गरेर यसको रोकथाम र नियन्त्रणमा जुटौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *