पुलले जोड्दै पर्यटन

आदर्श अनलाइन, बागलुङ

झोलुङ्गे पुलको जिल्ला कुन हो ? सामान्य ज्ञानमा समेत सोधिने प्रश्न हो यो । र लोकसेवामा समेत सोधिने प्रश्नको उत्तरमा आउँछ–‘बागलुङ’ । तर पछिल्ला वर्षमा झोलुङ्गे पुल जिर्ण बन्दै जाने र पक्की पुलहरु बन्ने क्रम शुरु भए पछि झोलुङ्गे पुलको जिल्लाको पहिचान मेटिनेमा धेरैले चिन्ता व्यक्त गरेका थिए ।

यद्यपी, सडक, सुविधासँगै पक्की पुलहरु निर्माण भए पनि जिल्लामा विश्वकै लामो दाबी सहितको भिन्न भिन्न रेकर्ड राख्ने खालका झोलुङ्गे पुल बन्ने क्रम जारी छ । जसले झोलुङ्गे पुलको जिल्लाको पहिचान अझ व्यापक बन्ने अवसर बागलुङलाई प्राप्त भएको छ ।

नेपाल भित्रको नेपाल आकृतिको जिल्ला समेत बागलुङका कुना कन्दरा, खोलानाला र नदीमा धेरै झोलुङ्गे पुल छन् । जिल्लामा हाल सम्म ४ सय १४ झोलुङ्ग पुल रहेको तथ्यांक छ । अझै ३१ पुल निर्माणको चरणमा रहेको बागलुङमा झोलुङ्गे पुलको क्षेत्रमा काम गर्दै आएको बिवाइसी बागलुङका कार्यक्रम संयोजक प्रेम केसील जानकारी दिनुभयो ।

पछिल्लो समय ठुला नदी र खोँचमा समेत झोलुङ्गे पुल निर्माणले तिब्रता दिइए सँगै बागलुङ झोलुङ्गे पुल मात्रै हैन, लामा र अग्ला पुलहरुको जिल्लाका रुपमा समेत परिचित हुन थालेको छ । बागलुङ र पर्वत जिल्लाको बीचमा बगेको कालीगण्डकी नदी माथि झोलुङ्गे पुल धमाधम निर्माण भइरहेका छन् । पछिल्लो समय बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौर देखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने पुल विश्वकै लामो भएको दाबी समेत गरिएको छ । उक्त पुललाई बागलुङ नगरपालिकाले विश्वकै लामो भएको भन्दै विश्व रेकर्ड कायम गर्नका लागि गिनिज बुकमा लेखाउन आवश्यक प्रक्रिया समेत अघि बढाएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल बताउनुहुन्छ ।

विश्वकै लामो दाबी गरिएको पुलको प्रयाप्त तथ्य प्रमाणहरु भने जुटाउन बाँकी नै छ । उक्त पुल साउन १६ गते शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ । पर्वत जिल्लाकै सदरमुकाम कुश्मा जोड्ने गरी कालीगण्डकी माथि अग्ला र लामा झोलुङ्गे पुल निर्माण गरिएका छन् । रामरेखा अदुवाबारी पुल विश्व रेकर्ड कायम गर्न सकेमा बागलुङ जिल्ला झोलुङ्गे पुलको जिल्ला भनेर विश्वले चिन्ने नगर प्रमुख पौडेल बताउँनुहुन्छ । “पुल शुरुमा नेपालकै लामो भनिएपनि निर्माण भइसक्दा कसैले एसियाकै त कसैले विश्वकै लामो भएको जानकारी दिएका छन्” नगर प्रमुख पौडेलले भन्नुभयो “यदि पुल विश्वकै लामो भएमा गिनिज बुकमा नाम लेखाउने गरी आवश्यक प्रमाण जुटाउनका लागि सस्पेन्सन बृज डिभिजन कार्यालय लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छौ, यो सफल भए त विश्वयकै ध्यानाकर्षण हुनेछ ।” २०७५ चैतदेखि शुरु भएको उक्त पुल निर्माण कार्य आगामी २०७७ साल असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि तीन महिना अगावै पुल निर्माण सम्पन्न भए पनि कोरोना भाइरसका कारण हालै आएर सञ्चालनमा ल्याइएको थियो । उक्त पुल ५६७ मिटर लम्बाई तथा १३८ मिटर चौडाईको रहेको सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाण्डौंले जानकारी दिएको छ । कार्यालयका सिनियर इन्जिनिय हुमाकान्त मिश्रका अनुसार कार्यालयमा विश्वभरको तथ्याङ्क हेर्दा अन्य देशमा खुला प्रकृतिको झोलुङ्गे पुल जम्मा ४९३ मिटर लामो मात्रै बनेको रेकर्ड भएका कारण यो नै विश्वको लामो झोलुङ्गे पुल हुन सक्ने छ । “हामीले पुलको डिजाईन गर्दा विश्वकै लामो भनेर गरेका हैनौं, नेपालकै लामो भनिएको थियो” मिश्रले भन्नुभयो “निर्माण पछि देश विदेशमा चर्चा कमाउन थालेपछि खुला प्रकृतिमा यो पुल विश्वकै लामो हुन सक्नेछ, केही समयमा यसको टुङ्गो लाग्नेछ ।”

सुरुमा एशियाकै लामो रहेको भने पनि सस्पेन्सन बृज डिभिजन कार्यालयको रेकर्डमा खुल्ला प्रकृतिको झोलुङ्गे पुल अध्ययनका क्रममा विश्वभर ४९३ मिटर भन्दा बढी हाल सम्म निर्माण नभएको पाइएको हुँदा संभवत विश्वकै लामो हुँन सक्दछ तर यसको प्रमाण जुटाउदै गरेको इञ्जिनियर हुमाकान्त मिश्रले जानकारी दिनुभयो । २०७६ फागुनमै सक्ने भनिएको पुल दुई वटा राजमार्ग माथीबाट लठ्ठा तान्दा समय लागेको थियो । निर्माण कम्पनीले पर्वत र बागलुङ तर्फका दुवै राजमार्गमा रोकावट नहुने गरि चिनियाँ प्रविधिको औजारले लठ्ठा तानेको थियो ।

बागलुङ र पर्वत जोड्ने गरी बलेवाको कैया–कुश्मा जोड्ने ३४७ मिटर लामो र १५९ मिटर उचाईको पुल, कुश्मा बलेवा यान्त्रिक पुल र कुश्मा बलेवानै विश्वकै दोस्रो अग्लो बञ्जी जम्प निर्माण भएको छ । कुश्मा कैया जोड्ने पुललाई हाल सम्मकै अग्लो पुलका रुपमा समेत व्याख्या गरिदै आएको छ । त्यस पछि पुनः बागलुङ र पर्वत जोड्ने लामो पुल निर्माण हुँनुले एक पछि अर्को पहिचान कायम गर्दै आइरहेको छ ।

पुल सञ्चालनमा आए पछि दुई जिल्लाका मात्रै नभएर बागलुङ र पर्वत हुँदै म्याग्दी, मुस्ताङ जाने पर्यटकलाई समेत पुलले आकर्षित गर्न थालेको छ । पुलले दुई जिल्लाको आर्थिक गतिविधिलाई चलायमान गराउन पर्वत र बागलुङ जोड्ने गरी पछिल्लो समय निर्माण भएका झोलुङ्गे पुल, यान्त्रिक तथा बञ्जी जम्पले ठूलो योगदान पु¥याउने पर्वत जिल्लाका कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले बताउनुभयो । “पर्वत र बागलुङ जिल्ला रोटीबेटीको सम्बन्ध भएको जिल्ला हुन्, पर्वतको केही भागका जनता बागलुङमा निर्भर हुने र बागलुङको दक्षिण भेगका जनता पर्वतमा निर्भर हुने अवस्था छ” जोशीले भन्नुभयो “अब दुई जिल्लाको आर्थिक विकास बाहेक राष्ट्रिय अन्र्तराष्ट्रिय सँग पुल तथा बञ्जी जम्पले चर्चा पाएको छ, जसले पर्यटनको बिकासमा बागलुङ र पर्वतमा ठूलो फड्को मार्नेछ ।” यस्तै बागलुङ र पर्वत जोड्ने गरी बागलुङ नगरपालिका–४ गौरीधाम मन्दिर देखि पर्वत जिल्लाको नाग्लीबाङ जोड्ने पुल समेत स्वीकृत भइसकेको छ ।

लामो झोलुङ्गे पुलका रोचक पक्ष

अन्य झोलुङ्गे पुलको तुलनामा विश्वकै लामो दाविी गरिदै आएको नव निर्मित बागलुङको बाङ्गेचौर देखि पर्वतको अदुवाबारी जोड्ने गरी कालिगण्डकी नदिमाथी निर्माण भएको ५६७ मिटर लामो पुल केही फरक समेत छ । यस पुलबाट देखिने दृश्य तथा पुलमा जडान गरिएको सोलार लाइटले पुलको आकर्षण थप्नेछ । पुल कालिगण्डकी नदी माथि निर्माण भए पनि पुल मुनि दुई वटा राष्ट्रिय राजमार्ग पर्दछन् । पुलको बागलुङ खण्डमा बागलुङ–पोखरा मध्यपहाडी लोकमार्ग र पर्वत खण्डमा भारतबाट आएको कालीगण्डकी करिडोर सडक पर्दछ । जुन प्रसिद्ध पर्यटकीय स्थल मुस्ताङ हुँदै चीनको कोरोला नाका पुग्ने सडक छ । पुलको बीच भागबाट धौलागिरी हिमाल देख्न सकिन्छ । खोजमा निर्माण हुने पुल भएकाले झोलुङ्गे पुलबाट हिमाली दृश्य कमै मात्रै देखिएको पाइए पनि लामो पुलबाट धौलागिरी हिमाल देख्न सकिने पुल अवलोकन गर्नुभएका दिपक शर्माले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *