संक्रमण बढ्न थालेपछि २ वटा वडा सिल गर्ने तयारीमा पोखरा महानगर

आदर्श अनलाइन,पोखरा  
सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै पोखराका २ वटा वडा एक साता सिल गर्ने तयारीमा पोखरा महानगर जुटेको छ ।

शनिवार राति कोरोना सङ्क्रमणबाट पोखरा १६ का एक पुरुषको मृत्यु भएपछि महानगरले वडा १६ र अर्को वडा १९ का क्षेत्र सिल गर्ने तयारी थालेको हो ।

कनट्याक्ट ट्रेसिंङका क्रममा मृतक पुरुष धार्मिक क्रियाकलापमा सक्रिय संलग्न रहेको पाइएकाले ती दुई वडा सिल गर्न वडा अध्यक्षहरूले महानगरलाई आग्रह गरेपछि सोही आधारमा महानगरले प्रक्रिया अघि बढाउन लागेको हो ।

त्यसका लागि पोखरा महानगरले सिडिओ कार्यालयलाई अनुरोध गरेको महानगरका मेयर मानबहादुर जिसीले जानकारी दिए ।“मृतक पुरुष सँग सम्पर्कमा रहेका केही व्यक्तिमा कोरोना पुष्टि भयो भन्ने आधारमा सङ्क्रमण समुदाय स्तरमा नफैलियोस् भन्ने हेतुले तत्काललाई एक साता सिल गर्न भनेका हौ”, मेयर जिसीले भने- “उनको सम्पर्कमा रहेका लगायतका १ सय जनामा कोरोना परीक्षण हुँदै छ , त्यसको नतिजाका आधारमा कुन कुन क्षेत्र कति समयलाई सिल गर्ने भन्ने बारे टुङ्गो लाग्नेछ।“

सङ्क्रमित पुरुषको सम्पर्कमा आएका व्यक्तिहरूको अवस्था पहिचान गर्न दोस्रो चरणको कनट्याक्ट ट्रेसिंङ को कार्य शुरु गरी उनीहरूमा कोरोना परीक्षण गरिएकाले त्यसको नतिजालाई हेरेर मात्र सिल गर्ने नगर्ने भन्ने विषयमा निर्णय गरिने कास्कीका सहायक सिडिओ तथा सूचना अधिकारी श्री नाथ पौडेलले बताए ।

“हामीले सङ्क्रमणको अवस्था बारे थप जानकारी लिन एक दिनको समय लिएका छौ, आज आउने परीक्षणको नतिजाकै आधारमा के गर्ने भन्ने निर्णय लिइनेछ,” सहायक सिडिओ पौडेलले भने।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *