आदर्श अनलाइन/म्याग्दी
म्याग्दीको बेनीमा मध्यरातमा आएको बाढीमा बेपत्ता भएकी एक बालिकाको शव एक साता पछि फेला परेको छ ।
बेनी नगरपालिका वडा २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीसँगै असोज ५ गते बेपत्ता भएकी १० वर्षीया प्रविनाको शव आइतबार साँझ भेटिएको हो ।
प्रविना र ८ वर्षीया अनुष्का परियार बेपत्ता भएकी थिइन् । दुई बालिका बगरफाँटकी माया परियारको घरमा पाहुना बनेर बस्न गएका थिए । बेपत्ता मध्ये प्रविनाको शव मालढुङ्गा क्षेत्रमा फेला परेको र परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
प्रविनासँगै बाढीमा बगेकी अनुष्का भने अझै बेपत्ता छिन् । खोलाले धार परिवर्तन गरी बस्तीमा पस्दा दीपक जुग्जाली, पार्वती परियार, राममाया परियारको घर क्षतिग्रस्त छ । बाढीले त्यही ठाउँमा रहेको बुद्ध एकेडेमी विद्यालयको १८ कोठासहितको भवन शौचालय र खेलमैदान समेत क्षति पुर्याएको थियो ।