अन्नपूर्णमा एक व्यक्ति एक मास्क, एक घर एक साबुन र ब्रोसर अभियान

आदर्श अनलाइन, पोखरा

अन्नपूर्ण गाउँपालिकाले ‘एक व्यक्ति एक मास्क, एक घर एक सावुन र ब्रोसर’ अभियान सुरु गरेको छ।पोखरा ४ स्थित नेलम्बो नेपालको सहयोगमा गाउँपालिकाले उक्त कार्य सुरु गरेको हो ।

पालिकाबासीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बचाउन शुक्रबारदेखि अभियान थालिएको हो । कार्यपालिकाको शुक्रवारको बैठकका बीच उपस्थित सदस्यलाई टोलटोलमा पुग्ने गरी सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिए ।

यसअघि नेलम्बोले गाउँपालिकालाई बिहीबार नै ३० हजार थान मास्क र १५ हजार ब्रोसर उपलब्ध गराएको थियो । पालिकाले स्वास्थ्यकर्मी, शिक्षक र जनप्रतिनिधीको सहयोगमा घरघरै मास्क पु¥याउने जनाएको छ । कोरोना संक्रमण बढ्दै गएपछि थप सर्तकता स्वरुप उक्त कार्य थालिएको गाउँपालिकाले भनेको छ ।

सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले नेलम्बोले महत्वपूर्ण सहयोग गर्दै आएकोमा आभार जनाए।उनले कोरोना संक्रमण रोक्न सचेतना, मास्कको प्रयोग र सामाजिक दुरी कायम गर्नु अत्यावश्यक रहेको औँल्याए ।

नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले हस्तान्तरीत सामग्री प्रत्येक पालिकावासीसम्म पुग्नुपर्नेमा जोड दिए । सबै मिले कोरोनालाई परास्त गर्न सकिने उल्लेख गर्दै अध्यक्ष देवकोटाले सर्तकता सबैभन्दा महत्वपूर्ण हुने भनाइ राखे । संस्थाले स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा कार्य गर्दै आएको पनि उनले प्रष्ट पारे ।

प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले कोरोना समुदाय स्तरसम्म पुग्न थालेकाले गाउँपालिकाले सचेतनालाई बढी जोड दिएको बताए । नेलम्बोका अध्यक्ष देवकोटा सहित कार्यक्रम संयोजक डा. किसन कोइराला, जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारी लगायतको टोलीले सामग्री हस्तान्तरण गरेको हो।

त्यस्तै गाउँपालिका अध्यक्ष कुँवर, उपाध्यक्ष सगुन गुरुङ, प्रशासकीय अधिकृत अधिकारी, स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेल, लेखापाल सरिता गौतम, शिक्षा शाखा प्रमुख बलराम भुगाई लगायतको टोलीले सामग्री ग्रहण गरेको थियो । ३ लाख २२ हजार रुपैयाँका सामग्री हस्तान्तरण गरिएको नेलम्बोले बताएको छ ।

कार्यक्रमलाई अन्नपूर्ण काठमाडौं समाज र ढिकुरपोखरी काठमाडौं समाजको पनि सहयोग रहेको जनाइएको छ । विसं२०६८ को गणना अनुसार अन्नपूर्णको जनसंख्या २३ हजार ४ सय १७ भए पनि हाल करिब २७ हजार पुगेको अनुमान छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *