बागलुङका जिसस प्रमुख र वडा अध्यक्षमा कोरोना पुष्टी

आदर्श अनलाइन,बागलुङ

जिल्लामा पहिलो पटक दुई जनप्रतिनिधिमा पनि कोरोना संक्रमण देखिएको छ ।

पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणको क्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना र बडिगाड गाउँपालिका-६ का वडा अध्यक्ष मौसम काजी क्षत्रीमा शनिवार कोरोना संक्रमण पुष्टि भएको हो ।

गत साउन १४ गतेदेखि जिल्ला बाहिरका बैठक र भेटघाटमा भएकाले कन्ट्याक्ट ट्रेसिङमा स्वाब दिइएको र रिपोर्ट पोजेटिभको खबर आएको जिसस प्रमुख ढुंगानाले आदर्श अनलाइनलाई जानकारी दिए । ‘बाहिरबाट आए लगत्तै स्वाब दिएको हुँ, जिल्लामा त्यस यता कुनै पनि बैठक र कार्यक्रममा निस्किएको छैन,’ उनले भने, ‘म मा सुगरको पनि केही समस्या छ, त्यसैले सेल्फ आइसोलेसनमा बस्ने कि धौलागिरी अस्पतालमा जाने भन्ने बिषयमा निर्णयमा पुग्दैछौ ।’

कोरोना संक्रमण पुष्टि भएका जिसस प्रमुख र वडा अध्यक्ष सेल्फ क्वारेन्टाइनमा बसिरहेकाले सोही स्थानमा राख्ने या आइसोलेसनमा ल्याउने भन्ने बिषयमा छलफल भइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले बताए । उनले जनप्रतिनिधिमै देखिएकाले जिल्लामा कोरोना संक्रमण जोखिम रोक्न थप कसरी अगाडी जाने भन्ने बिषयमा फेरी योजना बनाइने बताए । जिसस प्रमुख चितवन, पोखरा, काठमाण्डौं लगायतका स्थानमा गएकाले कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब लिइएको थियो भने वडा अध्यक्ष बडिगाडको क्वारेन्टाइन व्यवस्थापनमा खटिदै आएका थिए ।

कोरोनाका कारण जनप्रतिनिधि नै संक्रमित भएपछि बडिगाड गाउँपालिका शील गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ने विषयमा छलफल भएको बडिगाड गाउँपालिका स्वास्थ्य सह–संयोजक चुडामणी कँडेलले बताए । ‘भारतबाट आएका २० जनाको पठाएका थियौं, उहाँहरु सबैको नेगेटिभ रिपोर्ट आएको थियो,’ उनले भने, ‘जनप्रतिनिधिकै पोजेटिभ आएको छ । यसको स्रोत के हो ? कसरी भयो भन्ने बिषयमा गम्भीर प्रश्न खडा भएको छ । अब कसरी परिक्षण गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।’

बागलुङमा अहिलेसम्म कोरोना संक्रमितको संख्या दुई सय ६५ पुगेको छ । अहिले सम्म दुई सय ४५ निको भएर घर फर्केका छन् । एक युवाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *