ग्रामीण क्षेत्रको समृद्धिका लागि सहकारी क्षेत्रसँग सहकार्य गर्छौ : अध्यक्ष पुन

आदर्श अनलाइन, बागलुङ

म्याग्दीको धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले ग्रामिण क्षेत्रको विकासका लागि सहकारी उत्तम माध्यम भएको बताउनु भएको हो ।

संगम म्याग्दीले गुड नेवर्स इन्टरनेशनलको सहयोगमा सञ्चालन गरेको ३ दिने सहकारी व्यवस्थापन तालिम समापन कार्यक्रममा बोल्दै अध्यक्ष पुनले यस्तो बताउनुभयो भएको हो ।

सहकारी ग्रामीण क्षेत्रको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण माध्यम भए पनि सहकारीको प्रवद्र्धनमा पालिकाको यथेष्ट ध्यान पुग्न नसकेको उहाँको भनाइ छ ।

आफुहरु पालिकाको नेतृत्वमा आएपछि पहिलो वर्ष अन्यौल नै रह्यो, दोस्रो वर्ष कार्ययोजना बनायौ, तेस्रो वर्ष कार्यान्वयन गर्ने तयारी गरेका थियौ, कोरोनाका कारण प्रभावकारी काम गर्न सकिएन, अध्यक्ष पुनले भन्नुभयो–अब सहकारीसंगको सहकार्यलाई प्राथमिकता दिएर अगाडि बढ्छौ ।

समाज रुपान्तरणको महत्वपूर्ण आधारका रुपमा रहेको सहकारी क्षेत्रले कृषि, पशुपालन, पर्यटन लगायत उत्पादनमुलुक क्षेत्रमा योजना बनाएर अगाडि बढ्न उहाँले सुझाव दिनुभएको छ ।

कार्यक्रममा तालिमका प्रशिक्षक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले जनताको आर्थिक समृद्धिका लागि स्थानीय पालिकाहरुले सहकारी क्षेत्रलाई संगसंगै लिएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारीमार्फत जनतालाई उत्पादन बढाउन प्रोत्साहन गर्ने तथा उत्पादित वस्तुको संकलन र बजारीकरणमा स्थानीय पालिकाहरुले समन्वय गर्नु पर्ने बताउनुभयो ।

तालिमका सहभागीहरुका तर्फ बोल्दै हिमाली कृषि सहकारी संस्था गुर्जाका अध्यक्ष तथा धौलागिरी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष झक बहादुर छन्त्याल र नमुना महिला उद्यमशिल वचत तथा ऋण सहकारी संस्था लुलाङका सचिव ससिमा पाइजाले सहकारीलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि तालिम सहयोगी हुने बताउनुभयो । उहाँहरुले व्यवसायिक रुपमा सहकारीलाई अगाडि बढाउनका लागि तालिमबाट सिकेको ज्ञानलाई प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

तालिम समापन कार्यक्रम मुनाल कृषि सहकारी संस्था मुनाका अध्यक्ष देवेन्द्र रोकाको अध्यक्षता र संगम म्याग्दीका कर्मचारी खीम कुमारी खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

साउन २८ देखि ३० गतेसम्म सञ्चालित तालिममा हिमाली कृषि सहकारी संस्था गुर्जा, मुनाल कृषि सहकारी संस्था मुना, नमुना उद्यमशिलता वचत तथा ऋण सहकारी संस्था लुलाङ, धौलागिरी महिला वचत तथा ऋण सहकारी संस्था मुदीका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र प्रवन्धक सहित २० जनाको सहभागिता रहेको थियो ।

तालिममा सहकारीका पदाधिकारीहरुको काम कर्तव्य र अधिकार, सहकारीको वार्षिक योजना र कार्यान्वयन, सहकारी ऐन तथा निमावलीका प्रावधानहरु लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहजीकरण गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *