ठेकेदारको चरम लापरवाही, १४ वर्षदेखि धौलागिरी अस्पताल भवन अलपत्र

डम्मर बुढा मगर, बागलुङ
उपप्रादेशिक अस्पतालको रुपमा विकास गर्न लागिएको बागलुङ सदरमुकाम स्थित धौलागिरी अस्पतालको ‘सी’ ब्लक भवन करिब १४ वर्षदेखि अलपत्र बनेको छ ।

नागरिकको स्वास्थ्य सेवालाई थप सहज, प्रभावकारी र चुस्त बनाउनका लागि २०६४ सालमा निर्माण थालिएको भवन अझै पनि निर्माण हुन सकेको छैन । भवन सम्पन्न नहुँदा धौलागिरीवासी सुविधा सम्पन्न अस्पताल भवनबाट गुणस्तरिय सेवा लिने अवसरबाट बञ्चित बनेका छन् । निर्माण कम्पनीलाई ३ वटा भवन निर्माणको जिम्मा दिइएको थियो

तर, यस तर्फ सरोकारवाला निकायको यथेष्ट ध्यान र दबाब पुग्न सकेको छैन । अस्पताल प्रशासन, व्यवस्थापन समिति मात्र होइन, नागरिक समाजबाट पनि खबरदारी गर्न नसक्दा निर्माण कम्पनीले भवन निर्माणमा ढिलाई गर्दै आएको पाइएको छ ।

हाल एक सय वेड रहेको अस्पतालमा गण्डकी प्रदेश सरकारले थप एक सय बढाएर दुई सय वेडको बनाउने घोषणा गरेको छ । धौलागिरी अस्पतालको नयाँ व्यवस्थापन समिति आए पछि उल्लेख्य भौतिक सुधार भएको छ भने प्रशासनिक तथा सेवा प्रवाहमा पनि धेरै परिवर्तन देखिएको सेवाग्राहीले बताएका छन् । अस्पतालल संस्था जस्तो संवेदनशिल क्षेत्रको भवनमा वर्षौदेखि चरम लापरवाही हुँदा पनि सरकार र यसका निकाय पनि मुकदर्शक देखिने गरेका छन् । यो पाटो रहस्यमय भएको नागरिकको गुनासो छ ।

भवन निर्माणका लागि आशिष मिलिनियम र भीम ज्योती निर्माण कम्पनीले भवन निर्माणका लागि ११ करोड ३५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । भवन सम्पन्न गर्नका लागि विभिन्न समयमा म्याद थप गरिँदै आए पनि निर्माण कम्पनीले भवन सम्पन्न गर्न सकेको छैन । निर्माण सम्पन्नका लागि पुनः समय अवधि थप गरी आगामी २३ मंसिर सम्म पु¥याइएको छ ।

सम्बन्धित निकायले समयमै काम नसक्ने ठेकेदार कम्पनीलाई कारवाही गर्नुको साटो उल्टै म्याद भने पटक पटक थपिनु रहस्य र गम्भीर बिषय हो । अस्पतालको स्तर वृद्धि गरि सरकारले एक सय वेडलाई बढाएर दुई सय गराउन भने पनि सी ब्लकको भवन नबन्दा समस्या भएको धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष केबी राना मगर बताउँनुहुन्छ । समयमै भवन नसकिदाँ गुणस्तरिय सेवा प्रवाह गर्न समेत गाह्रो भएको तर यस तर्फ खबरदारी गर्ने निकाय मौन रहेको उहाँको भनाई छ । ‘सरकारको पोलिसी नै यस्तै छ, हाम्रो देशको विकासको तरिका देख्दा मलाई अचम्म लाग्छ,’ अध्यक्ष रानाले भन्नुभयो ‘संघीय सरकारले हाम्रो जग्गामा भवन बनाउने भनेको छ, हामीले कही गर्न सक्दैन ठेकेदारलाई संघीय सरकारसँग सम्झौता भएको रैछ भवन बनाउने भनेर, हामीले चिच्याएर मात्र हुने अवस्था रहेन ।’

अस्पतालमा नयाँ–नयाँ विभाग स्थापनाको लक्ष्य रहेको र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने योजना भए पनि भवन सम्पन हुँदा सबै विभाग एकै ठाउँबाट संचालन गर्नु पर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । हालसम्म भवन निर्माण सम्पन्न भएको भए कोरोना महामारीको बेला पनि सबै खालका बिरामीलाई सेवा दिन सहज हुने र आइसोलेसन कक्ष पनि बढाउन सकिने स्थानीय बताउँछन् ।

निर्माण जिम्मा लिएको कम्पनीका प्रतिनिधि शिव पोखरेलले लामो समयसम्म हाइटेन्सन लाइनले डिस्टर्ब गर्दा भवन निर्माणमा ढिलाइ भएको बताउनुभयो । यसमै पछि गएर नाकाबन्दी, कोरोना लकडाउनका कारणले गर्दा समयमै काम सम्पन्न गर्न नसकेको उहाँको दावी थियो । ‘करिब ३ वर्ष हामीले काम गर्ने स्थानमा हाइटेन्सन लाइनको तार थियो, त्यसले पनि अववरोध पु¥यायो,’ उहाँले भन्नुभयो ‘निरन्तर काम गर्ने वातावरण पनि बनेन, कहिले नाकाबन्दी कहिले लकडाउन भयो ।’

पोखरेलले ‘सी’ ब्लकको भवन निर्माणमा ढिलाई भएको स्वीकार गर्दै सरकारले दिएको अन्तिम म्याद मंसिर सम्ममा भवन सम्पन्न गर्ने बताउनुभयो । ‘नेपाल सरकार मन्त्री परिषदको निर्णयले लामो समयदेखि रोकिएको काम सम्पन्न गर्नका लागि एक पटकका लागि समय दिएको छ,’ उहाँले भन्नुभयो ‘हामीलाई मंसिर २३ गते सम्मलाई समय सीमा दिएको छ, त्यस समयावधी सम्म भवन निर्माण सम्पन्न गर्नेछौँ ।’ हालसम्म भवनको करिब ७५ प्रतिशत काम सकिएको भन्दै काम गर्ने कामदारहरुमा कोरोना संक्रमण पुष्टि भएपछि फेरी आइसोलेसनमा रहेकाले काम प्रभावित भएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *