संघारमा पर्यटन सिजन : तयारीमा सुस्त बागलुङ

सम्पादकीय
केही बर्ष अघि सम्म पर्यटन र पर्यटकको बारेमा आम बुझाईमा एउटा खालको संकुचन थियो । राजधानी लगायत ठुला पर्यटकीय शहर र ब्राण्ड नबनेका गाउँ बाहेकका हकमा अधिक बुझाई पर्यटन भनेको घुम्नु र पर्यटक भनेको गोरा छाला भएका मानिसहरुको आगमन हो भन्ने थियो । तर, पछिल्ला केही बर्ष यता मुलुकमा व्यवस्थाहरुको बदलावसँगै पर्यटनका बिषयमा पनि ठुलो उभार आयो । पर्यटन भनेको घुम्नु, डुल्नु मात्र होइन, व्यापार, मनोरञ्जन, रमाइलो, उर्जा, उत्प्रेरणाका लागि पनि हो भन्ने विकास र बुझाईमा विस्तार भयो । पर्यटक भनेका गोरा छाला भएका मात्र होइनन्, काला छाला भएका, नेपाली पनि आन्तरिक पर्यटक हुन सक्छन् भन्ने पनि बोध भएको छ । र नेपालीहरुमा पनि पछिल्ला एक दुई बर्षको अन्तरालमा घुम्ने सँस्कारमा उल्लेख्य बृद्धि भएको छ । चाहे त्यो साथीहरुसँगै होस् या पारिवारिक । चाहे पदमार्गमा होस् या सवारीमा होस् । पर्यटन सिजनको पर्खाइ र घुम्ने क्रम बढेको छ ।

विश्व पर्यटन संगठनको परिभाषा अनुसार पर्यटकले “आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस (२४) घण्टा भन्दा बढी तर एक क्रमागत वर्ष भन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरू उद्देश्यका लागि यात्रा गरि बस्ने मान्छेलाई जनाउँछ । अहिले विश्व समाजमा पर्यटन एक लोकप्रिय फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ । मुलुकको समृद्धि र विकासका लागि पर्यटन सबै भन्दा धेरै सम्भावना, ठूलो उद्योग, विदेशी मुद्रा र राजस्वको स्रोत पनि हो । हाम्रो गण्डकी प्रदेश पनि पर्यटकीय सम्भावनामा अग्रस्थानमा रहेको प्रदेश हो । यही प्रदेश भित्रको बागलुङ पर्यटन सिजनमा उति धेरै चाख नराख्ने र स्वाद पनि प्राप्त नगर्ने मनोदशाबाट ग्रसित छ । छिमेकी जिल्ला म्याग्दीले मुस्ताङको सामिप्यतामा अधिकतम लाभ लिदाँ हामी भने तुलनात्मक रुपमा मौनता साँधिरहे जस्ता देखिन्छौ । असोज लाग्दाबाटै बागलुङ बजारको पारी राजमार्गमा सयौं सवारीमा पर्यटक मुस्ताङ गइरहेको हेरि मात्र रहन्छौ । कसरी जिल्ला ल्याउने भन्ने ठोस र आकर्षक योजना छैन ।

पर्यटनका लागि आवश्यक पूर्वाधार, पर्यटक रमाउन सक्ने अनेक संरचना, खाना, आवास, आतिथ्यता सबै किसिमको तयारी जरुर छ । गण्डकी प्रदेशले २०१९ लाई आन्तरिक पर्यटन भ्रमण बर्षको रुपमा मनाइरहेको छ । बागलुङ नगरपालिका, ताराखोला गाउँपालिकाले भ्रमण बर्षको रुपमा मनाउने तय गरेका छन् । खासमा पर्यटनका लागि सु–व्यवस्थित योजना र त्यसको प्रभावकारी कार्यन्वयन गर्नमा ध्यान केन्द्रित गर्न आवश्यक छ । तर, यो पाटोमा उति धेरै तयारी र योजना देखिन्न । पर्यटक अलि ठुलो संख्यामा आइहाले पनि कहाँ घुमाउने, के खुवाउने र कहाँ कसरी राख्ने भन्ने पिरलो अझै बिद्यमान छ । यसका लागि सम्वद्ध सरोकारवाला पक्षबीच आपसी, समन्वय, सहकार्य र पर्यटन प्रर्वद्धनको असली सोच, योजना जरुरी हुन्छ । अनि मात्र पर्यटन सिजनमा बागलुङ रोजाई बन्न सक्छ । अन्यथा, अरु जिल्लाका लागि आयआर्जन सहित उत्सवको रुपमा आउने पर्यटन सिजन हाम्रा लागि हाउगुजी मात्र बन्ने बनाउने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *