सम्पादकीय
विश्वभरका हर देश आफ्ना लक्ष्य चुम्न आ आफ्नै गतिमा थिए । विश्वका हर भुगोलका मानिसहरु आफ्नो दैनिक जिविका र अरु सुखद जीवनका खातिर सपना र सन्तुष्टिमा प्राप्तिमा विहानदेखि बेलुका सम्मको दौडधुपमा थिए । अझ यसलाई यसो भनौ, हर मानिसहरु आआफ्नै सपना, गति र लयमा हिँडिहरेका थिए । यही बीचमा कोरोना भाइरस (कोभिड १९) आयो । जसले सारा जीवन, सपना, लक्ष्य, गन्तव्यहरुमा धावा बोल्यो । विश्वभरको जनजीवन र अर्थतन्त्र ठप्प प्रायः अवस्थामा पुग्यो । यद्यपी, कोरोना संकटका कारण लकडाउन लम्बिदा रोगले भन्दा भोकले मर्ने अवस्था सिर्जना भयो । त्यसैले नेपाल सहित धेरै देशमा लकडाउन खुला र खुकुलो बनाइयो । तर, त्यस यता कोरोना संक्रमण दर डरलाग्दो गरी बढ्यो । जसले भयावहको रुप लिने संशय पैदा भएको छ ।
अहिलेको संकट मानव जीवनकै कठिन संकटको अवधि हो । यो भाइरस नयाँ मात्र होइन, अहिले सम्म विश्वभरका बैज्ञानिकले अनवरत औषधि खोप पत्ता लगाउन प्रयासरत रहे पनि आजको दिन सम्म विश्वासिलो उपचार र औषधि बन्न सकेको छैन । यद्यपी केही सम्भावनाका खबर भने पछिल्लो सार्वजनिक भइरहेका छन् । कोरोना भाइरस श्वास प्रश्वासको माध्यमबाट सर्न सक्ने मानिएको संक्रमण रोग हो । यो रोग कोरोना भाइरसको नयाँ प्रजाति हो । यो भन्दा अगाडिको चरणमा आएको यही प्रजातिको भाइरस सार्स कोभ–२ थियोे । पछिल्लो समयमा सन् २०१९ को अन्त्यमा पहिलो पटक चीनमा देखिएपछि यसको नाम कोभिड–१९ राखियो । संक्रमित मानिसको श्वासप्रश्वास प्रणालीबाट बाहिर निस्किने थुक, खकार लगायतका छिटा (ड्रपलेट) बाट यो रोग निरोगी व्यक्तिमा सर्ने चिकित्सकहरुले बताएका छन् । मुख्यगरी नाक, मुख, आँखा लगायतका ज्ञानेन्द्रीयको बाहिरी छिद्रबाट मानव शरीरमा प्रवेश गर्ने यो भाइरसले फोक्सोमा पुगेर संक्रमण फैलाउने गर्छ । यसकारण सामाजिक या भौतिक दुरी, माक्स, सेनिटाइजरको अनिवार्य प्रयोगको बिषय आउने गरेको छ ।
कोरोना भाइरस यति संवेदनशिल रोग हो कि जसलाई हामीले अरु रोग या भाइरस जस्तो ठान्ने गल्ती कदापी गर्नुहुँदैन । भलै नेपालीको रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढी भएको चर्चा व्यापक छ । यसमा सत्यता पनि हुन सक्छ । तर, अहिले त्यही सामथ्र्य भएको भ्रम या बलमा जर्बजस्त स्वास्थ्य सुरक्षाका लागि पालना गर्नुपर्ने बिषयमा बेवास्ता या लापरवाही गर्दा त्यसले ज्यान समेत गइरहेको छ । यो भाइरसले विदेशबाट आएकालाई मात्र होइन, पछिल्ला दिनमा त स्वास्थ्यकर्मीहरु समेत धमाधम संक्रमणको शिकार बनिरहेका छन् । अनि उसैगरी सुरक्षाकर्मी, जनप्रतिनिधि, समुदाय स्तरमा सर्वसाधारण पनि कोरोनाबाट संक्रमित भएका छन् । यसमा सरकारले जे ग¥यो, नागरिक स्तरबाट जे जस्तो सतर्कता अपनाइयो, त्यो प्रयाप्त देखिएन र थिएन पनि । अहिले संक्रमणको बढ्दो दर जुन रुपमा देखिन्छ । यसले अरु खतरा र भयावहको संकेत गरिरहेको छ । यसमा सरकारले यथेष्ट पूर्ववत तयारी, सतर्कता, व्यवस्थापनमा ध्यान दिनुपर्छ । नागरिक पनि गुनासो मात्र होइन, यो संवेदनशिल घडीमा जिम्मेवार बनेर कोरोना जोखिम नियन्त्रणमा सहयोगी भुमिका निर्वाह गर्नुपर्छ ।