बढ्दो हिंसा र मानव सभ्यता

कृषिता अधिकारी (निशा)
मानव जातिलाई सर्वश्रेष्ठ प्राणीको रुपमा मानिन्छ । यसलाई अर्काे शब्दमा भन्नु पर्दा प्राणी मध्येको सर्वश्रेष्ठ मानव जाति हो । किनकी राम्रो नराम्रो सही गलत छुट्याउन सक्ने भएकाले पनि मानव जातिलाई बुद्धि विवेकको खानी मानिन्छ । किनकी मानव सभ्यता जंगली युगदेखि विकसित हुँदै आजको अवस्था सम्म आइपुगेको हो ।

यसैगरी,समाजमा विभिन्न जातजाति तथा भेषभुषा, कला सँस्कृतिको आफ्नै विशेषता र पहिचान छ भने समाजमा सबैको सामाजिक स्तरिकरण पनि फरक छ । सबै समुदाय आ– आफ्नै स्थानमा रहेर समाजमा छुट्टै पहिचान बनाइरहेका हुन्छन् । समाजमा रहेर हरेक व्यक्तिले सहकार्य र उपलब्धिको अपेक्षा गरिरहेको हुन्छ । हाम्रो समाजमा कुनै पनि समस्या भयो भने एक व्यक्तिको समस्या मात्र नभइ गाउँ समाजको पनि समस्याको रुपमा लिइन्छ । र समाधानका लागि गाउँ समाज नै जुट्ने नेपाली समाजको परम्परा र उन्नत सँस्कार छ । बास्तवमा भन्ने हो भने यो सामाजिक मूल्य मान्यता र सँस्कारको निरन्तरता भोलीका दिनमा पनि अपरिहार्य छ ।

तर, तीनै मुल्य मान्यता विपरित कार्य गर्दा हामी र हाम्रो समाज नै दुषित हुन्छ । जसरी अहिलेको परिस्थितिलाई हेर्ने हो भने हाम्रो देश साँच्चिकै त्यही अवस्थामा छ । किनकी बुद्ध जन्मेको देश नेपाल जहाँ शान्तिको प्रतिक मानिन्छ । तर, आजको दिनमा पनि देशमा व्यवस्थासँगै व्यक्तिहरु बदलिए पनि अन्याय, अत्याचार, अशान्ति बिद्यमान नै देखिन्छ ।

यसले साँच्चै नै हाम्रो समाज कता जाँदैछ भन्ने संशय स्वभाविक उठ्छ । यहाँ न्याय हरायो अन्याय र शोषण यत्रतत्र छताछुल्ल भइरहेको छ । देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो तर गरिब शोषित पीडित जनतालाई अझै पनि महशुस भएको छैन । कारण अझै पनि नेपाली जनताहरु शोषणको शिकार भएका छन् । उनीहरुका आवाजहरु दबिएका छन्, संविधानका धाराहरुमा प्रष्ट लेखिन्छ स्वतन्त्रताको हक, समानताको हक, तर खोइ स्वतन्त्रता ? खोइ समानता ? यहाँ अन्यायका विरुद्ध आवाज उठाउँदा लाठी चार्ज बर्साइन्छ । पावर र पोष्टको आडमा अपराधीलाई संरक्षण गरिन्छ । यहाँ जसले जे गरे पनि हुन्छ । यथार्थमा भन्नु पर्दा गायक कलाकार पशुपति शर्माको गीत जस्तै बनेको छ समाज र देश । यहाँ जसले जसरी लुटे पनि, भष्ट्राचार गरे पनि यहाँ केही हुनेवाला छैन । किनकी ठुलालाई चैन, सानालाई एैन भने जस्तै भएको छ । देशमा ठुला–ठुला घटनाहरु गुपचुप हुने गर्दछन् । कयौं घटनाहरु दबिएका छन् त कैयौं जघन्य अपराधका घटनाहरुमा अहिलेसम्म न्याय पाएका छैनन् ।

बास्तवमा भन्ने हो भने मानवता हराइसक्यो । आज मान्छेले मान्छे मार्न समेत पछि परेका छैनन् । देशका हरेक कुना कुनामा आम जनताहरु कुनै न कुनै रुपले हिंसा सहन बाध्य छन् । कतै घरेलुु हिंसा त कतै यौनजन्य हिंसा या भनौ बालबालिका नै हिंसाको शिकार भएका छन् । यहाँ कयौं चेलीहरु बलात्कृत भएका छन् । कयौ आमाहरु घर परिवार तथा समाजबाट बहिष्कृत भएका छन् । यहाँ मानिसले मानिसलाई गर्नुपर्ने व्यवहार नै अमानविय भएको छ ।

कारण अशिक्षा चेतनाको अभाव जस्ता हरेक पक्षले मानव जातिलाई प्रभाव पारेको छ । यसैगरी पछिल्लो समयमा हत्या हिंसा निकै बढेको छ । यस्तो किसिमको प्रवृत्तिलाई सरकारले रोक्न सकेको छैन ।

पछिल्लो समयमा कोभिड–१९ को महामारीले जनजीवन नै अस्तव्यस्त भइरहेको बेलामा देशमा जघन्य अपराधहरु बढिरहेका छन् । एकातिर कोरोना महामारी अर्को तर्फ भोकमरीको कठिन अवस्था सँगै जघन्य अपराध पनि अहिलेको समयमा हुने भनेको एक किसिमले गलत प्रवृत्तिलाई हौसाइएको हो । कारण अहिलेको विषम परिस्थितिमा पनि शान्त बातावरण हुनुपर्नेमा सबै नागरिक एकजुट भई कोरोनाको महामारी सँग जुध्नुपर्ने, सचेतना जगाउने बेलामा आज हाम्रो समाज नकरात्मक पाटो तर्फ मोडिएको छ । मानिस हिंस्रक बन्दै गएको कैयन घटनाले पुष्टि गरेको छ । अब त बाघ भालुको भन्दा पनि मान्छे सँग डराउनु पर्ने स्थिति आइसक्यो भनेर टिका टिप्पणी हुन थालेको छ । थाहा छैन, कति बेला कहाँ के हुन्छ ? यहाँ सामान्य रिस र प्रतिशोधका कारण मान्छेको ज्यान लिने सम्मको घटना समेत भइरहेको छ ।

लकडाउनकै समयमा धेरै घटना भएको तथ्यांक समेत सार्वजनिक छ । कहिले जातियताका नाममा, कहिले पैसाको प्रलोभनमा, कहिले प्रेममा, कहिले अरु सामान्य बिषयमा पनि मानिसको विभत्स हत्या सम्म गर्ने कार्य अहिले नियति जस्तो बनिरहेको छ । अपराध नियन्त्रणका लागि देशमा ऐन कानुन नियम पनि छ । तर कडाइका साथ कार्यान्वयन नहुने बिडम्बना छ । अन्यायमा परेका शोषित पीडितका लागि न्याय अझै धेरै दुरको बिषय बन्ने गरेको छ । शोषित पीडितको आवाज दबिएर बस्छ किन त ? किनकी यहाँ पावर पैसाले नै न्याय किनबेच भएको चर्चा र आरोप समेत व्यापक सुनिन्छ । मानिसहरु आध्यामिक भन्दा पनि सांसारिक स्वार्थको जालोमा फसिरहेका छन् । उनीरुले के सही के गलत छुट्याउने भन्दा पनि अरु हिसाक किताब हुन्छ । यस्तै हाम्रो समाजमा सँस्कारका कुरा पनि हराउँदै गएको छ । बाहिरी प्रवृत्ति अगाल्दै छाडापन पनि प्रशस्तै देख्न सकिन्छ ।

जसले गर्दा यी र यस्ता घटनाहरुले निरन्तरता पाइरहेका छन् । तसर्थ, जब सम्म सरकारले हाम्रो देशमा फाँसीको सजाय ल्याउदैन । तब सम्म यस्ता घटनाहरु बढ्दै जानेछन् । त्यसैले पनि अब सरकार गम्भीर हुनुपर्छ । र आम जनताहरु पनि सचेत र संगठित हुनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *