स्याङ्जामा कैदीलाई काेराेना संक्रमण

आदर्श अनलाइन,स्याङ्जा

जिल्ला कारागर स्याङ्जाका १ कैदीमा कोरोना पुष्टि भएको छ । जबरजस्ती करणी मुद्धामा ४ वर्षदेखि कारागारमा रहेका ६० वर्षे कैदीमा कोरोना पोजेटिभ देखिएको हो ।

कारागारका ५० कैदीमा १ हप्ताबाट ज्वरो तथा रुघाखोकी आइरहेको थियो । औषधी खाएपछि अरु कैदी निको भएका थिए । तर उनमा उक्त लक्षण देखिएपछि आइतबार स्वाब संकलन गरिएकोमा सोमबार साँझ कोरोना पुष्टि भएको हो ।

प्रहरीमा कोरोना देखिएपछि कारागारमा आवतजावत र भेटघाट बन्द गरिएको जेलर चुडामणी भण्डारीले जानकारी दिए । कोरोना भाइरस कसरी कारागारमा रहेका कैदीमा पुग्यो भन्नेमा आफूलाई अनौठो लागेको उनले सुनाए ।

कैदीबाट लिइएको स्वाब परीक्षणमा कोरोना भेटिएपछि निषेधाज्ञाका बीच थप त्रास फैलिएको छ । प्रहरी प्रमुख सहित ४१ सुरक्षाकर्मीमा कोरोना देखिएपछि यहाँ साउन १३ गतेबाट निषेधाज्ञा जारी छ ।

कारागारमा ३९ मुद्धाका १५० बन्दी बस्ने गरेका छन् भने प्रहरीमा कोरोना भेटिएपछि सुरक्षाकाे जिम्मा नेपाली सेनालाई दिइएको छ । कैदीमा कारोना देखिएपछि नेपाली सेना र नेपाली सेनाको गुल्ममा पनि संक्रमण पुगेको आशंका गरिएको छ ।

स्याङ्जामा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेका छ । तीमध्ये २७२ जना निको भएर घर फिर्ता भएका छन् भने २ संक्रमितको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *